कात्तिक महिनाको अन्तिम सातातिर ३५ वर्षे विवाहित महिला मनोसामाजिक परामर्शका लागि सम्पर्कमा आइन् । दुई छोरीकी आमा घरमा श्रीमान्लगायत अन्य परिवारको सदस्यबाट छोरा नजन्माएकै कारण पटक–पटक शारीरिक र मानसिक यातना भोगिराखेको बताउँथिन् । केही समय समस्यासँग सामना गर्दै आइराखेको भए पनि विगत केही हप्तादेखि उनमा मानसिक विचलन सुरु भएको रहेछ । जसका कारण निद्रा नलाग्ने, डर लाग्ने, आफैँलाई दोषी ठान्ने र समय समयमा आत्महत्याको विचारले सताइरहने गरेको रहेछ । निरन्तर हिंसाले मानसिक विचलन भई दैनिक क्रियाकलापमा कठिनाइ भइरहेको अवस्थामा माइतीको संरक्षणमा रहेको र आवश्यक कानुनी उपचार प्रक्रियामा गएकी रहिछन् ।
परामर्शकै लागि सम्पर्कमा आएकी अर्की २२ वर्षकी एक महिला दाइजो कम भएकै कारण पटक–पटक घरेलु हिंसा खेप्दै आइराखेकी छन् । १७ वर्षमा विवाह (बाल विवाह) गरेकी उनले सुरुमा हिंसालाई सामान्य दैनिकी जस्तै बनाएर बसिरहेकी थिइन् । जब श्रीमान्को भाउजूसँगको अनैतिक सम्बन्ध आफ्नै आँखाले देखिन् तब आफूलाई समाल्न सकिनन् । श्रीमान्को अनैतिक क्रियाकलापबारे बोल्दा दैनिकजसो झगडा तथा कुटपिट हुन थाल्यो । परिवारका सदस्यबाट सहयोग पाउनुको साटो उल्टै छोराकै पक्षपोषण गरेको महसुस भएपछि हाल माइती घरमा आमासँगै बस्दै आएकी छन् । उनको परिवार दाइजो फिर्ता गर्ने कि मिलेर बस्ने भनेर पटक–पटक प्रहरी र समुदायसँग छलफल गरिरहँदा उनी भने अब कुनै पनि हालतमा श्रीमान्सँगको जिन्दगी सोच्न नसक्ने बताउँछिन् । उनलाई श्रीमान्को अनैतिक सम्बन्धको दृश्य झलझली आँखा अगाडि आइरहन्छ । उनी राम्रोसँग सुत्न सक्दिनन्, नराम्रो सपना देख्छिन्, धेरै दुःखी देखिन्छिन्, र आशाविहीन भएको महसुस गर्छिन् ।
यी त लैङ्गिक हिंसा र यसको मनोसामाजिक प्रभावको विषय उजागर गर्ने प्रतिनिधि पात्र मात्र हुन् । यी पात्र केवल समुद्रमा तैरिएको बरफको ढिक्कालाई विम्बित गरिराखेका छन् र पिँधमा रहेको बरफको हिस्सा कति विशाल छ मापन गर्न भने बाँकी नै छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको एक प्रतिवेदनअनुसार ४८ प्रतिशत महिला आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको लैङ्गिक हिंसा भोगिराखेको हुन्छन् । राष्ट्रिय तथ्याङ्क विभाग नेपाल २०७६ को प्रतिवेदनअनुसार पनि १५ देखि ४९ वर्ष उमेर समूहको महिलामा हरेक पाँच जनामा एक जनाले शारीरिक हिंसा भोगिराखेको हुन्छन् भने विवाहित महिलाको सन्दर्भमा हरेक चारमा एक जनाले आफ्नै श्रीमान्बाट हिंसा भोगिराखेका हुन्छन् ।
कुनै व्यक्तिले महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएकै आधारमा कसैमाथि घर, समाज, तथा कार्यस्थलमा गर्ने शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य पीडा वा क्षति पु-याउने कार्य नै लैङ्गिक हिंसा हो । यो महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैले अनुभव गर्न सक्छन् तर हाम्रोजस्तो कम विकसित र पितृसत्तात्मक सोच भएको समाजमा भने तुलनात्मक रूपमा महिला हिंसा बढी हुने गरेको पाइन्छ । मधेश प्रदेश प्रहरी, जनकपुरका अनुसार चालू आर्थिक वर्ष कात्तिक सम्ममा (४ महिनामा) मात्र कुल १२८४ वटा घरेलु हिंसाविरुद्ध मुद्दा दर्ता भएका छन्, जसमा महिला हिंसाविरुद्ध मात्र कुलको ९१ प्रतिशत मुद्दा दर्ता भएका छन् । मधेश प्रदेशको हकमा हेर्नुपर्दा दाइजो प्रथा, बालविवाह, बहुविवाह, बोक्सीको आरोप, बलात्कार तथा यौन दूराचार आदि लैङ्गिक हिंसाको प्रमुख कारकमा रहेको देखिन्छ ।
लैङ्गिक हिंसासँगै जोडिएर आउने महìवपूर्ण तर ओझेलमा परेको पक्ष भनेको र यस आलेखमा उठाउन खोजिएको विषय यसको मनोसामाजिक पक्ष हो । सामाजिक गतिविधिले व्यक्तिको शरीर, भावना, व्यवहार र सम्बन्धमा प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव पारिराखेको हुन्छ । हिंसा प्रभावित व्यक्तिलाई विभिन्न शारीरिक समस्या, चरम निराशा, आशा विहीनता, आफूलाई दोषी महसुस गर्ने, दिक्दारीपन, रिस, अरूलाई विश्वास गर्न गाह्रो हुने र आफूलाई हानि गर्ने सोच तथा व्यवहार देखिन्छन् । अध्ययनका अनुसार हिंसामा परेका व्यक्तिमा अधिकांशमा घटनापछि आघातजन्य समस्या देखिने गरेको छ । स्प्रिङ्गर लिङ्क नामक जर्नलमा प्रकाशित सुसान रीज र उनको समूहले गरेको अध्ययनअनुसार, मानसिक रूपमा पूर्ण स्वस्थ एक महिला पनि लैङ्गिक हिंसामा परेको एक वर्षदेखि पाँच वर्षको अन्तरालमा कुनै न कुनै प्रकारको मानसिक समस्या र आत्महत्या सम्बन्धित व्यवहार हुन सक्ने प्रबल सम्भावना भएको बताइएको छ । यसरी विश्लेषण गर्दा लैङ्गिक हिंसा मानवधिकारको एक प्रमुख मुद्दा त हो नै जसमा मनोसामाजिक पक्ष पनि प्रत्यक्ष जोडिएर आएको देखिन्छ ।
मधेश प्रदेश, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत विषयगत संरक्षण क्षेत्रको मासिक बैठकमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट महिला हिंसा र आत्महत्याको तथ्याङ्क प्रस्तुत गरिन्छ । उक्त तथ्याङ्क केलाउँदा पनि महिला हिंसा र आत्महत्या एक अर्काबीच अन्तरसम्बन्धित भएको अनुमान गर्न सकिन्छ । उपलब्ध तथ्याङ्कअनुसार २०७६ साउनदेखि २०७८ साउनसम्ममा (२ वर्षमा) ३६० जना बालिका र ५७९ जना १८ वर्ष माथिका महिला गरी जम्मा ९३९ जना महिलाले आत्महत्या गरेका थिए । सोही समयमै मधेशमा ४९७ बालिका र २५८ १८–वर्ष माथिका महिला गरी जम्मा ७५५ वटा बलात्कार विरुद्धका मुद्दा दर्ता भएका थिए । उक्त २ वर्षलाई पनि कोरोना भाइरस आउनु पूर्वको नौ महिना (साउन २०७६ देखि ११ चैत्र २०७६ सम्म) र कोरोना दौरानका नौ महिना (पहिलो चरणको बन्दाबन्दी ११ चैत २०७६ देखि साउन २०७७ सम्म ५ महिना र दोस्रो चरणको बन्दाबन्दी वैशाख २०७८ देखि साउन २०७८ सम्म चार महिना गरी जम्मा नौ महिना) लाई तुलनात्मक रूपमा विश्लेषण गर्दा पनि बलात्कारका घटना बढेसँगै आत्महत्याका घटना पनि उल्लेखनीय रूपमा बढेको पाइन्छ । कोरोना अगाडिको नौ महिनाको तुलनामा कोरोना दौरानको नौ महिनामा बालिका बलात्कार र आत्महत्याको घटना क्रमशः ४८ प्रतिशतले र ८० प्रतिशतले बढेको छ । यसरी हेर्दा बालिका बलात्कार र आत्महत्या घटना ३.५ प्रतिशतको अनुपातमा बढेको पाइन्छ ।
१८ वर्ष माथिका महिला बलात्कारको घटना ५७ प्रतिशतले वृद्धि हुँदा आत्महत्याको घटना ८५ प्रतिशतले बढेको थियो । कोरोना अगाडिको नौ महिनामा बालिका बलात्कार र आत्महत्याको घटना क्रमशः १३७ र ९३ थियो भने कोरोना दौरानको नौ महिना उक्त सङ्ख्या बढेर २०३ र १६८ पुगेको थियो । त्यसैगरी १८ वर्ष माथिका महिलाको हकमा बलात्कार र आत्महत्याका घटना क्रमशः ७२ र १४१ बाट बढेर ११२ र २६१ पुगेको थियो । तथ्याङ्कअनुसार कोरोनाकाल नै महिना लैङ्गिक हिंसाका घटना बढेसँगै आत्महत्याका घटना बढेको अनुमान लगाउन सकिन्छ । कोरोनाको दौरानमा कुल आत्महत्याको १८ प्रतिशत मात्र पुरुष आत्महत्याको घटना दर्ता भएका थिए ।
चालू आर्थिक वर्ष कात्तिक (चार महिना) सम्ममा बालिका र १८ वर्ष माथिका महिला गरेर क्रमश; ४५ र ७५ गरी १२० जना महिला र ११९ जना पुरुषले पनि आत्महत्या गरेका छन् । सोही समयमा कुल १२८४ वटा घरेलु हिंसाविरुद्ध मुद्दा दर्ता भएकोमा ११६४ अथवा ९१ प्रतिशत महिला हिंसाविरुद्धका छन् ।
विभिन्न आठवटा युरोपियन देशमा गरिएको क्रस कल्चरल तुलनात्मक अध्ययनअनुसार आत्महत्या प्रयास गरेका व्यक्तिले साझा रूपमा यौन हिंसाको अनुभव गरेको देखिएको थियो । यो विशेष गरेर महिलामा रहेको पाइएको थियो । आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको मानसिक समस्या भएको हुन्छ भनेर अध्ययनले भन्दै गर्दा र महिलामा मानसिक विचलनको प्रमुख कारण लैङ्गिक हिंसा हुनुले पनि माथिको तथ्याङ्क पुष्टि हुन्छ । यद्यपि हाम्रो परिवेशमा लैङ्गिक हिंसा र यसको मनोसामाजिक प्रभावबारे पर्याप्त अध्ययन अनुसन्धानको अभाव देखिन्छ । यसका लागि अध्ययन गर्न जरुरी छ । सामाजिक रूपमा हुने लाञ्छाना तथा विभेदको कारणले गर्दा प्रभावित व्यक्तिले आफ्नो पीडा व्यक्त गर्दैनन् फलस्वरूप मनोसामामाजिक समस्याको सिकार भइरहेका हुन्छन् । द हिन्दुमा सन् २०२० मा प्रकाशित एक लेखका अनुसार झन्डै ८७ प्रतिशत हिंसा प्रभावित महिला जो कहिल्यै सहयोग खोज्दैनन् र ७७ प्रतिशत प्रभावित महिला आफूलाई भएको घटनाबारे कसैलाई बताउँदैनन् ।
लैङ्गिक हिंसाको प्रभाव व्यक्तिलाई मात्र नभई परिवार, समाज तथा सम्पूर्ण राष्ट्रलाई पर्छ । कुनै पनि व्यक्तिले हिंसा गर्छ भने ऊ आफैँ पनि मनोसामाजिक समस्याबाट गुज्रिरहेको हुनसक्छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनाइन्छ । नेपाल सरकारले लैङ्गिक हिंसा प्रभावितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत मनोसामाजिक सहयोग गर्दै आइरहेको भए पनि सेवालाई प्रभावितको सहज पहुँचमा पु-याउन थप कार्य गर्नुपर्ने देखिन्छ ।