२०७९ फागुन १२ गते। गोरखापत्र संस्थानले पहिलो ‘गोरखापत्र डिजिटल डे’ मनाएको छ। शुक्रबार गोरखापत्र अनलाइन डटकम र राइजिङ नेपाल डेली डटकमको संयुक्त आयोजनामा संस्थानले ‘डिजिटल डे’ कार्यक्रम गरेको हो।
‘गोरखापत्र डिजिटल डे’ मा आयोजित कार्यक्रमका प्रमुख अतिथि एवम् गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले १२२ वर्ष पुरानो संस्था गोरखापत्रले प्रविधिमा फड्को मार्नुपर्ने बताउनुभएको छ। उहाँले अब प्रविधिमा पछाडि परे बाँच्न गाह्रो हुने उल्लेख गर्नुभयो।
अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘सरकारको स्वामित्वमा १२२ वर्ष पुराना संस्था थोरै छन् । पुरानो संस्था भए पनि हामी प्रविधिमा कमजोर छौँ। गोरखापत्रले प्राविधिकरुपमा फड्को मारेन भने अब बाँच्न एकदमै गाह्रो छ। अघिल्लो वर्षदेखि हामीले गोरखापत्रको ‘स्मार्ट यात्रा’ भनेर अभियान सुरु गरेका छौँ। अहिले हामीले सबै विभाग र शाखालाई प्रविधिमैत्री बनाउने प्रयास गरिराखेका छौँ।’’
अध्यक्ष सुवेदीले अहिले गोरखापत्रअन्तर्गतको अनलाइनको डिजाइन र लेआउटमा नयाँ फड्को मारेको उल्लेख गर्नुभयो। उहाँले गोरखापत्रका समाचारको विषयमा सामाजिक सञ्जालमा बहस हुने गरेको बताउनुभयो।
उहाँले गोरखापत्रका अन्य विभागभन्दा काम गर्ने शैली र वातावरण अनलाइनमा फरक रहेको उल्लेख गर्नुभयो। अध्यक्ष सुवेदीले समाचार कक्षलाई ‘इन्ट्रिग्रेटेड’ गर्ने विषयमा छलफल भइराखेको समेत बताउनुभएको छ । अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘राइजिड नेपाल र गोरखापत्रका लागि काम गर्ने साथीलाई २४ घण्टाको ‘प्रिभिलेज’ छ। तर, अनलाइनमा काम गर्ने साथीहरुलाई २४ सेकेण्ड मात्र समय छ। समाचार कक्षलाई ‘इन्ट्रिग्रेटेड’ गर्ने विषयमा छलफल भइराखेको छ। करोडौं पाठकसम्म ठोक्किने डिजिटल प्लेटफर्म नै हो। व्यवस्थापन यसलाई राम्रो बनाउने विषयमा केन्द्रित छ।’’
कार्यक्रमको उद्घाटन गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी ।
अध्यक्ष सुवेदीले राज्यको नियमनबाट सञ्चालित गोरखापत्रको आफ्नै खालको धर्म र व्यावसायिक अभ्यास रहेको उल्लेख गर्नुभयो। राज्यको नियमको संरक्षण, नागरिकप्रतिको धर्म र बजारमा प्रतिस्पर्धाको जिम्मेवारी गोरखापत्रसँग रहेको उहाँको भनाइ छ। गोरखापत्र राज्य धर्मलाई ख्याल गर्दै व्यावसायिक बन्ने विषयमा केन्द्रित भएको उहाँले बताउनुभयो।
अध्यक्ष सुवेदीले गोरखापत्र संस्थानसँग जोडिँदाको सपनाको अंश डिजिटल प्लेटफर्मलाई राम्रो बनाउनुरहेको सम्झना गर्नुभयो। गोरखापत्रका अन्य प्रकाशनले वार्षिक उत्सव मनाएजस्तै डिजिटल प्रकाशनको वार्षिकोत्सव आयोजना भएको उहाँको भनाइ छ। सूचना र प्रविधिको तीव्र विकासले पत्रकारिताको परिभाषा र भूमिका परिवर्तन भएको उहाँको बताउनुभयो।
अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘गोरखापत्रलाई डिजिटल सिफ्ट गर्न सकिन्छ भन्ने एउटा सपना बोकेर प्रवेश गरेँ । डिजिटल युगको स्मार्ट गोरखापत्र भनेर हामीले अभियान थालेका छौँ। स्मार्ट गोरखापत्रको सानो कार्यक्रम भए पनि महत्त्वपूर्ण उपलब्धि हो। अहिलेको युगको महत्त्वपूर्ण माध्यम डिजिटल प्रकाशन अनलाइनको विशेष दिन मनाउनुपर्छ भनेर सुरुवात गरिएको छ। अहिले प्रविधिबाट कोही पनि भाग्ने अवस्था छैन। सूचना प्रविधिको तीव्र विकासले पत्रकारिताको परिभाषा र हाम्रो भूमिकामा ठूलो परिवर्तन ल्याएको छ। कुनै जमानामा पत्रकार बलवान र बलिया थिए । अहिले प्रविधि बलियो छ र पाठक बलवान् छन्। अहिलेको हाम्रो भूमिकालाई रुपन्तरण गर्नु जरुरी छ।’’
डिजिटल प्लेटफर्मलाई समयसापेक्ष बनाउनुपर्छ : महाप्रबन्धक ऐरी
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले डिजिटल प्लेटफर्ममा गोरखापत्रको उपस्थिति कमजोर नरहेको भन्दै यसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘‘इन्टरनेटको विकासले संसार नयाँ युगमा प्रवेश गरेको छ। हाम्रो डिजिटल प्लेटफर्मलाई समयसापेक्ष र विश्वसापेक्ष बनाउनु आवश्यक छ।’’
उहाँले इन्टरनेटको एक्सेस बढ्दै गएको र समय अनुसार आफूलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । अनलाइनमा अडियन्स बढाउन अन्य माध्यमको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ। उहाँले संस्थालाई डिजिटलमैत्री बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘अहिले इन्टरनेटको एक्सेस बढ्दै गएको छ। समय अनुसार हामीले आफूलाई परिवर्तित गर्दै लानुपर्ने देखिन्छ । पाठकलाई अनलाइनमा प्रवेश गर्नका लागि अन्य टुल्सको प्रयोग गर्नुपर्छ।’’
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी ।
उहाँले अहिले डिजिटल प्लेटफर्मको प्रमोट गर्नुको विकल्प नरहेको समेत बताउनुभयो। संस्थानलाई डिजिटलमैत्री बनाउनुपर्नेमा उहाँको जोड छ। ‘‘अनलाइनलाई सशक्त बनाउने विषयमा हामी योजना बनाइराखेका छौँ। प्रक्रियागत कुरामा हामी गम्भीर छौँ। हामीसँग डिजिटल प्लटफर्मलाई प्रमोट गर्नुको विकल्प छैन। अब यसको सुधार नभएसम्म हाम्रो कुनै व्यापार हुँदैन । संस्थालाई डिजिटलमैत्री बनाउनु अहिलेको आवश्यकता हो।’’
गोरखापत्रको विश्वसनीयतालाई थप नयाँ उचाइमा पुर्याउनुपर्छ : भट्टराई
गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले अबको युग डिजिटल भएकाले यसको भविष्य राम्रो रहेको बताउनुभयो। उहाँले गोरखापत्रको डिजिटल प्लेटफर्ममार्फत गोरखापत्रको विश्वसनीयतालाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिनुभयो।
प्रधान सम्पादक भट्टराईले भन्नुभयो, ‘‘गोरखापत्रको डिजिटल प्लेटफर्मको अवस्था हेर्दा निराश हुनुपर्ने अवस्था नभए पनि धेरै उत्साहित हुनुपर्ने अवस्था पनि छैन । समय अनुसार अपडेट गर्दै डिजिटल प्लेटफर्मलाई अहिले फोकस गर्नुपर्छ। व्यवस्थापनले यो पक्षलाई प्राथमिकता दिएको छ।’’
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई ।
उहाँले गोरखापत्रका सूचनालाई पाठकले आधिकारिकताका लागि हेर्ने भएकाले डिजिटल माध्यमले यो विश्वसनीयतालाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘संसारभरि हाम्रा पाठक धेरै छन्। अरु मिडियामा जे आएको भए पनि एक पटक आधिकारिकताका लागि गोरखापत्र हेर्छन्। यो हाम्रो सम्पत्तिलाई अरुले पनि विश्वसनीय ठानेका छन्। यो विश्वसनीयतालाई थप नयाँ उचाइमा पुर्याउनुपर्ने देखिन्छ।’’ प्रधान सम्पादक भट्टराईले गोरखापत्रको छापा र अनलाइनका लागि समाचार सङ्कलनका लागि एउटै समूह बनाउन सके राम्रो हुने उल्लेख गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र अनलाइनका सम्पादक नारदमुनि गौतम ।
कार्यक्रममा गोरखापत्रको डिजिटल यात्रा र अनलाइनको अभ्यासको विषयमा गोरखापत्र अनलाइनका सम्पादक नारदमुनि गौतम र राइजिङ नेपाल डेली डटकमका संयोजक नन्दलाल तिवारीले प्रस्तुति राख्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राइजिङ नेपाल डेली डटकमका संयोजक नन्दलाल तिवारी ।
कार्यक्रममा गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य राजुकुमार महत, दि राइजिङ नेपाल डेलीका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, मधुपर्क मासिकका सम्पादक जयदेव भट्टराई, युवामञ्च मासिकका सम्पादक उमेशकुमार ओझा, मुना मासिकका सम्पादक भक्तबहादुर थापा, उत्पादन तथा आईटी विभाग प्रमुख रेखादेवी श्रेष्ठ, प्रशासन विभागका निर्देशक ओमप्रकाश भुसाल, व्यापार विभाग प्रमुख ताराबहादुर बस्यालसहित गोरखापत्र संस्थानका विभिन्न प्रकाशन र विभागका प्रमुखसहित अनलाइन प्रकाशनका कर्मचारीको उपस्थिति थियो।
‘गोर्खापत्र’ साप्ताहिक रुपमा प्रकाशन भएको ९५ वर्षपछि वि.सं. २०५३ साल फागुन १२ गते पहिलो पटक ‘दि राइजिङ नेपाल डेली’मा प्रकाशित समाचार सामग्री एचटीएमएलमार्फत् इन्टरनेटमा उपलब्ध गराइएको थियो। सोही दिनलाई गोरखापत्र संस्थानले ‘गोरखापत्र डिजिटल डे’ मनाउने निर्णय गरेको हो।
गोरखापत्र संस्थानको डिजिटलअन्तर्गत गोरखापत्र अनलाइन डटकम र दि राइजिङ नेपाल डेलीडटकम प्रकाशनमा छन्। दुवै न्यूजपोर्टलमा २४ घन्टा नै तत्काल भएका घटना तथा विषय अपडेट हुन्छन्। गोरखापत्र दैनिक तथा दि राइजिङ नेपाललगायत सबै प्रकाशनको इपेपरसमेत डिजिटल प्लेटफर्ममा उपलब्ध छन्।
डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’को लक्ष्य हासिल गर्न संस्थानले डिजिटल प्रकाशनलाई प्राथमिकतामा राखेको छ। २०७९ वैशाख १ गतेदेखि गोरखापत्र र राइजिङ नेपाल दुवैको न्यूज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डिजाइनसहित प्रस्तुत गरिएको छ। सामाजिक संजालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको छ।