• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचन

मतदाता नामावलीमा अरुणकुमार चौधरीको नाम समावेश गराउन माग

blog

निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ११ गते । राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ ।

ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभयो । मतदाता नामावलीमा दाबी विरोधका लागि आज (बिहीबार) अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी, अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपराह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेश सभा सदस्यले मतदान गर्न पाउने छन् । मतदान फागुन २५ गते संसद् भवन नयाँबानेश्वरमा हुने जनाइएको छ ।