• ९ पुस २०८१, मङ्गलबार

जीवनरक्षाका लागि गर्भवती बालिका सामाजिक सञ्जालमा

blog

जीवन रक्षाको माग गर्दै गर्भवती बालिका । तस्बिरः नेत्र शाही

नेत्र शाही

जुम्ला, फागुन १६ गते । १६ वर्षीया गर्भवती बालिकाले आफूलाई बचाउन भन्दै फेसबुकमा भिडियो पोष्ट गरिन् । सात महिनाको गर्भ बोकेकी उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र आफन्त कोही नभएको भन्दै बचाउन आग्रह गरेकी छिन् । 

जुम्लामै विवाह गरेकी कनकासुन्दरीकी १६ वर्षीया बालिकाले आफ्नो पेटमा ७ महिनाको बच्चा भएको र स्वास्थ्य चेकजाँच, खानपिन तथा लत्ताकपडा नभएको भनिएको भिडियो फेसबुकबाट बाहिरिएपछि उनको सहयोगका लागि स्थानीयहरू लागिपरेका छन् । 

बालिकाले जीवन रक्षाको माग गरिन् । सामाजिक सञ्जालमा त्यो भिडियो बाहिरिएपछि नेपाल पत्रकार महासङ्घ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले सम्पर्क गरेर उनलाई भेटेर आधारभूत सहयोगको पहल गर्नुभएको छ । ती बालिकालाई उपाध्यक्ष शाहीले आफू बस्ने घरमा ल्याएर आफ्नो कोठामा आश्रय दिनुभएको छ । 

महासङ्घका उपाध्यक्ष शाहीले ती बालिकाको बारेमा स्थानीय प्रशासन र सरोकारवाला निकायमा जानकारी गरेको बताउनुभयो । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सात महिनाको गर्भ पहिलोपटक चेकजाँच भएको छ । डाक्टरले आमा र बच्चाको स्वास्थ्य जोखिमपूर्ण रहेको बताएका छन् । 

उनी जुम्ला सदरमुकामको बसपार्कमा कोठाभाडामा बस्ने गरेकी बताएकी छिन् । एक वर्ष अगाडि सुर्खेत कुर्मीका सागर झेरी मगरसँग विवाह भए पनि उनका पति भने भारत गएर उतै सम्पर्कविहीन भएका छन् । 

विवाहपछि श्रीमान् नहुँदा घरमा सासू, ससुराले राम्रो गरेनन् त्यसपछि आफू आश्रय लिन जुम्ला आएको बताउँछिन् । 

बुबाले आत्महत्या गरेपछि बिचल्ली परिवार 

ती बालिकाको परिवारको अवस्था झन् दर्दनाक छ, बुवाले आत्महत्या गरेको र आमा निराशा पनि ऋण तिर्न नसकेर सिंजा कनकासुन्दरी गाउँपालिका ३ लुड्कु गाउँ छोडेर चार छोराछोरीसहित सदरमुकाम कोठा भाडामा बस्दै आएका छन् । 

तीन भाइ बहिनीलाई खाना, कपडा अपुग हुने उनी झन् गर्भवती भएपछि उनले आफू बाँच्न हारगुहार गर्दै फेसबुकमा भिडियो पोष्ट गरेको बताउँछिन् । 

बालिकाको सुरक्षित आवासको तयारी 

१६ वर्षीया बालिकाले आफू गर्भवती भएको र खान र बस्न समस्या भएको छ भन्ने भिडियो सामाजिक सञ्जालमा आएपछि स्थानीय प्रशासन र आवाज नामक संस्थाले सहयोग गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले उनलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको आवाज नामक संस्थाको सुरक्षित घरमा पठाइने तयारी भएको बताउनुभयो ।