• १ असार २०८२, आइतबार

लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव

नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल

blog

लोकसेवा आयोगको ७५औं वार्षिकोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलगायत । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, असार १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । 

लोकसेवा आयोगको ७५औँ वार्षिकोत्सव एवम् हीरक महोत्सव समारोहमा आइतबार सम्बोधन गर्दै उहाँले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरूप काम गरे मात्र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्दै तीव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताउनुभयो ।


उहाँले भन्नुभयो– ‘‘अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ । कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन हुँदैन ।’’

राष्ट्रपति पौडेलले  मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्यतम कर्मचारी छनाेट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त “योग्यता, निष्पक्षता र स्वच्छता” लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय पक्ष भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो– ‘आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ता प्रतिको आशा एवम् भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ ।’


स्वउत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई स्मरण गराउँदै राष्ट्रपति पौडेलले भन्नुभयो–‘‘आयोग सरकारी सेवामा कर्मचारी छनाेट र भर्नाको जग हो । यसले सदैव असल र उम्दा कर्मचारी छनाेट गर्न सक्ने गरी सकेसम्म योग्यताका सबै पक्षहरू पूर्वानुमान गर्न सकिने खालका परीक्षण विधिहरू अवलम्बन गर्नुपर्दछ ।’’ 

राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भए यता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘यसबाट राज्यका नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व हुन गई राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिने नै छ । आयोगले सङ्घीयता अनुरुप समावेशी समूहतर्फ उम्मेदवार छनाेट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्ने गरी कार्यसम्पादन गर्ने विश्वास मैले लिएको छु ।’’

राष्ट्रपतिले कर्मचारी छनाेट, बढुवा र परामर्शका क्षेत्रमा यसले आजसम्म गरेको योगदानसँगै आर्जन गरेको विश्वास, भरोसा एवम् प्रतिष्ठालाई कायम राख्दै अघि बढ्नेतर्फ आयोगले कुनै कसर बाँकी नराखी यो प्रक्रियामा समयसापेक्ष सुधार गरी प्रभावकारी ढङ्गले अघि बढ्न जरुरी रहेको बताउनुभयो ।