न्युयोर्क, फागुन ११ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै यो ‘हाम्रो सामूहिक विवेकको अपमान’ भएको बताउनुभएको छ ।
रुसको युक्रेन आक्रमणको एक वर्ष पुग्न दुई दिनअघि एघारौं आपतकालीन विशेष सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, जब तपाईंले युक्रेनमा रुसको आक्रमणबारे कुरा गर्नुहुन्छ भने युक्रेनका जनता र अन्तर्राष्ट्रिय समुदायका लागि यो लाजमर्दो विषय हो ।
‘यो संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो । यसले नाटकीयरूपमा मानवअधिकारको हनन निम्त्याइरहेको छ र यसको प्रभाव युक्रेनभन्दा धेरै परसम्म महसुस भइरहेको छ,’ उहाँले थप्नुभयो ।
रुस–युक्रेन युद्ध गत फेब्रुअरी २४ मा सुरु भएको थियो र हालसम्म जारी छ । युक्रेनमा द्वन्द्व बढ्दै गएपछि महासभाले किभले समर्थन गरेको प्रस्तावमाथि बहस गर्न थालेको हो । विशेष सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घ प्रमुखले पनि भन्नुभयो, “मैले पहिलो दिनदेखि भनेको कुरा के हो भने यस कदमले विश्च समुदायलाई चुनौती थपेको छ ।’
संयुक्त राष्ट्रसङ्घका सबै सदस्यहरूले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै पनि राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध वा संयुक्त राष्ट्रका उद्देश्यहरूसँग असङ्गत हुने गरी धम्की वा बल प्रयोगबाट टाढा रहनुपर्ने महासचिवको धारणा छ । उहाँले युक्रेनका चार क्षेत्रलाई गैरकानुनी रूपमा गाभिएकामा पनि आपत्ति जनाउनुभएको छ ।
यसअघि पोल्याण्डमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो युद्धघोष गर्दा ‘ठूलो गल्ती’ गरेको बताउनुभएको थियो । राष्ट्रपति बाइडेन (जो पोल्याण्डको वार्सामा राष्ट्रपति भवनमा बुखारेस्ट नाइनसँगको बैठकमा हुनुहुन्थ्यो पहिलो पटक मुस्कुराएर जवाफ दिंदै रुसको के प्रतिक्रिया हुन्छ त्यो बारे प्रत्युत्तर गर्ने आफ्नो समय नभएको बताउनुभएको थियो ।
बुखारेस्ट नाइन समूह २०१५ मा क्रिमिया को रुसी विलयपछि गठन भएको थियो र यसमा बुल्गेरिया, चेक गणतन्त्र, एस्टोनिया, हङ्गेरी, लाटभिया, लिथुआनिया, पोल्याण्ड, रोमानिया र एस छन् । युक्रेन युद्ध एक वर्ष पुग्न लाग्दा बाइडेन पोल्याण्डमा नेटो नेताहरूसँग भेट्दै हुनुहुन्छ । मस्कोमा राष्ट्रपति पुटिनले बुधबार चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीसँग भेट गर्नुभएको थियो। यसअघि वाङले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको थियो ।
राष्ट्रपति पुटिनले अमेरिकासँगको एकमात्र बाँकी रहेको परमाणु हतियार नियन्त्रण सन्धि–न्यु स्टार्टमा आफ्नो सहभागिता निलम्बन गरिरहेको र युक्रेन द्वन्द्वका लागि पश्चिमलाई दोष दिन खोजेको बताइएको छ । रासस/एएनआई