• १३ साउन २०८१, आइतबार

सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न पहल गरिने

blog

काठमाडौँ, फागुन ११ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घको प्रतिनिधिसित बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले व्यवसायीका समस्यालाई आफूले गम्भीर रूपमा लिएको र ती समस्याको अध्ययन गरी  समाधान गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । 

देशभरका सुनचाँदी व्यवसायसँग सम्बन्धित तीनवटा महासङ्घले तत्काल सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका थिए । व्यवसायीका मागलाई राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रिनुपर्ने बाध्यता आउन सक्ने व्यवसायीले चेतावनी दिएका छन् । बजारमा सुनको अभाव रहेकाले कोटा बढाउन व्यवसायीले माग गरेका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबारसम्बन्धी प्रस्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताउनुभयो । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुनेजस्ता समस्या आएको उहाँको भनाइ छ । बजारमा सुनको माग उच्च भए पनि आपूर्ति न्यून नहुँदा अभाव रहेको चर्चा गर्दै उहाँले बजार मागअनुसार सुनको कोटा बढाउन आग्रह गर्नुभयो ।