• २५ वैशाख २०८१, मङ्गलबार

कोहलपुर कार्यालयको अनुगमन

गोरखापत्र नेपाली जनताको आवश्यकता र ढुकढुकी हो : सञ्चार मन्त्री शर्मा

blog

निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, फागुन २ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र नेपालको इतिहास मात्र नभएर नेपाली जनताको आवश्यकता र ढुकढुकी भएको बताउनुभएको छ। 

बाँकेको कोहलपुरस्थित गोरखापत्र संस्थान पश्चिम क्षेत्र कार्यालयको मंगलबार स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री शर्माले गोरखापत्र राष्ट्रको पत्रिका र आवाज भएकाले यसलाई देशको हरेक क्षेत्रका जनतासम्म पुराउन पर्नेमा जोड दिनुभयो। 

उहाँले गोरखापत्रले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै आफ्नो गरिमालाई जोगाएर अगाडि बढ्नुपर्ने चुनौती रहेकाले सो बहन गर्न सबैले आ–आफ्नो ठाउँबाट आवश्यक योगदान गर्नुपर्ने बताउनुभयो। 

गोरखापत्रले उत्पीडित र पछाडि परेका जनताको समस्या र आवश्यकतालाई राज्यसम्म पुराउनु पर्नेमा जोड दिंदै उहाँले यसले राज्य र जनता दुबैको आवाजको प्रतिनिधित्व गरिरहेको छ भन्नुभयाे । 

सरकारले गोरखापत्रलगायत अन्य सरकारी सञ्चार माध्यमलाई सशक्त बनाउन कुनै पनि कसर बाँकी नराख्ने जनाउँदै मन्त्री शर्माले त्यसका लागि आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने बताउनुभयो।

गोरखापत्रको कोहलपुर कार्यालयको निरीक्षण गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा। 

कोहलपुरमा स्थापना गरिएको गोरखापत्रको प्रेस लगायतको संरचना लुम्बिनी प्रदेशका लागि मात्र नभई समग्र पश्चिम नेपालका लागि भएकाले सोही बमोजिम यसको सदुपयोग गर्नुपर्नेमा उहाँको विशेष जोड दिनुभयो।

कोहलपुर प्रकाशनको शुभारम्भसँगै समग्र पश्चिम नेपालमा पत्रिकाको पहुँच सहज भएकोमा खुशी व्यक्त गर्दै मन्त्री शर्माले अब यसलाई कसरी बढी भन्दा बढी जनताको हातमा पुर्याउने भन्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो। 

सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पछिल्लो समय गोरखापत्रको आर्थिक प्रगतिसँगै भौतिक र अन्य प्रगति  राम्राे भएको बताउनुभयो। संस्थानलाई सक्षम र सबल बनाउन व्यवस्थापन क्रियाशील भएर लागेको अध्यक्ष सुवेदीले उल्लेख गर्नुभयाे ।  

कार्यकारी अध्यक्ष सुवेदीले आफू नियुक्त भएर आएको बेला कोहलपुर कार्यालयको अवस्था लथालिंग रहेको जनाउँदै सामूहिक प्रयासमा अहिले यो अवस्था आएको हाे भन्नुभयो। गोरखापत्रको इतिहासलाई जीवन्त राख्दै यसलाई समग्र राष्ट्रको पत्रिका बनाउन सफल भएको उहाँको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानका प्रकाशनहरूले व्यावसायिक प्रतिस्पर्धाका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने र समाज रुपान्तरणको प्रक्रियालाई पनि आत्मसात गरेर जानुपर्ने आवश्यकता औंल्याउनु भयो । 

उहाँले पहिलेको तुलनामा हाल आएर संस्थानले सबै क्षेत्रमा राम्रो प्रगति गरेको चर्चा गर्नुभयो । 

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीका स्वकीय सचिव हेमराज शर्मा, गोरखापत्रको प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुषाल, गोरखापत्र संस्थान पश्चिम क्षेत्र कार्यालय कोहलपुरका निमित्त प्रमुख रामबहादुर शाहलगायत उपस्थित हुनुहुन्थ्यो। 

निरीक्षणका क्रममा संस्थानको कार्यालय, प्रेस र अन्य उपकरणका बारेमा संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले मन्त्री शर्मालाई जानकारी गराउनुभएको थियो। मन्त्री शर्माले कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्रको पनि मंगलबार निरीक्षण गर्नुभएको छ।