• १३ असोज २०८१, आइतबार

कुकुरको टोकाइले बृद्धको ज्यान गयो

blog

लीलाराज खड्का

बिर्तामोड, माघ २९ गते । झापाको कनकाई नगरपालिका –२ सुकेडाँगीमा सामुदायिक सडकमा छाडिएका कुकुरको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ । सडक कुकुरको टोकाइबाट स्थानीय ६३ वर्षीय अभिचन्द्र दाहालको मृत्यु भएको हो । 

दाहाललाई गत मङ्सिर अन्तिम साता कुकुरले टोकेर घाइते बनाएका थिए । सामान्य घाइते बनेका दाहाल घरेलु उपचार गर्दै आउनुभएको थियो । पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न थालेपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको स्थानीय इन्द्रप्रसाद भट्टराईले बताउनुभयो । 

उपचारमा लैजाँदा अस्पतालले रेबिज भएको बताएको थियो । केही दिनको उपचारपछि घरमै बस्दै आउनुभएका दाहालको आज आफ्नै निवासमा मृत्यु भएको छ ।  

कनकाई नगरपालिका क्षेत्रमा सामुदायिक कुकुरले बाटो हिँड्ने बटुवा तथा पाल्तु जनावरलाई टोकेर हैरानी दिनेगरेको स्थानीय गणेश सुवेदीले बताउनुभयो । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले सामुदायिक कुकुरलाई सोझै मार्न नपाइने कानुनी प्रावधान रहेको बताउनुभयो । सामुदायिक कुकुर नियन्त्रणका लागि हरेक वर्ष नगरपालिकाले विभिन्न सङ्घसंस्थाको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजको भ्याक्सिन लगाउने काम गरिरहेको जानकारी दिनुभयो ।