• १३ साउन २०८१, आइतबार

काठमाडौंमा सवारी पार्किङ्, चर्को शुल्क असुल्दै निजी व्यापारी

blog

काठमाडौंमा सवारी पार्किङ् ।

 विष्णु पाण्डेय 

काठमाडौ, फागुन १४ गते । काठमाडौं महानगरले उपत्यकामा पार्किङ् हटाएपछि निजी व्यवसायीले पार्किङमा मनोमानी गरेका छन् । महानगरका प्रमुख बालेन्द्र साहले पार्किङ् हटाएपछि व्यवसायीले आफूखुसी शुल्क लिने गरेका छन् । 

महानगरले दरबारमार्ग, न्युरोड, बागबजार, मैतीदेवीलगायतका सडकमा रहेको सशुल्क पार्किङ् हटाएपछि निजी व्यावसायीले मनोमानी रुपमा पार्किङ् शुल्क उठाउने गरेका छन् । निजी व्यवसायीहरुले दुईपाङ्ग्रे सवारी साधन पार्किङ् गरेबापत प्रतिघण्टा २५ रुपियाँ तथा चारपाङ्ग्रे सवारीलाई भने प्रतिघण्टा ८० देखि १५० रुपियाँसम्म लिने गरेको पाइएको छ ।

जग्गा भाडामा लिएर सञ्चालन गरेका कम्पनीले भाडा सङ्कलनमा मनोमानी गरेका हुन् । न्यूरोडमा काम परेर आउनुभएका आशीष प्रधानले पाँच मिनेट मोटरसाइकल पार्किङ् गरेबापत २५ रुपियाँ तिर्नुभयो । उहाँले भन्नुभयो, “न्यूरोडमा सानो कामले आएको थिएँ, पार्किङ् गर्नेबित्तिकै २५ रुपियाँ लाग्ने रहेछ ।यहाँ पाँच मिनेट पार्किङ् गरेँ जसबापत २५ रुपियाँ तिर्नुपर्यो ।”

अन्य क्षेत्रमा पनि पार्किङ शुल्क चर्को रहेका कारण समस्या हुने गरेको उहाँको गुनासो छ । काठमाडौं महानगरले पार्किङ् हटाउने मात्र काम गरेको तर यसको विकल्प दिन नसक्दा नागरिकले दुःख पाउने गरेको उहाँको दाबी छ ।

यस्तै, अदिप विष्टको पनि गुुनासो उही छ । भन्नुहुन्छ , “सवारी पार्किङमा मनोमानी शुल्क उठाइराखेका छन् । न कसैले अनुगमन गरेको छ न कसैले प्रश्न नै गरेको छ । कामले आएर केही बेर पार्किङ् गर्दा नै एक घण्टाको ८० रुपियाँ तिर्नुपरेको छ ।” काठमाडौं महानगरले पार्किङ् शुल्कमा एकरुपता बनाउनु जरुरी रहेको उहाँको भनाइ छ । 

निजी व्यवसायीहरुले पार्किङ्लाई व्यवसाय नै बनाउने गरेका छन् । सङ्कटा मन्दिर नजिकैको क्षेत्रमा मासिक रुपमा पार्किङकाे शुल्क नै उठाउने गरेका छन् । जहाँ प्रति मोटरसाइकलको मासिक १ हजार र प्रति कारको मासिक सात हजार रुपियाँ तोकिएको छ । महानगर भन्छ, छलफलमै छौँ नागरिकले पाइरहेको पार्किङकाे समस्याका सम्बन्धमा महानगर जानकार रहेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । महनगरमा यस विषयमा गुनासाहरु आउने गरेकाले यससम्बन्धमा महागरले छलफल चलाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पार्किङकाे विषयमा नागरिकले पाइरहेका समस्याको विषयमा महानगर जानकार नै छ । समस्या समाधानका लागि महानगर छलफलमै छ ।” पार्किङकाे सम्बन्धमा अहिलेसम्म महानगरले कुनै कार्यविधि नबनाएकाले केही भन्न मिल्ने अवस्था नै नरहेको उहाँले बताउनुभयो । प्रवक्ता मानन्धरले भन्नुभयो, “पार्किङ् शुल्कको विषयमा महानगरले अहिलेसम्म कुनै कार्यविधि बनाएको छैन । 

कार्यविधि बनाएर यसलाई नियमन र एकरुपता कायम गर्नेछौँ ।” ट्राफिक प्रहरी भन्छ सम्बन्धित क्षेत्रले हेर्नुपर्छ महानगरमा देखिएको पार्किङ् शुल्क मनोमानीको विषयमा सम्बन्धित क्षेत्रले नै हेर्नुपर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, महानगरमा निजी क्षेत्रले लिने गरेको शुल्कको बारेमा गुनासाहरु त आउने गरेका छन् । तर, त्यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन । सम्बन्धित निकायले नै हेर्नुपर्छ । ट्राफिक प्रहरीले बढी भाडा असुलेको र सडकको ट्राफिक व्यवस्थापनमा मात्र ध्यान दिने हुनाले पार्किङ् शुल्कको बारेमा भने स्थानीय तह नै बढी जानकार हुने उहाँले बताउनुभयो ।