प्रेरणाले सोधिन्, “दाजु, यहाँ तपाईंलाई कुर्न कोही छैनन् ?” उत्तर दिने क्रममा उनले भने, “यस्तो अवस्था त शत्रुलाई पनि आई नलागोस् । सानैदेखिको अभागी म... ।” उनले पूरा वाक्य बोल्न पनि सकेनन् ।
छेउमा उभिएकी मलाई पनि कौतूहल बढ्यो, कहाँ होला त यिनको घर ? के होला थर ? यस्ता गज्याङगुजुङ प्रश्नले मगज भरियो । वास्तविकता जान्नै पर्ने गरी हुटहुटी भयो ।
“धेरै हैन, तीन वर्ष भो नानी, अस्पतालमै छु । मसँग जुन रोग छ, त्यसको घरमा बसेर इलाज सम्भव छैन । हप्तामा दुईपल्ट त डाइलोसिस गर्नुपर्छ । नलाग्नु रोग लागिहाल्यो, के गर्नु । आउने बाटो एउटा पेन्सन मात्रै हो । सानो दर्जाको मान्छे... ।” फेरि पनि उनले वाक्य पूरा गर्न सकेनन् । अब मलाई झन् कौतूहल बढ्यो र सोध्न थालेँ, “तपाईंका बाउआमा छन्÷छैनन् ? श्रीमती के गर्छिन् ? बच्चाबच्ची कति ? छोरा कति छोरी कति ? सबै पढ्दै छन् कि विदेश गए ?” मेरो कुरा बिचैमा काटेर उनले भन्न थाले, “म एउटा राष्ट्रसेवक सिपाही हुँ । डिउटी निर्वाह गर्ने क्रममै एकदिन अचानक बिसन्चो भयो । के भो के भो मेरा हातगोडा पनि सुन्निन थाले । त्यही रोगले अस्पताल आउनु प¥यो ।” उनले आफ्नो कथा सुनाउँदै भने– पहिला ओपिडीमा देखाएँ । डाक्टर साहेबले हेरेर भनेबमोजिम रगत जचाउँदा रिपोर्टमा किड्नीमा हल्का समस्या देखियो । त्यो बेला मलाई लाग्यो, सामान्य केही होला । औषधि खाएपछि सबै ठीक हुन्छ ।
ब्लड प्रेसर बढेको पनि थाहा छैन । तीन महिना तीन दिनमा डाक्टरले भनेकै समयमा अस्पताल आएर पुनः स्वास्थ्य परीक्षण गराउँदा किड्नीको अवस्था डाइलोसिस गर्नुपर्ने स्थिति भइसकेछ । मलाई था’छैन, कसरी यस्तो रोग लाग्यो । किन लाग्यो । जिन्दगी सम्झेर आफैँ छक्क परेँ । जीवनमा यति दुःखकष्ट खपेँ, घटना परिस्थिति कहेर साध्य छैन । बिचमै जागिर छाड्ने विचार गरेको थिएँ । धन्न अहिले पेन्सन चाहिँ भयो ।
सबभन्दा दुःखको कुरा त सानैमा आमा मरिन् । बाध्यता भयो, बाउले कान्छी श्रीमती (आमा) नल्याए घर स्याहार्ने कोही भएन । तर सौतेनी आमाका कुरा सुनेर कति माया गर्ने बाउले झापडै झापड हानेर मलाई घर निकाला गरे । बढ्ने पढ्ने समय खाई नखाई दस दिशा भौतारिनु प-यो ।
लगामबिनाको घोडाजस्तो भएँ । कसोकसो नेपाल प्रहरीमा सिपाही दर्जामा भर्ना भएँ । नयाँनयाँ जोस र जाँगरले जीवन चल्दैथ्यो । मेरो यहाँसम्मको यात्रामा श्रीमती र दुई छोरी छन् । मसिना ती बालिकालाई धेरै पढाउन मन छ । तिनीहरू शिक्षित भए भने आफूलाई जस्तो दुःख नपर्ला भन्ने लाग्छ । त्यसैले नानीहरूको स्कुल छुटाउँ भन्ने पक्षमा हामी श्रीमान् श्रीमती छैनौँ । हाम्रो भविष्य नै तिनीहरू हुन् भनेर सचेत पनि छौँ । मेरो घर काठमाडौँबाट पश्चिम धेरै टाढा झन्डै दुई दिनको बाटोमा पर्छ । घर पुग्न गाडीबाट ओर्लेर चार घण्टा हिँड्नु पर्छ ।
भर्खर दुई दिनअघि श्रीमती आएर मलाई नुहाइधुवाइ गरेर फर्किन् । त्योभन्दा अघि ठूली छोरी आएकी थिइन् । पाँच कक्षा पढ्ने छोरीले पनि आमाले जसरी नै मलाई सफासुग्घर गर्दिइ । सानी छोरीसँग देखभेट छैन ।
म आफैँ नुहाउन सक्दिनँ । लुगा धुन पनि सक्दिनँ । यस्तै छ मेरो हालत । खानेकुरा मन लागेको खानै पाइँदैन । पिउने बानी पहिला पनि थिएन । अब त झन् शरीरले नै पचाउँदैन ।
“अनि, दाजु दशैँतिहारमा पनि यहीँ बस्ने त हैन नि ?” दोस्रो पटक प्रेरणाले प्रश्न गरिन् । उनले फेरि भने– “रोगले कहीँ दशैँतिहार भन्छ ? कदापि भन्दैन । यतिका बेरदेखि यही कुरा तपाईंहरूलाई भन्दैछु । विगत तीन वर्षदेखि म यहीँको यहीँ नै छुँ । के दशैँ के तिहार । कुन जात्रा, कुन उत्सव । को आफ्नो को पराइ । के दान के धर्म । कोरोना महामारीमा त यहीँ थच्चेर यही हालतमा दिन बिते । अहिले तपाईंहरूसँग यसरी गफिन पाउनु कम्तीमा म बाँचेको रहेछु भन्ने लागेको छ । होइन भने, यहाँ अस्पतालमा मान्छेको मृत्यु कति हेर्नु । पीडा कति सुन्नु । घरीघरी त मुटु घोच्छ । हृदय पोल्छ । ज्यूँदो खरानीलाई थाहा छैन । नानी, कति जम्मा हुन्छन् होला मेरा मलामी ।”
यसरी ढुक्कैसँगले अस्पतालमा बस्न त नपाइने हो तर विकल्प नै नभएपछि के गर्नु ? कोठा भाडा लिएर बसौँ, उपचारमा खर्च नपुग्ला । सास रहुञ्जेल आस भनेझैँ यही अस्पताल नै मेरो बास हो । मेरो घर अनि मेरो आँगन ! निर्धक्क किसिमले उसले बासको कुरो गर्दा मलाई भने मान्छेका निवासको सम्झना भयो । सतहत्तरै जिल्ला मात्रै होइन विश्वमै सङ्कट निम्त्याउने कोरोनाको ताण्डवले कति जनाको इहलीला समाप्त भयो ।
उता गाउँमा श्रीमतीले खसीबाख्रा अनि केही कुखुरा पालेकी छिन् । जातैले पाएको पेसा हुनाले श्रीमतीले जाँडरक्सी पनि पार्छिन् र हाटबजारमा लगेर बेच्छिन् । अनि, त्यहीबाट आएको नगदले छोरीहरू पढ्छन् । भनौँ, उनीहरू पालिएका छन् । मेरा लागि पेन्सन छँदैछ ।
भर्खर दुई दिनअघि श्रीमती आएर मलाई नुहाइधुवाइ गरेर फर्किन् । त्योभन्दा अघि ठूली छोरी आएकी थिइन् । पाँच कक्षा पढ्ने छोरीले पनि आमाले जसरी नै मलाई सफासुग्घर गर्दिइ । सानी
छोरीसँग देखभेट छैन । यत्रो इन्टरनेटको जमानामा छोरी हेर्न पाइनँ भन्नु लाजमर्दो कुरा होला । तर आफ्नो ल्यागतमा नभएपछि त्यो पाटो कुरै भएन । तैपनि थाहा छ, उनी भर्खर स्कुल जाने उमेरकी भइन् ।
उनले हामीलाई आफ्नै दिदीबहिनी जस्तो ठानेर होला पूरै जिन्दगी अवगत गराए । वेदनाको त्यो आवाजले शरीरका अङ्गहरूमा सियो रोपियो । ‘होस्, दाजु अब नसुनाउनु है तपाईंका कुरा’ हामीले भन्यौँ । तर उनले मनभित्रको उकुसमुकुस पखाल्दै थिए ।
डाक्टर नआउन्जेल म पुनः उनकै छेउमा पुगेँ । जब मलाई छेउमा देखेँ उनले भन्न थाले– यस्तै छ है बैनी, तिम्रो दुःखी दाजुको हाल खबर । हुन त मैले अघि नै पनि भनिसकेँ, यसरी ढुक्कले अस्पताल बस्न नपाइने भनेर । म त भर्ना गरेको रोगी पनि होइन । तर विकल्प नभएपछि के गर्नु ? यसकारण बिरामीका कुरुवा बस्ने हलको पल्लो छेउ, कुनाको एउटा बेड मेरो निजी सम्पत्ति जत्तिकै भएको छ । अतः यहीँ सुत्छु । खानपिन यहीँ बसेर गर्छु । आराम गर्नु परे यहीँ निदाउँछु । यदि कुनै दिन अस्पताल प्रशासनले हटाउन खोजे भने नम÷विनम्र्र स्वरमा भन्छु– सर, जय नेपाल हजुर...!’ हाम्रो आफन्तलाई डिस्चार्ज दिएपछि हिँड्ने बेलामा ती दाजुलाई केही खानेकुरा दिएर स्वास्थ्यलाभको कामना गर्दै प्रेरणा र म पनि अस्पतालको प्राङ्गणबाट निस्कियौँ ।