• १३ साउन २०८१, आइतबार

संस्मरण

रक्की माउन्टेनमा रमाउँदा

blog

अमेरिकाको मिनेसोटा राज्यबाट कोलोराडो राज्यको डेन्भर सहरमा ३० अगस्त, २०२२ मा पुग्यौँ । भोलिपल्ट बिहानै अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त रक्की माउन्टेन राष्ट्रिय निकुञ्ज हेर्न हिँड्यौँ । दिउँसोको करिब १२ बजेतिरको टन्टलापुर घाममा त्यहाँ पुग्दा मात्र त्यस ठाउँको महìव महसुस भयो ।

त्यहाँ जम्मा भएका मानिस देख्दा यस्तो लाग्थ्यो कि अमेरिकाका मात्र होइन, विश्वकै आधा जनसङ्ख्या यहीँ जम्मा भएका छन् । गाडी पार्क गर्ने ठाउँसमेत पूरै भरिभराउ थियो । कोही कुकुर डो-याउँदै थिए, कोही साथीभाइसँग गफिँदै थिए, कोही आआफ्ना जोडीसँग उभिएर फोटो खिच्दै थिए । 

छुट्टीको दिन परेकाले कति परिवार आफ्ना स्कुले बच्चासँग घुम्न आएका थिए । बिस्तारै नेपालको तराई सम्झाउने गर्मीले आफ्नो रूप देखाउन थालिसकेको थियो । हामी पनि सँगै बोकेको पानीको बोतल खोलेर आफ्नो तिर्खा मेट्दै अगाडि बढ्दै थियौँ । त्यहाँ देखेका दृश्य, बिताएका पल पाठकसामु प्रस्तुत गर्ने जमर्को गर्दै छु । 

रक्की माउन्टेन उत्तर अमेरिकाको सबैभन्दा पुरानो र अग्लो ठाउँमा रहेको निकुञ्ज हो । यो कोलोराडो राज्यको डेन्भर सहरबाट सय किलोमिटर उत्तर–पश्चिममा पर्दाे रहेछ । यो निकुञ्ज प्रवेश गर्नका लागि टिकट अनलाइनबाट पहिले नै व्यवस्था गरिसक्नु पर्दो रहेछ । त्यहाँ आउने मानिसको भीडलाई नियन्त्रण गर्नका लागि सीमित टिकट वितरण हुने र प्रवेशका लागि निश्चित समय तोकिएको हुँदो रहेछ । गर्मी मौसममा यहाँको भीड थेग्न निकुञ्ज व्यवस्थापकलाई हम्मेहम्मे पर्दो ेरहेछ । 

सरकारी स्तरमा २६ जनवरी, १९१५ मा दर्ता भएको साथै युनेस्कोले १९७६ मा नै संसारको पहिलो जीवमण्डलमध्येको भनेर प्रमाणित गरेको यो निकुञ्ज ४१५ वर्गमाइलमा फैलिएको छ । 

हाम्रो गाडी केहीबेरको समथल भूमि, उकाली, ओराली र केही घुम्ती पार गर्दै गन्तव्यमा पुग्यो । पार्किङस्थलको खोजीमा केही फन्को मारेपछि बल्लबल्ल गाडी राख्ने ठाउँ पायौँ । त्यहाँ घुम्न आएका पर्यटकलाई सटल बसको व्यवस्था निःशुल्क गरिएको रहेछ । 

हामी धेरै टाढा नआइसकेकाले सटल बस चढ्न परेन । केही मिनेट हिँडेपछि भेटिने बिएर ताल, अल्बर्ट झरना, ड्रिम ताल, स्काई ताल, बाटो सँगसँगै बगिरहेको सानो खोलाको पानीको कलकल आवाजका बीच पोखरीहरूमा भएको कमलका पूmल र जङ्गली भुईं पूmलको सौन्दर्य बाटोभरि छरिएको थियो । यी दृश्यले हाम्रो मन लोभ्याउँदै थिए । सफा नीलो पानीमा विभिन्न प्रजातिका असला माछा स्वतन्त्रतापूर्वक यताउता पौडँदै थिए ।यी माछालाई कतै कसैको डर थिएन, निस्फिक्री छेउछेउमा आएर हाम्रो मनोरञ्जन गरिरहेका थिए । मान्छे हिँड्ने गोरेटोबाहेकको जङ्गल यति बाक्लो थियो कि मानिसको त के कुरा स्वयं मृगसमेतलाई पनि यताउता गर्न सजिलो थिएन । पुराना रुख आफैँ सुकेका छन्, आफैँ कुहिएका छन् र माटोलाई मलिलो बनाएका छन् । प्रकृतिले प्रदान गरेका यी अनुपम उपहारको पार्क व्यवस्थापनले सुरक्षा गरेको छ । 

शान्त, सफा र हराभरा परिवेशमा हाम्रो शरीर र मन अत्यन्त रमाइरहेको थियो । त्यहाँको प्राकृतिक सौन्दर्यले जीवनमा केही सार्थकता थपिएजस्तो लाग्दै थियो । यो सुन्दर ठाउँ देखेपछि मेरो देश पनि एक जमानामा ‘हरियो वन नेपालको धन’, ‘तराईको चारकोसे झाडी’, ‘स्वर्गको एउटा टुक्रा’ भनेर पढ्ने र सुन्ने गरेको मानसपलटमा ताजा भयो । हामीले त्यस सौन्दर्यको उचित संरक्षण र संवद्र्धन मात्र गरेर राख्न सकेको भए आज अमेरिकाको यस पार्कमा देखिएजस्तो पर्यटकको जमात हाम्रो देशमा पनि हुन्थ्यो होला ।

प्रकृतिले दिएका यस्तै कैयौँ उपहारलाई बचाएर राख्ने परम्परा बसेको भए हाम्रा देशका युवाले खाडी मुलुक धाउनु पर्दैन थियो होला । देशको अर्थतन्त्र र रोजगारीका लागि धेरै सहयोग पुग्थ्यो होला । एक वर्षमा दस लाख पर्यटक भिœयाउने हाम्रो सरकारी लक्ष्य कागजमै सीमित हुँदैन थियो होला । फेरि नेपाल आउने पर्यटक पनि निम्न आय भएकामध्ये पर्छन् । यी पर्यटक पनि गल्लीमा मस्त हिँडिरहेका अनगिन्ती सङ्ख्याका भुस्याहा कुकुर, पिउनका लागि अस्वस्थ पानी र सडकका माग्नेहरूसँग दिक्दार भएर आफ्नो देश फर्कन्छन् । यातायात सुरक्षाको त के वर्णन गर्नु र खै ? यस्तै चिन्ता र चिन्तनको भारी पनि मसँगै यात्रा गर्दै थियो । एक्कासि छोरीले आएर कानमा मम्मी हेर्नुहोस् त ऊ बाह्रसिङ्गे, कत्ति मज्जासँग नजिकैको चउरमा चरिरहेको भनेर भन्दा पो झसङ्ग भएँ । 

एक पटक म बैङ्कक घुम्न जाँदा वल्र्ड सफारीको खुला चिडियाखानामा हामी सबै पर्यटक गाडीभित्र र जङ्गली जनावर बाहिर नजिकै चरिरहेका देखेकी थिएँ तर अचम्म यस पार्कका चराचुरुङ्गी र जनावर मानिस देखेर कत्ति पनि डराउँदा रहेनछन् । हामी मान्छेबाट उनीहरूलाई केही पनि हानि नभएकाले होला, निर्धक्कसँग आफ्नो दिनचर्यामा व्यस्त देखिन्थे । हामीले यल्लो बेलिइड, मार्माेट र बाह्रसिङ्गे जनावरलाई नजिकबाट देख्ने र फोटो खिच्ने अवसर पनि पायौँ ।

यो मार्मोट भन्ने जनावर ठ्याक्कै मुसाजस्तै तर अलि ठूलो हुँदो रहेछ । यो जनावर र लोखर्के त यत्तिसम्म कि हामी बसेको ठाउँमै आएर “देख्यौ त हामी तिमीहरूसँग डराउँदैनौँ” भनेर जिस्क्याइरहेको जस्तो लाग्दथ्यो । हामीले खाइरहेको खाजा नै खोस्लान् झैँ गर्थे । जङ्गलभरि भेटिने लोखर्केको त रमाइलो नै अर्कै, त्यहीँ रुखमुनि बसेर यिनीहरूले खाना खोजेको, माटोमा खाना लुकाएको, एकापसमा लखेटालखेट गर्दै गरेको, खुरुरु अग्ला अग्ला रुख चढेको, एकैछिनमा भुर्इंमा ओर्लेको दृश्य त दिनभरि हेरिरहुँजस्तो लाग्ने ।

यही मनोरम प्रकृतिको काखमा खेल्दै, रमाउँदै सानो खोला समुद्र भेट्ने अभिलाषामा अगाडि बढ्दै थियो । यहाँका सुन्दर दृश्यका कारणले होला, हामीहरू कसैलाई थकाइको ठ्याम्मै अनुभूति भएको थिएन । जङ्गलभित्रको गोरेटो बाटो, हल्का उकालो, छिनछिनमा भेटिने गरेका तालतलैया, झरना, विभिन्न थरीका जङ्गली पूmल, जङ्गली जनावर, अपाङ्गतामैत्री बाटो आदिले सबै उमेर समूहको आकर्षणको केन्द्र बनेको रहेछ यो निकुञ्ज ।

फोहोर नहोओस् भनेर नै होला, सायद जङ्गलको बीचमा कतै शौचालय थिएनन् । खास कारण त थाहा भएन नै । बाटोमा भेटिनेहरूमा जवान मात्र नभई बूढाबूढी र केटाकेटीको सङ्ख्या पनि प्रशस्त थियो । गर्मीको छुट्टीमा आफ्ना अभिभावकसँग घुम्न आएका साना नानीबाबु आफ्नो झोलामा आफ्ना लागि आवश्यक सामान पिठ्युँमा बोकेर उपिँ्रmदै, रमाउँदै हिँडिरहेका, कसैलाई अभिभावकले डो¥याउँदै लगेका त कसैलाई बोकेर हिँडिरहेका बाटाभरि आउने जाने गरेको भेटिन्थ्यो । 

खुला चौर र खुला हृदयका पोखरी पाएकोमा मेरो मन अत्यन्त रमाएको थियो । करिब एक घण्टाको हिँडाइपछि हामी इमेरल्ड ताल पुग्यौँ । सोचेको र अन्यत्र देखेको भन्दा यो ताल ज्यादै सुन्दर र शालीन थियो । चुच्चे पहाडलाई सिरान बनाएर सुतेको यो ताल हेर्दा यस्तो लाग्दथ्यो, यस पार्कका सम्पूर्ण सुन्दरताको स्वामी ऊ नै हो र यी दृश्य न्यानो सौगातका रूपमा हामीलाई नै पस्कँदै थियो ।

हामीले पनि हर्षित हँुदै प्रत्येक क्षणको आनन्द लियौँ । नाङ्गो पहाडबाट हिउँ पग्लिएर पानी बन्दै यस तालमा बिलीन भइरहेको थियो । ठूला ठूला रुख र बडेमानका ढुङ्गाले त्यो सुन्दर ताललाई सुरक्षा दिइरहेका छन् जस्तो पनि लाग्थ्यो । हामीले ताल छेउको एउटा ढुङ्गामा बसेर ताललाई नजिकबाटै नियाल्यौँ । त्यहाँ जम्मा भएका अन्य पर्यटकझैँ हामी पनि एकछिन सुस्तायौँ । यहाँको सौन्दर्यले मन त रमाइरहेकै थियो तर मन थाम्नै नसकेर तालको पानीभित्र पनि पसिहालेँ । हिउँ पग्लेर आएको पानी न प¥यो चिसो न चिसो, धेरै बेर टिक्नै सकिएन तर यस्तो चिसो पानीमा पनि झ्वाम्म हाम्फालेर पौडी खेल्नेहरूको कमी भने थिएन ।

कोही फोटो खिच्नमा व्यस्त थिए त कोही जनावरसँग खेलेर रमाउँदै थिए । हामीजस्ता हजारौँ पर्यटक दिनदिनै यहाँ आउँछन्, जान्छन् तर यो ताल अटल रहेर पूर्ववत् स्वागतार्थ बसिरहेको छ । मनले सोच्यो, यहाँको माटोमा हामीले टेकेका पदचिह्नहरू हेमन्त ऋतुको हिउँसँगै हराउनेछन् । यहाँको हावामा हामीले फेरेका सासको अस्तित्वबारे कसैलाई थाहा हुने छैन । यस्तै सोच्दासोच्दै मेरो मन जन्मथलो जुम्ला पुग्यो । यहाँ पनि हामी पुगेको यो हिमतालजस्तै धेरै हिमताल छन् । 

म आफैँले देखेका, घुमेका कैयौँ ताल अहिले पनि जस्ताको तस्तै छन् । प्रचारप्रसार, भौतिक सुविधासहित यहाँको जस्तै हुलका हुल पर्यटकको पर्खाइमा घुम्टो ओढेर बसेका छन् । हामी आफ्नो गाउँठाउँमा अवस्थित यस्ता प्राकृतिक सौन्दर्यमाथि अझै कति अनभिज्ञ छौँ । यसलाई हामीले बाहिरी संसारमा देखाउन, चिनाउन नसक्नु हाम्रो कमजोरी हो । यो कमजोरी अरू कति वर्ष रहनेछ, भविष्यले नै बताउने छ । पार्किङ स्थलमा केही बेर थकाइ मारेपछि हामीले रक्की माउन्टेनसँग बिदा माग्यौँ । अत्यन्त आकर्षक आजका दृश्यले मेरो मनमा पटक पटक आफ्नो देशका पर्यटकीय स्थलहरू कहिले यस्ता बन्लान्, कसरी बन्लान्, कसले यस्तो बनाउलान् आदि प्रश्न उब्जिरहेका थिए । नेपालका प्रख्यात पर्यटन क्षेत्र भनेर चिनिएका ढोरपाटन, स्वर्गद्वारी, पाँचपोखरी, सैलुङ, मुक्तिनाथ, शे–फोक्सुन्डो ताल, रारा ताल पुगेर फर्कने पर्यटकले निकै दुःख पाउने गरेको गुनासो गर्ने गरेका छन् । जोखिमपूर्ण बाटो, खाने बस्ने प्रबन्ध राम्रो नभएको, कतै हिलो कतै पहिरो त कतै खाल्डोमा डुब्न परेका पर्यटक दिक्क भएर फर्कने गर्छन् ।

रारा जाँदा प्लेनको टिकटमा धाँधली भएर धेरै दिन न खानु न पिउनु भएर विमानस्थलमै बस्न परेको, बाटोमा गाडी बिग्रिएर अलपत्र पर्नु परेको आदि गुनासाको चाङ सुनिन्छन् । सम्झँदा मन बोझिलो भयो । दुबईका तत्कालीन प्रधानमन्त्री शेख मोहमदले आफ्नो देशलाई संसारकै उत्कृष्ट पर्यटन केन्द्रका रूपमा विकास गर्ने रणनीति र दृढ इच्छा शक्ति लिए, देश त्यस्तै बन्यो । प्रकृतिले ठगेको न ग्यास, न खानी, न उर्वर भूमि, जता हेरे पनि झार पनि नउम्रने बालुवा नै बालुवाको मरुभूमिलाई संसारकै उत्कृष्ट गन्तव्य बनाउने प्रण गरे । पर्यटकलाई चाहिने सबै चिज बालुवामा फलाउने दृढ सङ्कल्प गरे । आज आएर पर्यटकका लागि यो देश कल्पना गरिएको ठाउँजस्तै भएको छ । संसारकै ठूलो घर, संसारकै ठूलो सपिङ मल, संसारकै ठूलो टावर, संसारकै उत्कृष्ट डिजाइनको भवन, समुद्रमुनि बनेको होटल, विश्वमानचित्रका सारा देशका नक्सा हुबहु नक्कल गरिएको वल्र्ड आइल्याक्स, फर्मुला वानको ट्र्याक, त्यस्तै सुन्दर पोखरी, ताल, कृत्रिम हिउँ आदि सबै यहाँ बनाइएका छन् । आज यो सबै मानवनिर्मित संरचना हो भन्दा आँखालाई पत्यार लाग्दैन । 

भन्ने गरिन्छ, “आकाश सबैका लागि उत्रै हुन्छ, कसले कत्रो ओगट्न सक्छ त्यो उसको खुबीमा भर पर्ने कुरा हो ।” फेरि पनि नेपाल सम्झनै थालेकी थिएँ, डुब्न लागेको घामका किरणले मेरो मन त्यतै आकर्षित ग¥यो । पहेँला घामका टुक्रा बिस्तारै हराउँदै गइरहेका थिए । उडिराखेको भँमराको जस्तो आवाज निकालेर हामी चढेको गाडी गुडिरहेको थियो । 

म चुपचाप सडकतिर हेरिरहेकी थिएँ । अमेरिकाका चौडा सडकमा विभिन्न ढाँचाका गाडी आफ्नै वेगमा गुडिरहेका थिए । सायद मेरो मनमा उठेका विविध प्रश्न गाडीको ध्वनिसितै मिसिएर सडकतिर फ्याँकिँदै थिए । म हारेर दिक्क भएको जुवाडेको जस्तो अनुहार लिएर बाहिर हेरिरहेकी थिएँ । घरको ग्यारेजको ढोका खुलेको आवाजले म झस्केँ । केही आशा र केही निराशा, दिउँसोका रमाइला क्षणसहितको मिश्रित मन लिएर म पनि कोठातिर लागेँ ।