• ९ मंसिर २०८१, आइतबार

सिनेमा हलमा दर्शक बढ्दै

blog

सिराज खान 

नेपालगञ्ज, फागुन ४ गते । कोभिडका कारण दुई वर्ष धराशायी भएको सिनेमा हलको व्यापारमा सुधार देखिएको छ। केही समययता नेपालगञ्जका हलहरूमा ठूलो सङ्ख्यामा दर्शक देखिन थालेपछि व्यापार लयमा फर्किन थालेको हो। नेपालगञ्जस्थित बागेश्वरी क्यूएफएक्स सिनेमा हलमा पछिल्लो समय ठूलो सङ्ख्याका दर्शक चलचित्र हेर्न आउने गरेका सिनेमा हल व्यवस्थापनले जनाएको छ। 

दुई वर्षसम्म कोभिड महामारीका कारण सिनेमा हल सुनसान भएको र सञ्चालनमा आए पनि दर्शकको उपस्थिति कम रहेकोमा हाल केही समयदेखि दर्शकको सङ्ख्या ह्वात्तै बढ्दा आफूहरू उत्साहित भएको बागेश्वरी क्यूएफएक्स सिनेमा हलका सञ्चालक राजेश श्रेष्ठले बताउनुभयो। 

उहाँले अहिले सञ्चालन भइरहेको हिन्दी सिनेमा ‘पठान’ले धेरैपछि ठूलो सङ्ख्यामा दर्शक तान्न सफल भएको बताउनुभयो। उहाँले २५ जनवरीबाट प्रदर्शनमा आएको यो चलचित्र हेर्न हालसम्म १८ हजारभन्दा बढी दर्शक सिनेमा हलमा पुगेको बताउनुभयो। 

बागेश्वरी क्यूएफएक्सका प्रबन्धक सञ्जीव शाक्यले यसअघि दशँैको समयमा प्रदर्शन गरिएको ‘प्रेमगीत–३’ सबैभन्दा बढी दर्शक तान्न सफल भएकोमा हाल आएर ‘पठान’ले धेरै राम्रो सफलता पाएको बताउनुभयो। उहाँले ‘पठान’ र ‘प्रेमगीत–३’बाहेक ‘दुई नम्बरी’, ‘महापुरुष’ र ‘अवतार–२’ले पनि उल्लेख्य मात्रामा दर्शकलाई सिनेमा हलसम्म तानेको बताउनुभयो। 

सिनेमा हलमा दर्शकको राम्रो उपस्थितिले हिन्दी चलचित्रसँगै नेपाली चलचित्रप्रति पनि दर्शकको माया बढ्दै गएको प्रमाणित गरेको प्रबन्धक शाक्यको भनाइ छ।