धर्बेन्द्र झा
जनकपुरधाम, बैशाख १७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही वैशाख २०, २१ र २२ गते हुन लागेको नेकपा (एमाले) जिल्ला कार्य समिति धनुषाको ८ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
नेकपा (एमाले) को पार्टी कार्यालय मिथिला भवनमा अधिवेशनको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले धनुषाका इन्चार्ज एवम पूर्वमन्त्री जुलीकुमारी महतोले अधिवेशनको नारा र लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पूरा भएको बताउनुभयो ।
उहाँले जिल्ला अधिवेशनमा ६५० जना प्रतिनिधिको सहभागिता रहने र प्रतिनिधिको कार्ड निमार्णको काम जारी रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा एमाले धनुषाका अध्यक्ष प्रतिनिधि चायनका विषयमा एक दुई ठाउँ बाहेक जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन भइसकेको र विवादित ठाउँमा पनि आज प्रतिनिधि चयनका विषयलाई अन्तिम टुङ्गो लगाउने बताउनुभयो ।
उहाँले प्रतिनिधि छनाेट हल व्यवस्थापन, भोजन व्यवस्थापन, प्रचार प्रसारसहितका लागि विभिन्न उपसमिति गठन गरिएको र ती समितिहरूले आफनो काम गरिरहेको बताउनुभयो ।
पाँच पदाधिकारीसहित १३५ जनाको जिल्ला कार्यसमितिका लागि सुरुमा सहमतिका लागि प्रयास गरिने र सहमति नभएमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने उहाँले बताउनुभयो । उहाँले निर्वाचनका लागि कृष्ण उपाध्यायको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको बताउनुभयो ।
धनुषाको समृद्धि र सुखको आधार, तीनै तहमा एमालेको सरकार मूलनारा साथ हुन लागेको जिल्ला अधिवेशनको एमाले वरिष्ठ उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष यादवले बताउनुभयो । पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, एमाले केन्द्रीय सदस्य एवम मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतो, एमाले केन्द्रीय सदस्य प्रतीक्षा तिवारीसहितका नेता कार्यकर्ताको उपस्थिति थियो ।