• १३ असोज २०८१, आइतबार

‘प्रदेशका कारण द्रुत गतिमा काम भएका छन्’

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन १४ गते । प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले सङ्घीय सरकारको भन्दा प्रदेश सरकारले विकास निर्माणका काम छिटो गर्ने बताउनुभएको छ । प्रदेश सरकार जनताको प्रत्यक्ष पहुँचमा रहने भएकोले हरेक काम छिटो र छरितो हुने उहाँको भनाइ छ ।  

मोरङको बेलबारी–४ स्थित लिम्बू चोक र सभापुर जोड्ने नवनिर्मित पुलको उद्घाटन गर्दै शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो । उहाँले प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरू निराधार रहेको बताउँदै प्रदेश सरकार गठन भएयता प्रशासनिक, विकास निर्माणका कुरामा जनता सहजै पुग्न सकेको दाबी गर्नुभयो । मन्त्री चापागार्इंले ‘प्रदेश सरकार थिएन भने काठमाडौँ छिर्नुपर्ने हुन्थ्यो, जान आउन हुने खर्च त छँदैछ ,योजना पर्छ या पर्दैन भन्ने हुन्थ्यो,’ उहाँले योजना परे पनि सहज हिसाबले पहुँचमा पुग्छ कि पुग्दैन, यस्ता थुप्रै समस्यालाई प्रदेश सरकारले हल गरेको बताउनुभयो । 

उहाँले अघिल्लो सरकारले प्रदेशको औचित्य स्थापित गरेको र यो सरकारले प्रदेश सरकारको औचित्य र आवश्यकतालाई थप व्यवस्थित र बलियो बनाउने बताउनुभयो । विकासका आयोजनालाई समयमा सम्पन्न गर्न गुणस्तरीयतालाई पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

मन्त्री चापागाईंले मोरङको बेलबारी–४ स्थित केसलिया खोलामा निर्माण भएको ३७ मिटर लम्बाइको सो पुलले स्थानीयको आवागमनलाई सहज हुने बताउनुभयो । पुल छ करोड १८ लाख ४३ हजारको लागतमा निर्माण भएको हो । गीताञ्जलि कन्स्ट्रक्सन प्रालि दुहबी र प्रदेश १ सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयबीच पुल निर्माणका लागि ०७६ फागुन १८ गते सम्झौता भएको थियो । दुई वर्षमा सक्नुपर्ने पुल कोभिडका कारण केही ढिला भएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले जानकारी दिनुभयो । २०७९ असार २५ गते पुल निर्माण सकिएको थियो ।