• ८ कात्तिक २०८१, बिहिबार

भारतीय विदेशसचिव क्वात्रा काठमाडौंमा

blog

दुईदिने नेपाल भ्रमणमा सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएको भारतीय विदेशसचिव विनयमोहन क्वात्रा । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन १ गते । भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आउनुभएको छ । दुईदिने नेपाल भ्रमणमा उहाँ आज (सोमबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएको हो ।

उहाँलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति थियो ।  सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका उहाँले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ ।


आज सोमबार र मङ्गलबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्डदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । सचिव क्वात्रा आज नै नेपाल—भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनुहुनेछ । सो छलफलपछि परराष्ट्रसचिव पौडेलले उहाँको सम्मानमा आयोजित दिवा खाजा कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । दिवा खाजापछि भारतीय विदेशसचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुहुनेछ ।


आजै नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । विदेशसचिव क्वात्राले मङ्गलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।