• ९ मंसिर २०८१, आइतबार

धनगढी आयल निगमको भण्डारण क्षमता बढेन

blog

धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा रहेको भण्डारण गृह । तस्बिर : गोरखापत्र

प्रकाशविक्रम शाह

धनगढी, फागुन १ गते । अत्यावश्यक वस्तु ९० दिनसम्म पुग्ने गरेर भण्डारण हुनु पर्ने मान्यता छ । तर निक्कै महत्वपूर्ण मानिने धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयसँग बढीमा पाँच दिनसम्म वितरण गर्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गर्ने क्षमता रहेको पाइएको छ ।

धनगढीको मुख्य बजारमा पेट्रोलियम भण्डारण गृह छ जग्गा पनि आवश्यकताभन्दा धेरै कम डेढ बिघा मात्र छ त्यसैले ९० दिनसम्म पुग्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गृह बनाउने गरेर काम गर्न सकेकाे छैन प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपानेले बताउनुभयो ।

खास गरेर नाकाबन्दी, प्राकृतिक विपत्तिलगायत समस्याको सामना गर्नका लागि ९० दिनसम्म अत्यावश्यक वस्तु भण्डारण हुनुपर्ने मान्यता छ । अर्कोतिर बढ्दो जनसङ्ख्यालाई ध्यान दिएर पनि भण्डारण क्षमता बढाउनु आवश्यक रहेको उपभोक्ता हकहित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुङ्गेल बताउनुहुन्छ ।

प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपानेका अनुसार कैलालीकै गोदावरी नगरपालिका खुटिया नदी नजिकैको एक सामुदायिक वनमा १२ बिघामा आयल डिपो बनाउने कुरा भएको छ तर त्यो जग्गा प्राप्त गर्न कठिनाइ भएको छ ।

त्यो जग्गा पाउँदा ९० दिनभन्दा बढीका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्थ्यो प्रमुख न्यौपानेले भन्नुभयो, तर उद्योग, वाणिज्य तथा आपूर्ति र वन तथा वातावरण मन्त्रालयमा द्रुतगतिमा जग्गा प्राप्तिको काम अगाडि बढ्न सकेको छैन ।

आयल निगमसँग अहिले ६३ हजार लिटर हवाइ इन्धन, १६ लाख ३५ हजार लिटर डिजल, आठ लाख ३० हजार पेट्रोल, ७७ हजार लिटर मट्टितेल भण्डारण गर्ने क्षमता छ । त्यो पेट्रोलियम पदार्थ सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ८७ पेट्रोल पम्पबाट वितरण हुँदै आएको छ ।

तीमध्ये सबैभन्दा बढी कैलालीमा ५३ वटा पेट्रोल पम्प छन् । धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले गतवर्ष साढे १६ अब रुपियाँको कारोबार गरेको थियो ।

समयानुकूल सुधार हुँदै

धनगढीमा सधैं पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर राख्ने ठाउँ बारे विवाद हुँदै आएको थियो तर त्यो समस्या भने सभाधान भएको सो कार्यालयले जनाएको छ । पहिले आयल निगम अगाडिको सडकमा ट्याङ्कर राख्दा जोखिम पनि थियो, सडकमा अरु सवारी साधनलाई पनि आवतजावत गर्न गाह्रो थियो अहिले नेपाल खाद्य व्यापार कम्पनी लिमिटेडको भन्सार रोडमा रहेको जमिनमा ती ट्याङ्कर राख्ने व्यवस्था मिलाएको प्रादेशिक प्रमुख न्यौपानेले बताउनुभयो ।

सुदूरपश्चिममा ८० वटा ट्याङ्कर सञ्चालनमा छन् । प्रमुख न्यौपानेका अनुसार आगलागी जस्ता जोखिम ट्याङ्करबाटै बढी हुने भएकोले ट्याङ्करको अवस्था बारे अनुगमन गर्ने र आवश्यक मर्मत सम्भारका लागि सुझाव दिइने व्यववस्था मिलाइएको छ ।

पहिले निगमको पेट्रोलियम पदार्थ भण्डारण गर्ने ठाउँमा आगलागी नियन्त्रण गर्ने फम थिएन अहिले त्यसको पनि व्यवस्था रहेको सो कार्यालयले जनाएको छ। यद्यपि नयाँ नयाँ प्रविधि, फायर डिक्टेटर, स्मोक डिक्टेटरको पनि आवश्यकता रहेको निगमका प्रादेशिक प्रमुख न्यौपाने बताउनुभयो । फायर डिक्टेटरले आफैँ आगो निभाउँछ भने स्मोक डिक्टेटरले चुरोट जस्ता धूमपान गरिने चीजहरु बाल्दा पनि थाहा पाएर साइरन बजाउँछ ।

उहाँका अनुसार आगो निभाउन प्रभावकारी मानिने फाेमसहितको दमकल दिनका लागि केन्द्रमा माग गरिएको छ । निगमसँग अहिले सात जनाको फायर फाइटिङ टोली र फाेमसहितको वाटर हाइड्रेड छ । 

यस्तै गरेर डिलरहरुले भुक्तानी गर्नका लागि बैंक पुग्नुपर्ने झन्झट पनि निगमले गत वर्षदेखि अन्त्य गरेको छ । अब अनलाइनबाटै कनेक्ट आइपीएसबाट भुक्तानी गर्न सकिन्छ, सो जानकारी निगमका कहाँ पुग्छ अनि मात्र पेट्रोलियम पदार्थ पठाइन्छ सो निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको विक्री घट्दै

नेपाल आयल निगमको प्रादेशिक कार्यालय धनगढीका अनुसार गतवर्षको तुलनामा पेट्रोलियम पदार्थको विक्री घटेको छ । निगमका प्रादेशिक प्रमुख न्यौपानेले गतवर्षको तुलनामा पेट्रोलको विक्री १५ प्रतिशतले र डिजेल ४३ प्रतिशतले घटेको बताउनुभयो ।

उहाँले आर्थिक मन्दीले भौतिक पूर्वाधार निर्माणमा कमी आएका कारण पेट्रोलियम पदार्थको विक्री घटेको बताउनुभयो । पेट्रोलियम पद्धार्थको विक्रेता डिलरका केही सञ्चालकका अनुसार भने विगतमा भारतमा पेट्रोलियम पदार्थको मूल्य कम रहेकोले खुला सिमानाको फाइदा उठाएर नेपालबाट पेट्रोलियम पदार्थ लुकिछिपी भारततर्फ लैजाने गरिएको थियो । तर यसपटक नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी भएकोले विक्री घटेको हो ।

अघिल्लो वर्ष नेपालको तुलनामा भारतमा २५ रुपियाँसम्म पेट्रोलियम पदार्थको मूल्य बढी थियो भने यसपटक नेपालमा भारतको तुलनामा १५ रुपियाँ बढी छ । सुदूरपश्चिममा अहिले दैनिक एक लाख लिटर पेट्रोल र दुई लाख लिटर डिजल विक्री हुने गरेको छ ।