• १३ साउन २०८१, आइतबार

पर्यटकका लागि ताल आकर्षक बन्दै

blog

शालिग्राम नेपाल 

चितवन, फागुन ८ गते । चितवनका पोखरीहरू आकर्षणको केन्द्र बन्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र र आसपासमा रहेका पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएका छन् ।

५२ पोखरी ५३ ताल भनेर चिनिने निकुञ्जभित्र ठूला पोखरी ५० वटाभन्दा धेरै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जभित्र साना र ठूला गरेर मात्र सयभन्दा धेरै पोखरी रहेका छन् । केही पोखरी मध्यवर्ती वन क्षेत्रमा छन्, त्यसको सञ्चालन र संरक्षण समुदायले गर्दै आएका छन् ।” 

पोखरीलाई व्यवस्थित पार्दै पर्यटक आउने वातावरण निर्माण गरेको उहाँले बताउनुभयो । विश्व सिमसार क्षेत्रमा सूचीकृत बीस हजारी ताल, बाटुलेपोखरी, राइनो ताल र मध्यवर्ती क्षेत्रभित्र पर्दछन् । 

निकुञ्जभित्र रहेको ठूलो पोखरीमा लामीताल, तमोर ताल, कमल पोखरी, देवी ताल, सूर्य पोखरीलगायतका छन् । यी सबै ताल पर्यटकको आकर्षणको केन्द्र बन्दै गएका छन् । भरतपुरबाट नजिकै रहेको बीस हजारी ताल र बाटुले पोखरीमा चरा, घडियाल गोही सजिलै देख्न सकिन्छ भने पानी खानका लागि आउने एकसिङ्गे गैँडा, मयूरलगायत विभिन्न प्रजातिका जलचर र स्थल प्राणीहरू देख्न पाइने भएकाले यहाँ पर्यटकको भीड लाग्ने गरेको छ । 

मध्यवर्तीभित्रका पोखरीहरूमा त्यहाँका समुदायले टिकटको व्यवस्था गरेर प्रवेश गर्न दिएका छन् । ती पोखरीमा डुङ्गा सयरसँगै आसपासको क्षेत्रमा आराम गर्ने कुर्सी तथा सुविधासम्पन्न शौचालयको व्यवस्था गरिएको छ । निकुञ्जभित्रका पोखरीहरूमा अनुमतिबिना प्रवेश गर्न दिने नगरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । 

शान्त वातावरण हुने भएकाले पोखरी पर्यटकको रोजाइ बनेको स्थानीय जानुका पौडेलले बताउनुभयो । प्राकृतिक वातावरण मन पराउनेहरूको रोजाइ पोखरी र ताल भएको बाटुलेपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक बिदाको दिनमा दैनिक पाँच सय जनासम्म आउने गर्नुभएको छ, भिडियो सुटिङका लागि आउने पनि छन् । प्रवेश शुल्कबाट प्राप्त रकमले यहाँ संरचना निर्माण गरेका छाँै ।” 

पोखरीमा डुङ्गाको व्यवस्था छ, धेरै चरा देखिन्छ, साँझ, बिहान गैँडा मयूरलगायतका जनावर देखिने भएकाले यसको अलग्गै महŒव भएको उहाँले बताउनुभयो । “महिला अध्यक्ष भएको वनले प्रगति गर्न सक्दैन भन्नेहरू थिए, अहिले काम गरेर देखाएपछि सबैले तारिफ गर्न थालेका छन्,” अध्यक्ष सुनारले भन्नुभयो । 

निकुञ्ज र यस आसपासमा रहेका पोखरीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै लगेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनुभयो । तर चितवन निकुञ्जको आसपासमा धेरै यस्ता आकर्षक गन्तव्य छन् । ती स्थानको प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । पश्चिम चितवनको रानीपोखरी अर्को केन्द्र हो । बस्तीको बीच भागमा रहेको यो पोखरीको संरक्षण र प्रचारमा भरतपुर महानगरले लगानी गरेको छ । महानगरभित्रका पर्यटकीय गन्तव्यमा रानीपोखरीलाई पनि समावेश गरिएको छ ।