• १३ साउन २०८१, आइतबार

महिलालाई पथप्रदर्शक तालिम

blog

काठमाडौँ, फागुन १३ गते । ११२ जना महिलालाई पथप्रदर्शक तालिम प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीद्धारा संयुक्त रूपमा सञ्चालित परियोजना जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोगमा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशका २५ जिल्लाका ११२ महिलालाई ३५ दिने निःशुल्क ट्रेकिङ  गाइड तालिम दिइएको हो । शुक्रबार प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरियो ।

तालिमको समापन कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

“पर्यटनमा यसै पनि दक्ष जनशक्ति अभाव छ । त्यसमा पनि महिला सहभागिता झनै कम छ । यो अवस्थामा महिलालाई तालिम दिन सकिए यो दिगो हुनका साथै पर्यटन क्षेत्रमा महिला सहभागितासमेत बढ्ने अपेक्षा हामीले गरेका छौँ,” उहाँले भन्नुभयो ।  

यस्तै यूएनडीपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले तालिमले पर्यटन क्षेत्रमा महिला सहभागिता अभिवृद्धि हुने बताउनुभयो । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यावहारिक बनाउन सैद्धान्तिक तथा व्यावहारिक कक्षाहरू सञ्चालन गरिएको जानकारी दिनुभयो । 

नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईंले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुका साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो । 

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा जनशक्ति अभाव भइरहको र भइरहेको जनशक्ति पनि पलायन भइरहेको अवस्थामा आयोजना गरिएको तालिमले जनशक्ति विकासमा टेवा पुग्ने अपेक्षा गरेको बताउनुभयो ।