• १७ वैशाख २०८२, बुधबार

मङ्गलाका तीनका वडाध्यक्ष तीन महिनादेखि फरार

blog

कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १७ गते ।
म्याग्दीको मङ्गला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष यामबहादुर रोका विगत तीन महिनादेखि फरार हुनुभएको छ । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष रोकालाई सहकारीको बचत हिनामिना तथा अपचलन गरेको आरोप लागेको छ । रोका गत स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

जिल्ला अदालत म्याग्दीबाट पक्राउ पुर्जी जारी भए पनि वडाध्यक्ष रोकालाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । वडाध्यक्ष रोका फरार भएपछि वडामा विकास निर्माण र सेवाप्रवाहमा समेत समस्या उत्पन्न भएको छ । वडा सदस्य भेषकुमारी पुनले फागुन महिनादेखि यता कार्यवाहक वडाध्यक्षको जिम्मेवारी समाल्नु भएको छ ।

‘‘वडाध्यक्ष रोका फागुन महिनादेखि यता कार्यालयमा आउनुभएको छैन । सहकारीको विषयले उहाँलाई समस्यामा पारेको छ,’’ पुनले भन्नुभयो, ‘‘पोखरा तिर छु भन्नुभएको छ । समस्याको समाधान नहुँदासम्म हजुर कार्यवाहक वडाध्यक्ष भएर वडाको कामकाज गर्नुहोस् भनेर मलाई जिम्मेवारी दिनुभएको हो । वैशाखमा आउछु भन्नुभएको थियो, तर आउनुभएन । जेठ महिनामा आउनुहुन्छ होला ।’’

पुनले पनि एक हप्ता यता अर्को वडा सदस्य टीकादेवी कामीलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सार्नुभएको छ । ‘‘म एक हप्तासम्म विदामा छु । दलित वडा सदस्यलाई मैले आगामी आइतबारसम्मका लागि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी प्रदान गरेको छु,’’ उहाँले भन्नुभयो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पौडेलले वडाध्यक्ष रोका गत फागुन महिनादेखि यता गाउँपालिकासँगको सम्पर्कमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वडाध्यक्ष रोका विगत तीन महिनादेखि गाउँ कार्यपालिकाको कार्यालयसँग सम्पर्कमा हुनुहुन्न । वडा सदस्यलाई कार्यवाहक दिएर उहाँ सम्पर्कविहीन हुनुभएको छ ।’’

अध्यक्ष रोका गाउँपालिकाको सम्पर्कमा नभएपछि उहाँले पाउने सेवा सुविधा गत फागुन महिनादेखि यता रोकेको लेखा अधिकृत प्रकाश शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘वडाध्यक्ष रोका फरार भनेर औपचारिक रूपमा गाउँपालिकालाई कहिँकतैबाट चिठीपत्र आएको छैन । पक्राउ नपर्दासम्म कानुनतः सेवासुविधा रोक्न मिल्दैन । तर उहाँ गाउँ कार्यपालिकाको सम्पर्कमा नभएपछि फागुन महिनादेखि यताको सेवासुविधा हामीले उहाँको खातामा पठाएका छैनौं ।’’ जिल्ला अदालतमा बुझ्दा पक्राउ नपर्दासम्म सेवा सुविधा दिन मिल्छ भन्ने जानकारी पाएको उहाँले बताउनुभयो ।

सहकारीको रकम हिनामिना तथा अपचलनको अभियोगमा वडाध्यक्षसहित १९ जनालाई पक्राउ पुर्जी जारी भएको तर अहिलेसम्म पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वडाध्यक्ष रोकासहित १९ जनाका नाममा पक्राउ पुर्जी जारी भएको छ । तर अहिले सम्म कोही पनि पक्राउ परेका छैनन् । अदालतबाट उहाँहरूका नाममा म्याद तामेली भएको छ ।’’ 

सोही सहकारीका पूर्व सञ्चालकहरूलाई जिल्ला अदालत म्याग्दीले सहकारीको रकम हिनामिना र अपचलनसम्बन्धी मुद्दाका पाँच जना आरोपीहरूलाई गत फागुन २१ गते थुना पठाउन आदेश दिएको थियो । सोही फैसलामा सहकारीका अध्यक्ष रोका सहित अन्य फरार १९ जनालाई पक्राउ पुर्जी जारी गर्न अदालतले आदेश समेत दिएको थियो ।

त्यसैगरी, सहकारी रजिष्ट्रारको कार्यालय पोखरासँग समन्वय गरेर सहकारीको आर्थिक कारोबारलाई १५ दिनभित्र सूचारु गरी अदालतमा जानकारी गराउन समेत सहकारीका नाममा आदेश भएको थियो । तर सहकारी पनि अझै खुलेको छैन । सहकारी बन्द हुँदा बचतकर्ताहरूको रकम थप जोखिममा परेको छ ।

सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । 

अदालतको आदेशसँगै रकम हिनामिनाको अभियोग लागेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्व सञ्चालक तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहकारीका पूर्व अध्यक्ष मनप्रसाद थजाली, पूर्व प्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्व सदस्य लोकबहादुर पुनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।