• २२ चैत २०८२, आइतबार

कांग्रेसको जरा अभियान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २२ गते । नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी एकमहिने जरा अभियान सञ्चालन गरिने भएको हो । कांग्रेसले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिका लागि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

महामन्त्री पौडेलले २०८३ वैशाख १ गतेदेखि एक महिने जरा अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले अभियान अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको साङ्गठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवासँग र पार्टीबाहिरका शुभेच्छुकसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन गर्ने तथा स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको छ ।” कार्यक्रममा युवा नेता प्रताप पौडेलले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पारित गरेको विधानका सम्बन्धमा, खटिने प्रतिनिधिको कार्यविधि र प्राविधिक विषयका पक्षमा जानकारी गराउनुभयो । 

महाधिवेशनको कार्यतालिका 

कांग्रेसले केन्द्रीय प्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गरेसँगै १५ औँ महाधिवेशनको कार्यतालिका अनुसारको काम सुरु भएको छ । महामन्त्री पौडेलले महाधिवेशनको कार्यतालिका अनुसार जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएको बताउनुभयो । उहाँले जिल्लामार्फत छ हजार ७४३ वटै वडामा प्रतिनिधि खटाइने र २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा सदस्यता अद्यावधिक गरिने बताउनुभयो । उहाँले वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयम् उपस्थित भई आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने र यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यले मात्र कांग्रेस आइडी प्राप्त गर्ने र १५ औँ महाधिवेशनमा भाग लिन पाउने बताउनुभयो ।