• १७ वैशाख २०८२, बुधबार

नाबालक छोराको हत्या गरी गाड्ने आमा र बाबु पक्राउ

blog

आफ्नै आमा र सौतेला बुवाले हत्या गरेका बालक र हत्या गर्ने आमा बुवा । तस्बिर: प्रहरी

सिराज खान 

नेपालगन्ज, वैशाख १७ गते । आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बस्दै आएका यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीले मिलेर आफ्नो नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरेर शव जमिनमुनि गाडेको हुँदा उनीहरूलाई पक्राउ गरिएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख रेसमलाल पौडेलले कुशल बुढाको शव जमिनमुनि गाडिएको अवस्थामा भेटिएपछि सो घट्नाको अनुसन्धान गर्दै जाँदा सौतेला पिता निरकनाथ योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन गरेको पाइएकोले दुबैलाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाई अनुसन्धान गरिरहेको बताउनुभयो । 

उहाँले मृतक कुशलका हजुरबा आमाले पनि सौतेला बुवा योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव जमिनमुनि गाडेर घटना लुकाउन खोजेको भन्दै प्रहरीका निवेदन दिएको बताउनुभयो । 

दुबै जनाले मिलेर बालकको हत्या गरेर शव गाडिसकेपछि आएर प्रहरीलाई वैशाख ८ गते बालक हराएको भनि जानकारी गराएको तर खोजतलासमा कुनै चासो नदेखाएकोले उनीहरूमाथि शङ्का लागेको र अनुसन्धान गर्दा उनीहरुले नै घटना गराएको खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

प्रहरीले ती दुबै जनालाई जिल्ला अदालत बाँकेमा पेस गरेर पाँच दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख पौडेलले बताउनुभयो । 

कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत नौ वर्षीय बालक कुशल बुढाको शव गाडिएको अवस्थामा बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा जमिनमुनि गाडिएको अवस्थामा सोमवार बेलुकी भेटिएको थियो । 

गाई भैँसी चराउन गएका गाउँका वृद्धहरूले नौलापुरमा सडेको दुर्गन्ध पाएपछि हेर्दा बालकको खुट्टा जमिनमुनिबाट बाहिर निस्किएको देख्दा स्थानीय जनप्रतिनिधिलाई खबर गरेको र जनप्रतिनिधिले प्रहरीलाई खबर गर्दा बालकको शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मृतक बालकका बुवाको मृत्यु भइसकेको र आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसँग दोस्रो विवाह गरेकोले ती बालक उनीहरूसँगै कोहलपुरमा बस्दै आएका थिए ।