• १६ भदौ २०८१, आइतबार

राष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज

blog

काठमाडौँ, फागुन १३ गते । राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो । 

काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शनिबार बिहान मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची शनिबार प्रकाशन गरिने जानकारी दिनुभयो । 

राष्ट्रपति पदमा उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउनेछन् । तर निर्वाचित र मनोनयनद्वारा पूर्ति हुने पदमा बहाल रहेका व्यक्ति उम्मेदवार हुन पाउनेछन् । राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै मनोनीत वा विगतमा निर्वाचित भएको पद रिक्त हुने निर्वाचन अधिकृत पौडेलले जानकारी   दिनुभयो । 

राष्ट्रपति पदमा मनोनयन दर्ता गर्दा पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्नेछ । राष्ट्रपतिको निर्वाचनमा निर्वाचन अधिकृतले जारी गरेको मतदाता नामावलीमा नाम भएको व्यक्ति प्रस्तावक र समर्थक हुनुपर्नेछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम फागुन १४ गते आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर छानबिन गरी फागुन १५ गते सोमबार निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी निर्णय गर्नेछन् । फागुन १६ गते मङ्गलबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएपछि २०७२ कात्तिक १२ गते निर्वाचन हुँदा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित हुनुभयो । २०७४ फागुन २९ गते उहाँ दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।  

सांसद चौधरीको नाम थप

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि प्रकाशन गरेको मतदाता नामावलीमा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम थपेको छ । प्रतिनिधि सभा सदस्य चौधरीको नाम थपिएपछि दुवै पदको निर्वाचनमा कुल मतदाताको सङ्ख्या ८८२ पुगेको छ । सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाको २७३ र प्रदेश सभाका ५५० जना सदस्य मतदाता हुने छन् । 

निर्वाचन अधिकृत पौडेलले निर्वाचन आयोगको निर्णयबमोजिम चौधरीको नाम थपिएको बताउनुभयो । ट्याक्टर आगजनी मुद्दामा पक्राउ परेर निलम्बनमा परेका चौधरीको राष्ट्रपतिबाट सजाय मिनाहा भएपछि निलम्बन फुकुवा भएको थियो । 

संसद् सचिवालयले निलम्बन हटेको पत्र आयोगलाई पठाएपछि उहाँको नाम मतदाता नामावलीमा समेटिएको हो । प्रतिनिधि सभा सदस्य चौधरीले समेत मतदाता नामावलीमा नाम थप्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको थियो । 

निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावलीमा दाबी विरोध गर्ने समयभित्र पाँचवटा निवेदन परेको जनाएको छ । चार जनाको नाममा त्रुटि देखिएकाले त्रुटि सच्याएर अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृत पौडेलका अनुसार सङ्गीता मण्डल धानुक, दुर्गाकुमारी गुरुङ, सरस्वती खड्का र सञ्जुकुमारी चौधरीको नाममा रहेको त्रुटि सच्याइएको हो ।

महोत्तरीमा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतोको नाम समावेश छ । प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम पक्राउ परेपछि मात्रै सदस्य निलम्बन हुने र निलम्बित सदस्यलाई मतदानको अधिकार नरहने व्यवस्था छ । तर महतो निलम्बित नभएकाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा सूचीकृत छन् । 

संसद्मा छलफलमा रहेको प्रतिनिधि सभा नियमावली २०७९ मा भने प्रहरीको फरार सूचीमा रहेका सांसद निलम्बन हुने व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन अगावै उक्त नियमावली पारित भई कार्यान्वयनमा आए प्रतिनिधि सभा सदस्य महतोको नाम मतदाता नामावलीमा रहने÷नरहने निर्णय गर्ने अधिकार भने निर्वाचन आयोगमा रहनेछ ।