• १३ साउन २०८१, आइतबार

‘दी कन्फेसन’ नयाँ दिल्लीमा मञ्चन

blog

नयाँ दिल्ली, फागुन १६ गते । जगदीश घिमिरेको उपन्यास ‘साविती’बाट प्रभावित नाटक ‘दी कन्फेसन’ नयाँ दिल्लीमा मञ्चन भएको छ । नाटक आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो । नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटक विमल सुवेदीले निर्देशन गर्नुभएको हो । 

अनुराधा मजुमदार मुख्य भूमिकामा रहेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ । नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ । धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको बताउँदै भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै निर्देशक विमल सुवेदीले प्राप्त प्रतिक्रियासँगै नाटकको माध्यमबाट दुई देशलाई जोड्ने काम पनि भएकाले आफ्ना लागि यो विशेष भएको बताउनुभयो । नाटकभित्र अनुराधा मजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथ दिनुभएको छ भने जेनी सुनुवारले सहायक निर्देशन गर्नुभएको छ । चक्र पुलामी प्राविधिक रूपमा हुनुहुन्छ । नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिनुभएको छ ।