• १३ असोज २०८१, आइतबार

एकैदिन चार सयले आँखा जाँच गराए

blog

सिँवामा सञ्चालित आँखा शिविरमा सेवा लिने सेवाग्राहीको भीड। तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १६ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवामा सञ्चालित आँखा शिविरमा एकैदिन चार सय जनाले आँखा जाँच गराएका छन्। मङ्गलबार सञ्चालित निःशुल्क आँखा शिविरमा उक्त सङ्ख्यामा आँखाका बिरामीले आँखा जाँच गराएका हुन्। 

भौगोलिक बनावटका हिसाबले जिल्लाकै दुर्गम तथा विकट स्थानीय तहको रुपमा रहेको फक्ताङ्लुङ गाउँपालिकामा एकसाता अघि अर्थात् गत साताको सोमबारदेखि निःशुल्क आँखा शिविर सुरु भएको हो। फक्ताङ्लुङ गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको निःशुल्क आँखा शिविरअन्तर्गत सिँवामा सञ्चालित शिविरमा आँखा जाँच गराएका ४०० मध्ये ३३ जनामा मोतियाबिन्दु पहिचान भएको छ। 

फक्ताङ्लुङ गाउँ कार्यपालिकाका सदस्य मिङ्माडण्डु शेर्पाका अनुसार बालबालिकादेखि ज्येष्ठ उमेरका नागरिकमा मोतियाबिन्दु फेला परेको छ। शिविरमार्फत् मोतियाबिन्दु पहिचान भएका बाहेक बाँकी बिरामीलाई सामान्य अवस्थामा उपचार सेवा तथा औषधि सुविधा प्रदान गरिएको शेर्पाले जानकारी दिनुभयो। 

हालसम्म लेलेपको घुन्सा, ओलाङ्चुङगोला, छिरुवा, हान्द्रुङटार लगायतमा आँखा शिविर सम्पन्न भइसकेका छन्। उक्त शिविर साथै मङ्गलबार सिँवामा सम्पन्न शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको संलग्नतामा शल्यक्रिया सेवा प्रवाह गरिनेछ। 

वरिष्ठ डा. रुइतलगायत विशेषज्ञ चिकित्सकको संलग्नतामा यसै साताको शुक्रबार र शनिबार फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकमा आँखा शिविर सञ्चालन हुने जनाइएको छ।