• ९ पुस २०८१, मङ्गलबार

खाना पकाउने ग्यासको मूल्य घट्यो

blog

बाटो सहज भएपछि हुम्लामा पुगेको ग्यास सिलिण्डर । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन १७ गते । खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ग्यास सहज र नियमित रूपमा आउन थालेपछि यहाँ मूल्य घटेको हो । 

टी. सप्लायर्सका सञ्चालक तीर्थ बुढाले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटेका बताउनुभयो । उहाँले यसअघि एउटा ग्यास सिलिण्डर भरेको पाँच हजार आठ सय मूल्य पर्ने गरेकोमा अहिले त्यो मूल्य घटेर तीन हजार आठ सय पुगेको छ । यसरी ग्यासको मूल्य घट्नुमा प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ढुवानी भएर आउने ग्यास सहज रूपमा आउन थालेपछि कारण हो । 

अहिले ग्यास घटेको मूल्य ६५ दशमलव ५१ प्रतिशत रहेको व्यापारीले बताएका छन् । सो मूल्यमा उक्त सप्लायर्सले सिलिण्डर दिन थालेपछि अन्य बिक्रेताहरू पनि मूल्य घटाउन बाध्य भएका छन् । पहिले ढुवानी गर्न कठिन हुने भएकाले महँगो पर्ने गरेको थियो । ग्यासको मूल्य घटेसँगै दैनिक ग्यास प्रयोग गर्नेको सङ्ख्या पनि वृद्धि हुने देखिएको स्थानीयको भनाइ छ । 

सप्लायर्सबाट दैनिक सातदेखि आठ जना नयाँ र पन्ध्रभन्दा बढी पहिल्यैबाट ग्यास प्रयोग गर्दै आएको सञ्चालकले बताएका छन् । सिमकोट बजारका एक गृहिणी सिर्जना शाहीले एक साता यता खाना पकाउने एलपी ग्यासको मूल्य घटेकोमा खुसी लागेको बताउनुभयो ।

आफूले आठ हजारमा ग्यास सिण्डिर खरिद गरेको स्मरण गर्दै अहिले आधारभन्दा बढी मूल्य घट्दा उपभोक्तालाई सहज भएको उहाँको भनाइ छ । दाउराभन्दा ग्यास सस्तो पर्ने भएकाले उपभोक्ताहरू बढी ग्यास सिलिण्डर प्रयोग गर्नमा लागेको स्थानीयले बताएका छन् । 

ग्यासको मूल्य घटेपछि एकजना उपभोक्ताले दुई तीन वटासम्म सिलिण्डर राख्न थालेको शाहीले बताउनुभयो । यसअघि हुम्लामा खच्चड मार्फत ग्यास ढुवानी गरिदैआएको थियो । खच्चडबाट ढुवानी गरिएको सिलिण्डरसहितको ग्यासको मूल्य चौध हजारसम्म पर्ने गरेको थियो ।