बैतडी समाचारदाता
बैतडी, माघ २९ गते । स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको सेवासुविधा रोक्ने गरेको छ तर स्वास्थ्य संस्थाको प्रसूतिसेवा नौ महिनादेखि बन्द गरेको पाइएको छ। बैतडीको दशरथचन्द नगरपालिका–११, नागार्जुन स्वास्थ्य चौकीको प्रसूतिसेवा बन्द हुँदा गर्भवती महिला समस्यामा परेका छन्।
शुक्रबार दशरथचन्द नगरपालिका–११, नागार्जुनमा सुत्केरी बेथा लागेकी महिला प्रसूति हुन जाँदा सेवा बन्द थियो। नागार्जुन स्वास्थ्य चौकीमा प्रसूतिसेवा बन्द भएको थाहा पाएपछि सुत्केरीलाई फर्काएर दशरथचन्द नगरपालिका–९, मा रहेको जोशी बुङ्गा स्वास्थ्य चौकी जानु परेको स्थानीय नरी पन्तले बताउनुभयो।
दशरथचन्द नगरपालिका–११, को नागार्जुन स्वास्थ्य चौकी मात्रै होइन, दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीमा पनि प्रसूतिसेवा बन्द भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “अधिकांश स्वास्थ्य संस्थामा प्रसूतिसेवा बन्द छ। चालू रहेको दशरथचन्द नगरपालिका–२, देहिमाडौँ स्वास्थ्य चौकीले कार्यालय समय (१० देखि ५ बजेसम्म) मात्रै प्रसूति सेवा दिने गरेको गुनासो आएको छ। समय तोकेर कार्यालय समयमै सुत्केरी बेथा लाग्ने होइन।
स्थानीय सरकारको कमजोरीका कारण यस्तो अवस्था आएको हो। स्वास्थ्य चौकी व्यवस्थापनको सबै जिम्मेवारी स्थानीय सरकारको भएकाले स्वास्थ्य कार्यालयले चाहेर पनि केही गर्न सक्दैन।” नागार्जुन स्वास्थ्य चौकीमा प्रसूतिसेवा दिने दुई जना अनमी भए पनि उहाँहरू दुवै जनाको सानो बच्चा भएकाले प्रसूतिसेवा अनियमित भएको स्वास्थ्य चौकी प्रमुख गोपीकृष्ण भण्डारीले बताउनुभयो।
प्रसूतिसेवा सञ्चालन गर्न नगरपालिकालाई जनशक्ति पठाइदिन अनुरोध गरे पनि हालसम्म जनशक्ति व्यवस्थापन नभएको उहाँले बताउनुभयो। स्वास्थ्य चौकीमा चौबीस घण्टा प्रसूतिसेवा सञ्चालनका लागि जनशक्तिको अभाव रहेकाले पटक–पटक गुनासो गर्दा पनि नगरपालिकाले चासो नदिएको उहाँले बताउनुभयो।
प्रसूतिसेवाजस्तो अति संवेदनशील विषयमा स्थानीय सरकार उदासीन बनेको स्थानीयको गुनासो छ। स्थानीय सरकारले एकातिर सुरक्षित सुत्केरीको नारा अघि सारेर घरमा सुत्केरी हुनेको सेवासुविधा बन्द गरेको छ भने अर्कोतर्फ प्रसूतिसेवा नियमित गर्न नसकेको सर्वसाधारणको गुनासो छ। प्रसूतिसेवा बन्द भएको विषयमा दशरथचन्द नगरपालिका–११, का वडाध्यक्ष जयदत्त पन्तले जनशक्ति व्यवस्थापनको विषयमा नगरपालिका गएर समस्यालाई समाधानका लागि पहल गर्ने बताउनुभयो।
स्थानीय सरकारलाई स्वास्थ्य संस्था सञ्चालन गर्ने अधिकार दिए पनि कागजमा मात्रै राम्रो प्रतिवेदन आउने तर व्यवहारमा सेवाग्राहीले अधिकांश ठाउँमा सिटामोल पनि नपाएको गुनासो आउने गरेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ।