इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर ९ गते । पाल्पाका उद्योगी तथा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा मर्कामा परेको गुनासो गरेका छन् । स्थानीय तह, घरेलुसँगै कर कार्यालयमा छुट्टा छुट्टै कर तिर्नुपर्दा मर्कामा परेको बताएका हुन् ।
दसौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा आइतबार रामपुरमा भएको उद्यमी अन्तरक्रिया कार्यक्रमका सहभागीले व्यवसायको नाम परिवर्तन गर्दा दर्ता शुल्क भन्दा बढी राजस्व भुक्तानी गर्नु पर्ने बाध्यता रहेको बताएका थिए । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र करमा छुट्टा छुट्टै राजस्व तिर्नु पर्ने व्यवस्थाले उद्योगी तथा व्यवसायीहरू दोहोरो करको मारमा परेको बताउनुभयो ।
व्यवसायी विनोद श्रेष्ठले व्यवसाय सञ्चालन गर्दै गर्दा नाम तथा उद्देश्य सच्याउनुपर्ने अवस्थामा नाम परिवर्तन गर्दा दर्ता भन्दा बढी शुल्क बुझाउनुपर्ने अवस्था रहेको भन्दै नीति परिवर्तनको आवश्यक रहेको बताउनुभयो ।
उद्योगी सागर प्रसाद देवकोटाले कोभिड र आर्थिक मन्दीका कारण उद्योगीहरूमा परेको समस्याको विषयमा विश्लेषण गर्नु आवश्यक रहेको बताउनुभयो । उद्योगी रामचन्द्र ढुङ्गानाले विना दर्ता सञ्चालन भएका उद्योगका कारण उद्योग व्यवसाय धराशायी बन्दै गएकाले राज्यले अनुगमनको पक्षलाई सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो ।
सहभागीले राखेको जिज्ञासा मेटाउँदै लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि प्रदेशले औद्योगिक व्यवसाय प्रवर्द्धन ऐन ल्याएको बताउनुभयो । उद्योगी, व्यवसायी तथा सरोकारवालासँग गहन छलफल पश्चात् ऐन ल्याएको जानकारी दिँदै ऐनले नव प्रवर्द्धनको लागि जोड दिएको, नवीकरण तथा खारेजीको लागि विशेष व्यवस्था गरिएको र स्थानीय तहलाई अधिकार धेरै प्रदान गरेको बताउनुभयो । ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको बताउँदै नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले राज्यको कर नीति र अनुगमनको नीति परिवर्तन गर्नु पर्ने बताउनुभयो । उहाँले उद्योगी तथा व्यवसायीको हकहितको लागि सङ्घ निरन्तर रूपमा लाग्दै आएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेलले यस वर्ष बजेट कटौती हुँदा उद्योग विकासका कार्यक्रम सञ्चालन गर्न समस्या भएको बताउनुभयो । पछिल्लो समय जिल्लामा उद्योग दर्ता भन्दा धेरै खारेज गर्नेको सङ्ख्या बढेको बताउनुभयो ।
पाल्पामा हाल ३ हजार ७५६ उद्योग र ४ हजार २८५ वाणिज्य फर्म सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । पौडेलले घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने सेवा र उद्योग दर्ताको प्रक्रियाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा भएको थियो । नेपाल सरकारको २०७१ चैत्र २० गतेको निर्णय अनुसार नेपालमा २०७२ साल मङ्सिर ९ गते देखि हरेक वर्ष मङ्सिर ९ लाई राष्ट्रिय उद्योग दिवसको रूपमा मनाइँदै आएको छ । यस वर्ष 'उद्यमशीलको संस्कृति,राष्ट्रको समृद्धि' भन्ने नाराका साथ दिवस मनाइएको हो ।