• ९ मंसिर २०८१, आइतबार

वेस्ट बैंकमा आक्रमण हुँदा ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते

blog

जेरुसेलम, फागुन ११ गते । इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तीमा ११ जना प्यालेस्टाइनी मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् ।  इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले  उल्लेख गरेको छ ।

लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन । नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ। हमासले हुसम सलिमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।

आइडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ । इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेनाविरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए ।

त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तीमा १०२ जना घाइते भएका छन् । रासस/एएनआई