• १३ साउन २०८१, आइतबार

परराष्ट्रमन्त्रीसँग भारतीय विदेशसचिवको भेट

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न दक्षिण एसिया स्तरको संयन्त्र बनाउनेमा जोड

blog

परराष्ट्रमन्त्री डा।बिमला राई पौड्यालसँग भेटवार्ता गर्नुहुँदै भारतीय विदेशसचिव विनमोहन क्वात्रा । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन १ गते । परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा विकासका सहायताको विषयमा कुराकानी भएको मन्त्री पौड्यालले बताउनुभयो । उहाँले भेटमा कनेक्टीभटीअन्तर्गत हवाई यात्राको कनेक्टिभिटी विषयमा पनि कुराकानी भएको जानकारी दिनुभयो । मन्त्री पौड्यालले एयरपोर्ट बनिरहेको र त्यसलाई पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।

उहाँले विमानस्थलका रुटहरू खोल्ने र ट्रेट ब्यारियरका बारेमा पनि छलफल भएको जानकारी दिनुभयो । मन्त्री पौड्यालका अनुसार भारतबाट सामान आउँदा थाहा नभईकन सामानहरू रोकिने समस्या आएकाले त्यसका बारेमा पनि छलफल भएको छ । विद्युतलाई अझै बढी उत्पादन र विद्युत बिक्रीलाई बढाउने कुरालगायतका विषयमा छलफल भएको उहाँको भनाइ छ ।

मन्त्री पौड्यालले भन्नुभयो, ‘‘विद्युत सम्झौता गरेका छौँ, त्यसमा उत्पादन भइरहेको विद्युत बिक्री गरिरहेका छौँ, त्यसलाई कसरी अझै बढी र बलियो बनाउने भन्नेकुरा छन् । द्विपक्षीय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र कतिपय सन्दर्भमा हामीले सम्झौता गरिसकेको कुराहरू र सफल रूपमा कार्यान्वयन गर्न नसकिरहेका कुराहरूलाई कसरी सुचारु गर्ने र लगानीको वातावरण कसरी बनाउने ? जलवायु परिवर्तनबाट भारत र हामी जोखिममा परेका छौँ, दक्षिण एसिया स्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायु सम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्नेबारेमा त्यो सम्बन्धमा विशेष जोड दिएका छौँ, धेरै भइरहेका विकासका आयोजनालाई कसरी प्रभावकारी र सफल बनाउने भन्नेमा छलफलभयो ।’’

भेटमा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र सम्झौता गरिसकेको कुराहरू सफल रूपमा कार्यान्वयन गर्ने बारेमा मन्त्री पौड्याल र भारतीय विदेशसचिव क्वात्राबीच छलफल भएको छ । नेपालमा लगानीको वातावरण बनाउने बारेमा पनि छलफल भएको छ ।

सचिव क्वात्रासँगको भेटमा जलवायु परिवर्तनबाट परेको असरका बारेमा पनि छलफल भएको बताउनुभयो । जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि दक्षिण एसिया स्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायुसम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्नेबारेमा आफूले विशेष जोड दिएको उहाँको भनाइ छ । मन्त्री पौड्यालले भेटमा छिमेकीसँगको सम्बन्ध र दौत्य सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको बताउनुभयो ।