• ९ मंसिर २०८१, आइतबार

विद्यार्थी आन्दोलनको लक्ष्य

blog

नेपालको विद्यार्थी आन्दोलनलाई थोरै फर्केर हेर्दा वि.सं. २००४ सम्म फर्कनुपर्ने हुन्छ । ‘जयतु संस्कृत्’ नेपालको विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण कडी हो । यही आन्दोलनका नाममा तत्कालीन समयमा काठमाडौँमा रहेको तीनधारा संस्कृत पाठशाला अध्ययनरत विद्यार्थीले पहिलो पटक आन्दोलनको बिगुल फुकेका थिए । यो संस्थाले आज पनि तमाम विद्यार्थीका हक, अधिकार र आन्दोलनको प्रतिनिधित्व गर्दै आइरहेको छ ।

नेपालको संविधानको भाग २, मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको संवैधानिक व्यवस्था छ । उक्त प्रावधानअनुसार प्रत्येक नागरिकलाई राज्यबाट शैक्षिक पहुँच र आधारभूत तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । विडम्बना, संवैधानिक प्रावधान विपरीत आज शिक्षा दिन–प्रतिदिन महँगो हुँदै गइरहेको छ । निःशुल्क शिक्षामा व्यापारीकरण भइरहेको छ । निजी विद्यालय फस्टाउँदै गएका छन् भने सरकारको मोटो लगानी गरेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर ओरालो लागिरहेको छ । समाजमा सबै वर्गका लागि शिक्षाको समान पहुँच पु¥याउन निजी र सरकारी विद्यालयबीचको शैक्षिक खाडल अन्त्य गर्न संविधानप्रदत्त निःशुल्क शिक्षा कार्यान्वयनमा नेपाली विद्यार्थीको गौरवशाली सङ्गठन केन्द्रित हुनुपर्ने समय आएको छ । संविधानले नै समाजवाद उन्मुख राज्यप्रणालीको मार्ग तय गरेको छ । यस स्थितिमा शिक्षा प्रणालीलाई समाजवादी बाटोतर्फ अभिमुख गराउन विद्यार्थी आन्दोलनको झन् बढी खाँचो छ । 

विद्यार्थीहरू सङ्गठन महाधिवेशनका बेला शैक्षिक मुद्दा जोडतोडले उठाउने गरे पनि अन्य समय लुप्त रहने गरेको यथार्थता छ । अहिलेको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्न भूमिका खेलिरहेको छ । समाजको उच्चवर्ग र निम्नवर्गका विद्यार्थी अलग अलग प्रकारको शिक्षा लिन बाध्य छन् । आर्थिक हैसियत राम्रो भएकाले निजी स्कुल पढ्न पाउने, निम्नवर्गीय मानिसले कम गुणस्तर भएका विद्यालयमा पढ्नुपर्ने बाध्यता छ । यस स्थितिमा शिक्षा सबैका लागि समान हुनुपर्छ । रोजगारमुखी र आत्मनिर्भर बन्न प्रेरित गर्ने शैक्षिक प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि विद्यार्थी सङ्गठनले राज्यलाई दबाब दिनुपर्छ । यी विषयमा केन्द्रित रहेर विद्यार्थी रचनात्मक अभियानमा लाग्न जरुरी छ ।

विश्वविद्यालय सकारात्मक आलोचनाका केन्द्र बन्नु, स्वतन्त्र र निर्वाध रूपमा वैचारिक र राजनीतिक छलफल, सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणका बहस हुनु, शैक्षिक मुद्दाका बारेमा बहस र जोडदार उठान हुनु नै विश्वव्यापी मान्यता हो । यसको अगुवाइ विद्यार्थी सङ्गठनले गर्न सक्नुपर्छ । विद्यार्थी सङ्गठन र आन्दोलनको पहिलो मर्म शैक्षिक मुद्दामा जोडिएर शिक्षाको वैज्ञानिक रूपान्तरण गर्नु हो । सबैले पढ्न चाहुन्जेलसम्म सहजै शिक्षा प्राप्त गर्न पाउने अधिकारको सङ्घर्षलाई अगाडि बढाउनु हो । अब विद्यार्थी आन्दोलनले आफ्नो प्राथमिकता निर्धारण गरेर पार्टीका नेता रिझाउने हो कि, राजनीतिक भविष्य सुरक्षित गर्ने हो कि अथवा विद्यार्थी आन्दोलनको नेतृत्व गरेर शैक्षिक विकृतिको अन्त्य गर्ने हो प्रमुख मुद्दामा जोडिनुपर्छ ।

विगतका दिनमा विद्यार्थी आन्दोलनले शैक्षिक ऋण, गुणस्तरीय शिक्षा, शैक्षिक पुनर्संरचना, व्यावसायिक र प्राविधिक शिक्षा, प्राज्ञिक मर्यादा, जवाफदेही स्ववियुलगायतका शैक्षिक मुद्दा उठाउँदै नेपाली विद्यार्थीको हक हित र अधिकारलाई सुनिश्चित गर्न सरकारसमक्ष आवाज उठाउँदै आइरहेको छ । अहिलेको नयाँ उदाउँदै गरेको युवा पुस्तालाई हेर्दा त्यो पुस्ता कुनै न कुनै रूपमा राजनीतिप्रति निरपेक्ष देखिने गरेको छ । अनि विद्यार्थी नेताहरूले जसरी भाषण गरिरहेका सुनिन्छन् । आमविद्यार्थीलाई त्यो कुरा जचेको छैन । अर्थात् उनीहरूलाई विद्यार्थी राजनीतिको दलीय गतिविधिमुखी राजनीतिक एजेन्डा नै ठीक लागेको छैन । अहिले विश्वविद्यालय शिक्षामा भइरहेको राजनीतीकरण, पठित तन्नेरी पुस्ताले मन पराएको छैन । विश्वविद्यालयमा शिक्षा, अध्ययन र अनुसन्धानकै विषयमा पैरवी हुनुपर्ने हो न कि दलीय गतिविधि अनि दलीय आग्रहका साथ अगाडि सारिएका आन्दोलनका कार्यक्रम । तर विद्यार्थी सङ्गठनले त्यसरी आफूलाई रूपान्तरण गर्दै समयसापेक्ष रूपमा आन्दोलनलाई रचनात्मकता दिन सकेका छैनन् । 

परिणामस्वरूप विद्यार्थी आन्दोलन अहिले शैक्षिक मागतिर भन्दा दलीय राजनीतितिरै लहसिएको छ । हिजो कुनै बेला त्यो आवश्यक पनि थियो होला । तर आज राजनीतिक दलका काम गर्न दल नै काफी छन् भने विद्यार्थीले किन दलीय मुद्दा समात्ने ? विद्यार्थी आन्दोलनका आजका माग हुन् शैक्षिक गुणस्तर कायम गर्ने विषय । शिक्षा नीतिमा फेरबदलका विषय, शिक्षा र शिक्षालयलाई सुधार्ने एजेन्डा, शिक्षालयको चुस्त व्यवस्थापनका एजेन्डा, विद्यालयलाई पढाइको कारखाना होइन, रमणीय सिकाइ केन्द्र बनाउने विषय, सिकाउनेको दायित्वका विषय, विश्वविद्यालयको पुनर्संरचना गर्ने एजेन्डा, अध्ययन अनुसन्धानका कुरा, सिकाउने पद्धति र प्रविधिका कुरा, प्राध्यापकको नियुक्तिमा हुने अपारदर्शिता र अनियमितताको अन्त्यका विषयवस्तु, प्राज्ञिक क्षेत्रमा बढ्दै गएको राजनीतीकरणको अन्त्य, विश्वविद्यालयमा मौलाउँदै गरेको राजनीतिक भागबण्डाको अन्त्य आदि छन् ।

शिक्षामा दलालीकरणको अन्त्य प्राथमिकता दिनुपर्छ । यो सँगै आर्थिक बेथिति डरलाग्दो समस्याको रूपमा देखापरेको छ । हरेक शैक्षिक सत्र सुरु हुन्छ, विद्यालयले शुल्क बढाउँछन् । विद्यार्थी सङ्गठनले ताला लगाउँछन्, आन्दोलन गर्छन् तर सम्झौता हुन्छ । शुल्क उही बढेको नै कायम हुन्छ । 

शिक्षाको व्यापार गर्ने र अकुत कमाउधन्दा गर्ने उद्देश्य अनुरूप नै विदेशी विद्यालय र विश्वविद्यालयमा अध्ययन गराउने नाउँमा व्यापक ब्रह्मलुट मच्चाइएको छ । यसलाई तुरुन्त रोक्ने र प्रतिबन्ध नै लगाउने आन्दोलन छेड्नु आजको विद्यार्थी सङ्गठनको मुख्य दायित्व पनि हो । यही दायित्वलाई हामीले पूरा गरेर मात्र विघटनको भीरबाट झर्नै आँटेको विद्यार्थी आन्दोलनको गाडीलाई नयाँ गन्तव्यमा पु¥याउन सकिन्छ । त्यसका लागि सम्पूर्ण विद्यार्थी सङ्गठन एउटै मञ्चमा बसेर साझा एजेन्डाहरू तयार गरी लडे मात्र आजको विद्यार्थी आन्दोलनले विजय हासिल गर्नेछ । अन्यथा अबको नेपालको विद्यार्थी आन्दोलनको औचित्य नरहन सक्छ ।

कुनै बेला यस्तो थियो, विद्यार्थी आन्दोलन निकै महìवपूर्ण हुन्थ्यो अथवा विद्यार्थीलाई सङ्गठित र आन्दोलित बनाइदिने विचार र एजेन्डाको नेतृत्व सङ्गठनले गथ्र्यो । ती आन्दोलनले नेपालको सामाजिक, राजनीतिक परिवर्तनमा निकै महìवपूर्ण र निर्णायक भूमिका खेल्यो । ती बेलामा यदि क्याम्पस, सडक, चोक र गल्लीमा उभिएर तत्कालीन सत्ताको प्रतिगामी कुरूपता विरुद्ध चुनौती खडा गरिरहेको, धावा बोलिरहेको वा त्यसको विरुद्ध बहस गरिरहेको कोही युवा–विद्यार्थी हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई फेरि नयाँ शिराबाट उठाउन एउटा नयाँ विद्यार्थी आन्दोलनको छाल हान्दै नयाँ तरङ्ग पैदा गर्न आवश्यक छ । यही आन्दोलनको नयाँ छाल आजको विद्यार्थी आन्दोलनको अपरिहार्यता हो ।

हामीभित्र पदको लुछाचुँडी, एजेन्डाहीन स्थायी गुटबन्दी, गुण्डागर्दी आदि इत्यादि तमाम विकृति र विसङ्गति चरमोत्कर्षमा पुगेको छ । सङ्गठन वास्तविक विद्यार्थीको पहुँचबाट धेरै टाढा पुगेको छ, शैक्षिक संस्था र विद्यार्थीको समस्या र दुःखबाट बेखबर छ अनि गैरविद्यार्थीको मल्ल युद्धको थलो बनेको छ आजका सङ्गठन । आज विश्वविद्यालय तहसनहस छन्, विद्यार्थी सरकारी स्कुल–क्याम्पस छोडेर गल्ली–गल्लीका प्राइभेट स्कुल, क्याम्पसतिर दौडेका छन्, । अध्ययनशील–राम्रो अङ्क ल्याउने विद्यार्थीहरू विदेशिने क्रम बढ्दो छ । बौद्धिक चोरीका आरोप लागेका र भ्रष्ट विश्वविद्यालयमा पदाधिकारी नियुक्ति भइरहेका छन् आदि इत्यादि ।

शिक्षा क्षेत्रमा जुन मात्रामा परिवर्तन हुनुपर्ने हो त्यो भएन । अब हामी विद्यार्थीको ‘ट्रेन्ड’ परिवर्तन गर्न चाहन्छौँ । कार्यकर्ता उत्पादन मात्र विद्यार्थीको भूमिका होइन । राष्ट्रको समृद्धिमा इँटा थप्ने जिम्मा अब विद्यार्थीको हो । विद्यार्थी पार्टीको ‘भ¥याङ’ मात्र हो भन्ने मान्यतालाई बदलेर ‘समृद्धिको आधार’ हो भन्ने स्थापित गराउनुपर्छ । सङ्गठनभित्र पदको लुछाचुँडी, एजेन्डाहीन स्थायी गुटबन्दी, गुण्डागर्दी आदि इत्यादि तमाम विकृति र विसङ्गति चरमोत्कर्षमा पुगेको छ । सङ्गठन वास्तविक विद्यार्थीको पहुँचबाट धेरै टाढा पुगेको छ, शैक्षिक संस्था र विद्यार्थीको समस्या र दुःखबाट बेखबर छ ।

हामीले अब सार्वजनिक शिक्षा सुधारमा अभियान केन्द्रित गर्नुपर्नेछ । सार्वजनिक शिक्षा भनेको आजका विद्यार्थी नेता उत्पादन भएका सरकारी विश्वविद्यालय, विद्यालय हुन् । जुन विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी नेता उत्पादन भए, विद्यार्थी आन्दोलनको जीवन्तता जहाँ छ, त्यही विश्वविद्यालय र विद्यालय आज बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थी सङ्ख्या क्रमशः शून्यतिर झरिरहेको छ । भौतिक पूर्वाधार जीर्ण हुँदैछ । व्यवस्थापन थिलथिलो भएको छ । मान्छेलाई हिजोका त्यस्ता विद्यालय र विश्वविद्यालयमा राम्रो पढाइ हुन्छ भन्ने विश्वास क्रमशः टुट्दै गएको छ ।