• १३ साउन २०८१, आइतबार

संरक्षणपछि पर्यटकीय गन्तव्य बन्यो जङ्गल

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन १५ गते । प्रदेश १ मा पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतर्फ अत्यन्तै कम जङ्गल रहेको छ। मोरङको आमबारी–रङ्गेली–विराटनगर सडकभन्दा दक्षिणमा पनि सरकारी वन छ भन्दा धेरैलाई पत्यार लाग्दैन तर दक्षिणपूर्वी मोरङको रतुवामाई–१, बरडङ्गास्थित भल्खुवा जङ्गललाई नगरपालिकाले पर्यटन क्षेत्रका रूपमा विकास गर्न लागेको छ। 

साढे छ बिघामा फैलिएको त्यही सालघारी यतिबेला रतुवामाई नगरको प्रमुख पर्यटनको केन्द्र बनेको छ। हिउँदमा वनभोज खान जाने मात्र होइन, नयाँ वर्ष, ‘भ्यालेन्टाइन डे’लगायतका विशेष दिनमा युवाको प्रमुख घुमफिर गर्ने स्थान नै भल्खुवा जङ्गल बनेको छ। 

उर्लाबारीबाट दक्षिण इटहरा हुँदै आमबारी पुगेर त्यहाँबाट दक्षिण गएपछि कल्याणपुर बजार आउँछ। कल्याणपुरबाट दक्षिणको मण्डल चोकबाट पश्चिम–दक्षिण लागेपछि खेतैखेतको बीचमा विशाल सालघारी आउँछ। त्यही सालको जङ्गललाई स्थानीय भाषामा भल्खुवा  जङ्गल भनिन्छ।

त्यो जङ्गल पहिला तराइवासीको मुख्य चरन क्षेत्र थियो। गाईबस्तु चराउन जाने गोठालाहरू बस्तु छोडेर जङ्गलमै रमाइलो गर्थे। रमाइलो गर्ने क्रममा त्यहाँका एक जना स्थानीयलाई भालुले मा-यो। 

भालुले मान्छेलाई खाएपछि स्थानीयले आफ्नो भाषामा जङ्गलको नाम भल्खुवा राखिदिए। स्थानीयका अनुसार भल्खुवाको जङ्गल दुई सय वर्षभन्दा पुरानो मानिन्छ। जङ्गलमा सालबाहेक अन्य कुनै प्रजातिका वनस्पति छैनन्। जङ्गलको वरिपरि निजी जग्गा छ, जहाँ बाह्रै महिना खेती हुन्छ। 

खेतको बीचमा जङ्गल कसरी संरक्षण भइरह्यो भन्ने विषयमा स्थानीय पनि अचम्म पर्छन्। सोही वडाका पूर्ववडाध्यक्ष 

हरिप्रसाद गिरीले भन्नुभयो, “२०३६ सालमा जनमत सङ्ग्रहका बेला तस्करहरूले रुख काटेर लगे। त्यसपछि रुख काटेको स्थानबाट मुना पलाएर २०४०/४२ सालमा जङ्गल बनेको हो।” उहाँले कुनै पनि रुख वृक्षरोपण वा बिरुवा रोपेर ठूलो नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येक रुखको फेदमा काटेर मुना पलाएको देखिन्छ।”

भल्खुवाको जङ्गल संरक्षण गर्न नगरपालिकाले पनि घेराबार गरिसकेको छ। नगरमा रहेको एक मात्र सरकारी वन भएकाले त्यहाँ वृक्षरोपण गरेर अझ घना बनाउने प्रयास पनि गरियो तर वृक्षरोपण गरिएका बिरुवा हुर्किन सकेनन्। 

गिरीले भन्नुभयो, “चुनिमारीदेखि जङ्गलसम्म पुग्ने सडक राम्रो थिएन। हामीले सात किलोमिटर सडक ग्राभेल गरेर सडकको सञ्जाल जङ्गलसम्म पु-यायौँ।” जङ्गलमा खानेपानीका लागि चारवटा ट्युबवेलको बन्दोबस्त गरिएको छ। 

वनभोज खान आउनेका लागि बस्न टहरा बनिसकेको छ, भने जङ्गल प्रवेश गर्नुअघि भालुले एक तराईवासीलाई आक्रमण गर्दै गरेको प्रतिमा राखिएको छ। 

गिरी मोरङको दक्षिणी क्षेत्रमा रहेको एक मात्र सरकारी जङ्गल भएकाले त्यसको संरक्षणमा स्थानीय सरकार मात्र होइन, प्रदेश र सङ्घीय सरकारले पनि चासो देखाउनुपर्ने बताउनुहुन्छ। भावी पुस्ताले जङ्गल गुगलमा हेरेर चिन्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले जङ्गल संरक्षण गर्नुको विकल्प नभएको उहाँको भनाइ छ।