नेपाल बहुविविधतामा आधारित कृषिप्रधान देश हो । यहाँ सयौँ जातजाति भाषाभाषी, कैयौँ धर्मसंस्कृतिले भरिपूर्ण हिमाल, पहाड, तराई ( मधेश) को सङ्गम, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हाम्रो देश हो । यहाँ ठूलठूला खोला नाला, नदी, ताल तलैया, गुफा, पाखापखेराको साथै हिमशृङ्खलाले सजिसजाउ सुन्दर मनमोहक दृश्य भरिएको देश हो नेपाल । प्राकृतिक स्रोतसाधन, सामरिक महìवका ठाउँले भरिपूर्ण हाम्रो देश कृषिमा अधारित छ । चाहे त्यो स्थल कृषि होस् वा जलकृषि । किसानले कृषिमा आफ्नो श्रम पसिना दिनरात बगाइरहेको छ । आफ्नो लगानी गरिरहेको छ । फेरि पनि किसान र श्रमिक सधैँ असुरक्षित, अव्यवस्थित र पीडित हुँदै गइरहेको छ ।
किसान र मजदुरको आवाज भजाएर खाने वर्गको बिगबिगी चारैतिर व्याप्त छ । ८० प्रतिशतभन्दा बढी मजदुर र किसानले भरिएको देशमा विभिन्न जाति जनजाति, उत्पीडित समुदाय, अनेकतामा एकता कायम गर्दै परापूर्वकालदेखि बसोबास गर्दै आएको हाम्रो भूमि हो । नेपालमा भएका विभिन्न अन्तर्विरोधका साथ जातीय र सामाजिक विभेदीकरण राजनीतिक रूपमा हल गर्न बेलाबेलामा आन्दोलन र क्रान्ति हुँदै महान् जनआन्दोलनपश्चात् अन्ततः नेपाली राजनीतिक सत्ता परिवर्तन भए । केही अन्तर्विरोधको हल पनि भयो । केही मात्रामा सामाजिक विभेद हट्यो, केही जातिगत संवैधानिक सम्बोधन पनि भए । देशको मधेशमा बसोबास गर्ने छुट्टै प्रकृतिको बहुसङ्ख्यक जाति समुदाय ‘निषाद समुदाय’ को समस्या यथावत् छन् । निषाद समुदायको बारेमा संविधान मौन रह्यो । नेपालको संविधान २०७२ ले निषाद समुदायका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ को कथा बन्न गयो । यो समुदाय आफ्नो समस्या समाधान गर्न विभिन्न आरोह÷अवरोहको बीचबाट गुज्रिरहेको तितो यथार्थ हामीसँग छ ।
भनिन्छ, निषाद समुदाय सबभन्दा सचेत समुदाय थियो तर राज्यद्वारा यो समुदायमाथि शताब्दीऔँदेखिको चरम उत्पीडनको कारण आज सबैभन्दा उत्पीडित समुदाय बन्न गयो । निषाद समुदाय सिन्धुघाटी सभ्यताको जननी मानिन्छ । यो समुदायलाई समाजमा आइपरेका हरेक समस्या हल गर्ने श्रेष्ठ मानिन्थ्यो । मानव जातिलाई एक ठाउँबाट अर्को ठाउँ जान निषाद समुदायको सहायताबिना असम्भव थियो । नेपालमा निषाद समुदाय परापूर्वकालदेखि नै आफ्नो विरासत, अस्तित्व, पहिचान राख्दै आएको समुदाय हुन् । जसको प्रमाण नेपालको राष्ट्रिय अभिलेखालय केन्द्रीय (पुरातìव विभागमा) मा ९९ नंं. क्रममा राखिएको छ । यसले पनि प्रमाणित गर्छ कि निषाद समुदाय नेपालको आदिवासी नै हो । यो समुदाय अहिले दोहारो मार खेप्न विवश छ । मधेशवादी दलले त निषाद समुदायलाई ओझेलमा आफ्नो स्वार्थ सिद्ध गर्ने काम गरिरहेको छ । नेपालका राष्ट्रिय पार्टीले कि त निषाद समुदायको बारेमा बुझेका छैनन् कि त बुझेर बुझ पचाइरहेका छन् ।
निषाद समुदाय नेपालमा जनसङ्ख्याको आधारमा दशौँ लाखको हाराहारीमा छन् भने लगभग बीसौँ उपजातिको रूपमा चिनिने – बीन, मलाह, नुनिया, सहनी, केवट, मुखिया, बिन्द, खरबिन्द, चाइ, तियर, बनपर, सोरहिया, मोरियारी, बोट, बोटे, कहार, तुरैया, तुरहा, लोनिया, महतो, चौहान, चौधरी, मछुआ, नाभिक, समुदाय हुन् । पेसाले यो समुदायलाई जलकृषि र स्थल कृषिसँग सम्बन्धित श्रमिक समुदायको रूपमा चिनिन्छ । माछापालन, माछा बिक्रीवितरण, माछा मार्ने, डुङ्गा तार्ने, पानी खेल्ने, गोता लगाउने, सिकार गर्ने, खेतीपाती वा ज्याला गरेर पेट पाल्न मजदुरी गर्ने अर्थात् विशुद्ध श्रमिक समुदाय हो । यो समुदाय सोझा, सिधा, इमानदार, साहसी र निडर स्वभावका प्रायः हुन्छन् ।
नेपालमा निषाद समुदाय न्याय, समानता, स्वतन्त्रताका लागि सामुदायिक सङ्गठन निर्माणमार्फत लगभग तीन दशकदेखि क्रियाशील छ । यो समुदायका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा अनेकौँ सङ्गठन निर्माण भए । आज पनि कैयौँ सङ्गठन क्रियाशील छन् । कैयौँ सङ्गठन निष्क्रिय छन् । कैयौँ सङ्गठन गठन÷पुनर्गठनकै क्रममा एक हुँदै र टुट्दै आएका पनि छन् । निषाद समुदाय चेतना स्तर वृद्धि गर्न कैयौँ सामाजिक सञ्जालमा ग्रुप खडा गरेर क्रियाशील छ ।
डा. भीम राव अम्बेडकर भन्छन्, “अलग सङ्गठन बनाएर होइन, सङ्गठनलाई सङ्गठित गर्दै सङ्गठित हुनु” अर्थात् सङ्गठित भएर मात्रै सामाजिक मुक्तिको परिकल्पना गर्न सकिन्छ । विचार, योजना, कार्यक्रम, विधिविधानको सर्वोच्च रूप सङ्गठन हो । सङ्गठन स्वतन्त्रतासहित सामाजिक न्यायका लागि चलाइने मात्रै नभई कुशलतापूर्वक अगाडि बढाउनका लागि चलाइने अभियान पनि हो ।
सङ्गठित सङ्गठनले हरेक समस्या निदान गर्छ भने विकेन्द्रित सङ्गठनले समस्या निम्त्याउँछ । निषाद समुदाय आफ्नो पूर्ण मुक्तिको उद्देश्य राखेर सङ्गठन, सङ्घ, संस्था दर्ता गर्दै अगाडि बढिरहेको छ । अब हाम्रो अगाडि जबर्जस्त चुनौती के बन्न गएको छ भने निषाद समुदायको सम्पूर्ण उपजातिको साझा मनोविज्ञान, भावना, चाहना, परिकल्पना, उद्देश्य र कार्यक्रमका साथ वैज्ञानिक सिद्धान्तमा आधारित साझा सर्वोच्च सङ्गठन निर्माण र कुशलतापूर्वक परिचालन नै हो । जसले सिङ्गो समाजको भावनालाई सम्बोधन गरियोस् । यसलाई साझा रूप दिनका लागि कुशल नेतृत्व, योग्य क्रान्तिकारी समूहको आवश्यकता अनिवार्य बन्न गएको छ ।
नेतृत्वसमक्ष समुदायको समस्या समाधानका माग राख्दा उनीहरूको उत्तर आउँछ, त्यो भइहाल्छ । ‘सागर होइन महासागर नै भइदिन्छन् । नेतृत्व केवल आमाको गर्भबाट होइन वर्ग सङ्घर्ष र सामाजिक सङ्घर्षको भट्टिबाट पैदा हुन्छ । नेतृत्व सङ्घर्ष, त्याग, समर्पण, बलिदान, स्वाभिमान, चेतना, विचार, योजना, कार्यक्रम, भावना, आवेग, संवेग, विश्लेषण र सबैको संश्लेषण पनि हो । अर्को शब्दमा भन्ने हो भन्ने नेतृत्व सिङ्गो समाजको सामाजिक न्यायका लागि चलाइने सङ्घर्षको मियो हो । सामाजिक रूपान्तरणका लागि चलाइने आन्दोलनको रथको कुशल सारथि हो । त्यसैले आज नेपालभरिको सम्पूर्ण निषाद समुदायको उपजाति एकता, सङ्घर्ष र रूपान्तरणको विधिमा एकता हुनु अनिवार्य सर्त बन्न गएको छ । आजको युगमा हामी जति फुट्छौँ त्यति नै हामी लुटिन्छौँ । जब हामी एक हुन्छौँ हाम्रा संवैधानिक अधिकार र पहिचानसहित हाम्रा मुद्दा हल हुँदै जान्छन् । हाम्रो समुदायको मात्र होइन सम्पूर्ण समाजको प्रगति सम्भव छ । आउनुहोस् हाम्रो समुदायका सम्पूर्ण सङ्गठनको सर्वोच्च सङ्गठन निर्माणका लागि आआफ्नो ठाउँबाट त्याग समर्पणसहित सामाजिक मुक्ति अभियानका लागि कुशल, दक्ष, क्रियाशील सङ्गठन निर्माण गरौँ ! निषाद समुदायको समस्या हल गर्ने दिशामा अघि बढौँ !