• १३ साउन २०८१, आइतबार

बालेन्द्र शाहलाई मेट्रोरेलको नेतृत्व लिन चिरिबाबु महर्जनको अनुरोध

blog

ललितपुर, फागुन १४ गते । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्नुभएको छ ।  

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई भेट्न काठमाडौँ महानगर कार्यालय पुगेका महर्जनले सङ्घीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ महानगरले मेट्रोरेलका लागि लिने नेतृत्वको ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे ।

उहाँले भन्नुभयो, ‘ उपत्यका दुई महानगरबीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौँ ,ललितपुर काठमाडौँको सहयात्री बन्छ, काठमाडौँ महानगरले यसको नेतृत्व गर्नुपर्छ । ’ ललितपुर नगर प्रमुख महर्जनले उपत्यका अन्य नगरपालिकासँगको हातेमालो अपरिहार्य भएको बताउनुभयो । 

मेट्रो रेलको विकल्प खोज्नु अब समय र स्रोतसाधनको दुरुपयोग मात्र ठहरिने महानगर प्रमुख महर्जनले प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रोरेलका बारेमा निर्णय नगर्नु किमार्थ ठीक हुँदैन’ काठमाडौँ उपत्यकालाई बस्न योग्य सहर बनाउनका लागि मेट्रोरेल नल्याई सुखै छैन । ’ 

हाँले मेट्रोरेलका बारेमा निर्णय गर्न अब ढिला गर्न नहुने बताउँदै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य सहर बन्ने दाबी महर्जनले गर्नुभयो । उहाँले भन्नुभयो,  ‘सन्ततिले हामीलाई धिक्कार्छन् । 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले मेट्रोरेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रोरेलका सन्दर्भमा अब योजनाबद्ध रूपमा छलफल सुरु गर्ने बताउनुभयो  ।

उहाँले भन्नुभयो,  ‘अब मेट्रोरेलका बारेमा अन्य नगरपालिका र सरोकारवाला निकायसँगको छलफल सुरु गरौं ।’ काठमाडौँ महानगरले पनि मेट्रोरेलका बारेमा अनौपचारिक रूपमा सोधखोज गरिरहेको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो ।

उपत्यकाकालाई बस्न योग्य सहर बनाउन मेट्रोरेल अत्यावश्यक भएको प्रस्ट पार्दै यो दीर्घकालीन योजनाले उपत्यकावासीको जीवनस्तर उन्नत हुने उहाँको भनाइ थियो । शाहले भन्नुभयो, ‘ योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चारवर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुसी र सुख दिन सक्दैन ।’ 

उपत्यकालाई बस्न योग्य सहर बनाउन सहर बनाउन मेट्रोरेल ल्याउनै पर्ने ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तत्काल काम सुरु नगर्ने हो भने अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुन्छ, उपत्यका ‘गतिहीन’ सहरमा परिणत हुने कुरा निश्चित छ । ’ न्याछ्योँले  २० वर्षदेखि मेट्रोेरेलको आवश्यकता र यसले उपत्यकावासीलाई कसरी समृद्ध बनाउँछ भन्ने सन्दर्भमा पैरवी गर्दै आएका छन् ।   

एक तथ्याङ्क अनुसार ट्राफिक जाममा बित्ने उत्पादक समयको ह्रासले वार्षिक करिब रु १.६२ खर्बको नोक्सान भएको अनुमान छ । यो तथ्याङ्क नेपालको गार्हस्थ उत्पादनको लगभग ५.६ हुन आउँछ ।

उहाँले भन्नुभयो, ‘एक वर्षमा हुने नोक्सानबाट नै मेट्रोरेल बन्छ । ’ काठमाडौंं उपत्यकाको वातावरण सुधारसहित व्यवस्थित सहर निर्माणका लागि मेट्रोरेलसहितको एकीकृत यातायात व्यवस्थापनसहित मेट्रोरेल अबको आवश्यकता भएको इन्जिनियर वदनलालको भनाइ थियाे ।