सामाजिक समावेशीकरण भनेको व्यक्ति र समूहलाई समाजका हरेक क्रियाकलापमा भाग लिने अवस्था सुधार गर्ने प्रक्रिया हो । यसले व्यक्ति र समूहलाई सामाजिक क्रियाकलापमा सहभागी हुनका लागि उनीहरूको पहिचानको आधारमा क्षमता, अवसर र मर्यादा सुधार गर्न सहयोग गर्छ ।
सामाजिक समावेशीकरणले गरिबी तथा सामाजिक बहिष्करणको जोखिममा रहेकाहरूलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा पूर्ण रूपमा सहभागी हुन र समाजमा सामान्य जीवनस्तर जीउनका लागि आवश्यक अवसर र स्रोतहरू प्राप्त गर्न पनि सहयोग गर्छ । यसले उनीहरूको जीवन र मौलिक अधिकारको पहुँचलाई प्रभाव पार्ने निर्णयमा सहभागी हुने वातावरण तयार गर्नसमेत सुनिश्चित गर्छ ।
अहिले हरेक उमेर समूह, वर्ग, समुदाय, लिङ्ग, जात, भाषा र सम्प्रदाय आदिका समूहहरूले आ–आफ्नो समूहको सामाजिक समावेशीकरणको मुद्दा उठाइरहेका छन् । यस अवधारणाले उमेर, वर्ग, समुदाय, लिङ्ग, जात, भाषा र सम्प्रदाय व्यक्तिबीच समान अवसर प्राप्त गर्न सहयोग गर्छ । यही क्रममा ज्येष्ठ नागरिक अभियन्ता तथा यस विषयमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्टिय सङ्घ संस्थाले पनि ज्येष्ठ नागरिकको सामाजिक समावेशीकरणको मुद्दालाई प्रमुख रूपमा उठाइरहेका छन् ।
के हो त ज्येष्ठ नागरिकको सामाजिक समावेशीकरण भनेको ?
ज्येष्ठ नागरिक ऐन २०६३ (संशोधन २०७९०) अनुसार ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरिएको छ । ज्येष्ठ नागरिकको सामाजिक समावेशीकरण भनेको सम्पूर्ण ज्येष्ठ नागरिकलाई समाजमा अन्य मानिससरह सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्नु हो । यसमा ज्येष्ठ नागरिकका लागि रोजगारी, बसोबास, स्वास्थ्य उपचार, हेरचाह, शिक्षा र तालिम निश्चित अधिकारको सामाजिक प्रावधान रहेको हुन्छ । अर्थात् समाजका अन्य व्यक्तिसरहकोे अधिकार सुनिश्चित हुनु र सबै सामाजिक क्रियाकलापमा समावेश गर्नु साथै समावेश हुने मौका दिनु नै ज्येष्ठ नागरिकको सामाजिक समावेशीकरण हो ।
ज्येष्ठ नागरिकको सामाजिक समावेशीकरण गर्नु किन आवश्यक छ ?
सामाजिक समावेशीकरणले ज्येष्ठ नागरिकमा सामाजिक भावनाको विकास गर्छ । यसले उनीहरूलाई सक्रिय रहन अभिप्रेरित गर्छ । उनीहरूको आवश्यकता, प्राथमिकता र क्षमताहरूको आधारमा समाजको विकासमा योगदान गर्न सहयोग पु-याउँछ । सामाजिक सम्बन्ध विस्तार गर्न र सामाजिक दायित्वको वृद्धि गर्न पनि सहयोग गर्छ । ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवको उपयोग गरी समाजको विकासमा तीव्रता ल्याउन सकिन्छ । उनीहरूको अधिकारको सुनिश्चितता गर्न सकेमा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुव्र्यवहार र विभेद न्यूनीकरण गर्न सकिन्छ । उनीहरूको विज्ञता र क्षमताका आधारमा उचित रोजगारीको सिर्जना गर्न सकेमा श्रम बजारमा कमी हुँदै गएको जनशक्ति परिपूर्ति गर्न सकिन्छ ।
घट्दो जन्मदर र बढ्दो औषत आयुको कारणले विश्वभरिको जनसङ्ख्यामा अभूतपूर्व परिवर्तन भइरहेको छ । घट्दो जन्मदर र बढ्दो औषत आयुले गर्दा संसारभरि नै वृद्ध व्यक्तिको जनसङ्ख्या बढ्दै गइरहेको छ । विश्व जनसङ्ख्याको १३ प्रतिशत हिस्सा वृद्ध व्यक्तिको जनसङ्ख्याले ओगटेको छ । यो सङ्ख्या सन् २०५० सम्ममा २२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसैगरी, नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको नौ प्रतिशत सङ्ख्या वृद्ध व्यक्तिको (ज्येष्ठ नागरिक) रहेको छ । यो सङ्ख्या सन् २०५० सम्ममा २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो २१ औँ शताब्दीलाई बुढ्यौलीको शताब्दी पनि भनिन्छ । किनभने अहिले ६० वर्षभन्दा माथिको जनसङ्ख्या, पाँच वर्षभन्दा मुनिका बच्चाको सङ्ख्याभन्दा बढी भएको अनुमान छ । यस्तो जनसङ्ख्या संरचना मानव इतिहासमा नै पहिलो पटक देखापरेको छ ।
यो अभूतपूर्व जनसाङ्ख्यिक सङ्क्रमणको प्रभावमा आश्र्रित जनसङ्ख्यामा वृद्धि, आर्थिक रूपले सक्रिय जनसङ्ख्यामा कमी र समाजमा ज्ञान र अनुभवको ठूलो हिस्साको उपलब्धि हुनु पनि हो । यस्तो परिवर्तनले हामीमाझ दुई कुरा नयाँ अवसरहरू र नयाँ चुनौतीको सिर्जना गरेको छ । यी दुवै नयाँ अवसर र नयाँ चुनौतीको उपयोग गर्नका लागि नयाँ नीति र कार्यक्रमको निर्माण गर्नु आवश्यक छ । यी परिवर्तनमध्ये धेरैले विकासोन्मुख देशलाई धेरै असर गर्ने छन् । किनभने ती देशमा यस्तो परिवर्तनको बारेमा जानकारी र चेतनाको धेरै नै कमी छ । सुरुसुरुमा, जब वृद्धहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको पाँच प्रतिशत हुने गथ्र्यो, वृद्धहरूलाई राज्य र समाजले सामान्यतयः दान, सहयोग लिने समूहको रूपमा हेर्दथे । अहिलेको समयका लागि यो एकदम स्वीकार गर्न नसकिने कुरा हो । जसको रोकथामका लागि र वृद्ध व्यक्तिको नयाँ अधिकार स्थापित गर्न संयुक्त राष्ट्रसङ्घले सम्मेलनको आह्वान गरेको छ ।
ज्येष्ठ नागरिकको सरक्षा प्रणाली सशक्त पार्न र मानव अधिकारको बारेमा सबैलाई जानकारी दिन संयुक्त राष्ट्रसङ्घको मुख्य कार्यालय न्युयोर्कमा यही चैत २०–२३ सम्म बृहत सम्मेलन हुँदैछ । ओपन इन्डेड वोर्किङ ग्रुप अन एजिङ नाम दिएको उक्त सम्मेलनको मुख्य उद्देश्य भनेको बुढेसकालमा हुने भेदभावको अन्त्य र ज्येष्ठ नागरिकको उमेरगत अधिकारको संरक्षणका लागि सबै सरोकारवालाई जानकारी प्रदान गर्नु हो । सन् २०१२ देखि हरेक वर्ष सञ्चालन हुँदै आएको सम्मेलनको लक्ष्य भनेको ज्येष्ठ नागरिक महासन्धिको माग गर्नु हो । प्रत्येक वर्ष ज्येष्ठ नागरिकसँग सम्बन्धित दुईवटा मुख्य विषयमा छलफल हुने यस सम्मेलनमा यो वर्षका दुई विषयमा ज्येष्ठ नागरिकको सामाजिक समावेशीकरण र स्वास्थ्य सेवामा ज्येष्ठ नागरिकको अधिकार र पहुँच रहेका छन् । सम्मेलनमा भाग लिनका लागि आयोजकले नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोयलाई विशेष चासोका साथ बोलाउने गर्छ ।
यस सम्मेलनले पहिलो पटक संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका लागि विशेष रूपमा ज्येष्ठ नागरिकको अधिकारको संरक्षण कसरी गर्ने भनेर जाँच गर्नका लागि प्रक्रिया निर्माणका लागि प्रतिनिधित्व गरेको छ । साथै यसले ज्येष्ठ नागरिकको मानव अधिकारका लागि अन्तर्राष्ट्रिय संयन्त्र विकास गर्न, सम्भावित क्षेत्र पहिचान गर्न र नयाँ मानवअधिकार उपकरणको सम्भावनालाई विचार गरी तिनीहरूलाई कसरी सम्बोधन गर्ने भन्नेबारे विस्तृत तयार पारेको छ ।
तीव्र जनसङ्ख्याको वृद्धिसँगै विश्वव्यापी रूपमा ज्येष्ठ नागरिकमाथि भेदभाव, हिंसा र दुव्र्यवहार बढ्दो क्रममा छ । यसका बाबजुद पनि सरकार, मानव अधिकारमा काम गर्ने निकाय र गैरसरकारी संस्थाले पर्याप्त मात्रामा ज्येष्ठ नागरिकको अधिकारमा ध्यान दिन नसकेको अवस्था छ । नेपालबाट यस सम्मेलनमा किन सहभागिता जनाउनेभन्दा नेपालले ज्येष्ठ नागरिक महासन्धिका लागि प्रतिबद्धता जनाइसकेको छ र यो सम्मेलन त्यही महासन्धिका लागि हो । नेपाल सरकारको तर्फबाट यसभन्दा पहिला सन् २०१३ देखि सन् २०१७ सम्म प्रत्येक वर्ष यस सम्मेलनमा सहभागिता जनाइएको थियो र महासन्धिका लागि समर्थन प्रस्तुत गरिएको थियो । त्यसभन्दा पछाडिको सम्मेलनमा नेपाल सरकारको तर्फबाट सहभागिता शून्य छ । यसरी प्रतिबद्धता जनाइसकेको सम्मेलनमा विभिन्न आन्तरिक कारण देखाएर सहभागिता नजनाउँदा नेपाल सरकार ज्येष्ठ नागरिकको मुद्दाप्रति त्यति लचिलो नभएको भान अन्तर्राष्ट्रिय समुदायमा पर्न सक्छ । साथै नेपालमा ज्येष्ठ नागरिकको हक हित र अधिकारका लागि सुरु गरिएका राम्रा प्रयास तथा कार्यक्रमको बारेमा अन्तर्राष्ट्रिय समुदायमा जानकारी दिन सकिँदैन । अन्य देशका सकारात्मक प्रयास र कार्यक्रमका बारेमा पनि हामी अनविज्ञ रहन्छौँ । यो सम्मेलन ज्येष्ठ नागरिको क्षेत्रमा एउटा यस्तो कुम्भ मेला हो, जसको उठाउने मुद्दा अन्य कुनै सम्मेलनले उठाउन र कार्यान्वयन गर्न सक्दैन ।
लेखक एजिङ नेपाल संस्थामा कार्यरत हुनुहुन्छ ।