• ८ मंसिर २०८१, शनिबार

चार खाद्यवस्तुको मापदण्ड तयार

blog

काठमाडौँ, फागुन १४ गते । सरकारले विभिन्न प्रकारका खाद्यान्नको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । बजारमा मापदण्ड पूरा नगरी खाद्य तथा खाद्यजन्य पदार्थको बिक्री हुन सक्ने हुँदा त्यसको नियमन र व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो । मापदण्ड भएपछि बजारमा वितरण कमसल, न्यून गुणस्तरको खाद्यवस्तुको बिक्री नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न चार प्रकारका खाद्यान्नको मापदण्ड तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरेको थियो । मन्त्रिपरिषद्ले हालै ती मापदण्ड स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको हो । 

विभागले स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस), अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर निर्धारण, रोल्ड ओट्सको गुणस्तर निर्धारण र खाद्य पदार्थमा हेभी मेटल (गह्रौँ धातु)को अधिकतम मात्रा निर्धारण गरी कार्यान्वयनमा ल्याएको हो । सरकारले खाद्य ऐन, २०२३ ले दिएको अधिकार प्रयोग गरी खाद्य वस्तुको गुणस्तर निर्धारण गरी राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको छ । 

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण महर्जनले विभिन्न प्रकारका खाद्यवस्तुको मापदण्ड तयार गरी कार्यान्वयनमा आएको बताउनुभयो । बजारमा बिक्री हुने कमसल, अखाद्य खाद्यवस्तुको नियमन गर्न गुणस्तर र मापदण्ड तयार गरिएको उहाँले जानकारी दिनुभयो । अन्य चामलमा मापदण्ड भए पनि पौष्टिक तत्त्व वृद्धि गरिएको चामलको मापदण्ड नहुँदा नयाँ मापदण्ड तयार गरिएको उहाँले जानकारी दिनुभयो ।  

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पोषण कम भएका र रक्तअल्पता भएका व्यक्तिलाई लाभदायक हुने महर्जनले जानकारी दिनुभयो । पौष्टिक तत्त्व वृद्धि गरिएको चामल (फोर्टिफाइड राइस) चामल भन्नाले चामलमा पोषक तत्त्व थप गरिएको चामलको दाना ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म मिसाउँदा आवश्यक गुणस्तर पुगेको चामल हो । फोर्टिफाइड राइस पौष्टिक तत्त्व वृद्धि गरिएको चामल पोषक तत्त्व कम भएका व्यक्तिका लागि उपयोगी हुने बताइएको छ । पछिल्लो समय उद्योगी व्यवसायीले यस चामलको उत्पादन गरी बजारमा वितरण गर्न थालेका छन् । विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर मात्र बिक्री गर्नुपर्ने हुन्छ । 

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल अस्वाभाविक गन्ध र स्वादरहित हुनुका साथै ढुसी, कीरा नलागेको र बाह्य रङ तथा तोकिएकोबाहेक अन्य बाह्य पदार्थ मिसिएको हुन नहुने व्यवस्था गरिएको छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२ मिसाइएको हुन्छ । प्रतिकेजी चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम रहनुपर्ने मापदण्डमा उल्लेख छ । स्तरोन्नति गरिएको चामलमा प्रतिकेजी चामलमा जिङ्कको मात्रा ३२ देखि ५९ मिलिग्राम, भिटामिन शून्य दशमलव ८९ देखि २ दशमलव २१ मिलिग्राम, फोलिक एसिड शून्य दशमलव २४ देखि शून्य दशमलव ५९ र भिटामिन बी–१२ शून्य दशमलव ००७ देखि शून्य दशमलव ०२ मिलिग्राम हुनुपर्ने मापदण्डमा निर्धारण गरिएको छ । 

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामललाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नुपर्ने हुन्छ । प्याकेजिङ सामग्रीको अघिल्लो भागमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल भनी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । स्तरोन्नति गरिएको चामल उत्पादन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी कार्यविधि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत गरेबमोजिम हुनुपर्छ । 

यस्तै रोल्ड ओट्सको गुणस्तर मापदण्डमा बाह्य पदार्थ, ढुसी, कीरा, मुसा, काठको टुक्रा, फलामको टुक्रा, सिसाको टुक्रा तथा अन्य हानिकारक पदार्थ हुन नहुने मापदण्डमा उल्लेख छ । रोल्ड ओट्सलाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्द गरेर प्याकेजिङ गरी लेबलमा खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम वितरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । 

यस्तै विभागले अन्नमा आधारित पूरक बाल आहारको न्यूनतम गुणस्तर निर्धारण गरेको छ । 

विभागका अनुसार अन्नमा आधारित पूरक बाल आहार (छदेखि ३६ महिनासम्मका शिशु तथा बालबालिकाका लागि उत्पादन तथा प्याकेजिङ गरिएको अन्नमा आधारित पूरक बाल आहार) हो । भटमास, बदाम, गेडागुडी, तिल, सूर्यमुखीको दाना, आलस, सुक्खा फलफूल तथा तरकारीलगायतका खाद्य पदार्थ र धुलो प्रयोग गरेर यसलाई बनाउन सकिन्छ । यो छदेखि ३६ महिनासम्मका बालबालिकाले उपभोग गर्ने आहारा भएकाले यसको उत्पादन गर्दा तोकिएको मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ । मापदण्डअनुसार नभए कानुनबमोजिम कारबाहीको समेत व्यवस्था गरिएको विभागले जनाएको छ । 

यस्तै खाद्य पदार्थमा हेभी मेटल (गह्रौँ धातुमा)को अधिकतम मात्रा निर्धारण गरिएको छ । फलफूूलमा सिसा (लिड)को अवशेष अधिकतम शून्य दशमलव १ प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड छ । खाद्य पदार्थमा तामाको अवशेष शून्य दशमलव १ प्रतिशतदेखि ३० प्रतिशतभन्दा बढी हुन नहुने मापदण्डमा उल्लेख छ । विभागले यसअघि विभिन्न प्रकारका खाद्यवस्तुमा मापदण्ड तयार गरी लागूसमेत गरिसकेको छ । 

खाद्यवस्तुका मापदण्ड 

चामल 

  • आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२ मिसाइएको हुनुपर्ने
  • सिलबन्दी प्याकेजिङ गर्नुपर्ने, अघिल्लो भागमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल भनी उल्लेख गर्नुुपर्ने

पूरक बाल आहार

  • भटमास, बदाम, गेडागुडी, तिल, सूर्यमुखीको दाना, आलसको प्रयोग गर्नुपर्ने
  • सुक्खा फलफूल तथा तरकारीलगायतका खाद्य पदार्थको प्रयोग गर्नुपर्ने

रोल्ड ओट्स

  • ढुसी, कीरा, मुसा, काठको टुक्रा, फलामको टुक्रा, सिसाको टुक्रा तथा अन्य हानिकारक पदार्थ हुन नहुने
  • सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्द, लेबल लगाउनुपर्ने

हेभी मेटल

  • फलफूलमा सिसा (लिड)को अवशेष अधिकतम ०.१ प्रतिशतभन्दा बढी हुन नहुने 
  • खाद्य पदार्थमा तामाको अवशेष ०.१ प्रतिशतदेखि ३० प्रतिशतभन्दा बढी हुन नहुने