शिक्षा आदर्श र कर्मशील मानव जीवन तयार गर्ने साधन हो । शिक्षा विकास–निर्माणको पूर्वाधार मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, वैज्ञानिकलगायतका क्षेत्रको विकासको जग हो । आजका विकसित राष्ट्रले शिक्षालाई व्यावहारिक, वैज्ञानिक, सिर्जनशील, अनुसन्धानमूलक बनाउन सकेकाले उनीहरू विकासको सोपान चढ्न सफल भए । आर्थिक, प्रशासनिक, कृषि, विज्ञान, प्रविधि, राजनीतिक लगायतका क्षेत्रमा विकास विकास गरे । प्रकृतिमा रहेका खानी खजानाहरूको खोज, अनुसन्धान, उत्खनन एवं उपयोग गरे । हाम्रो देशको सन्दर्भमा यसो हुन सकेको छैन ।
शिक्षालाई गुणस्तरीय बनाउन नसकेको तथ्यलाई राज्यले पनि स्वीकार गरेको छ । यसर्थ शिक्षाको समग्र क्षेत्रलाई सुधार गर्न राज्यको एकल प्रयत्न पर्याप्त नभएकाले राज्य, थिङ्कट्याङ्क, बुद्धिजीवी, अभिभावक एवं शिक्षक वर्गको प्रभावकारी भूमिका आवश्यक ठानिन्छ । नेपालमा आधुनिक शिक्षाको सुरुवात २००७ साल पछाडि भएको हो । तत्पश्चात् राज्यले शिक्षालाई समयसापेक्ष बनाउन विभिन्न कालखण्डमा प्रयत्न नगरेको होइन । शिक्षाको सुधारका लागि राज्यले विभिन्न कालखण्डमा आयोगहरू गठन ग-यो । गठन गरिएका आयोगले राय, सुझावसहितका प्रतिवेदन तयार गरे । कतिपय राय, सुझाव लागू पनि भए । तथापि शिक्षा समयसापेक्ष हुन सकेन ।
त्यसो त शिक्षा क्षेत्रमा सुधार नै भएन भन्नु न्यायोचित हुँदैन । देशमा हजारौँको सङ्ख्यामा विद्यालय सञ्चालनमा छन् । दर्जनौँ विश्वविद्यालय स्थापना भएका छन् । राज्यले शिक्षामा ठूलो लगानी गरेको छ । कस्तो शिक्षा प्रदान गरी कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यले लागू गरेको शिक्षा नीति, तहगत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, मूल्याङ्कन पद्धतिलगायतका शैक्षिक गतिविधिले निर्दिष्ट गर्दछन् । अहिलेको शिक्षा प्रणालीले उत्पादनमुखी एवं दक्ष जनशक्ति उत्पादन गर्न नसकेको सर्वविदितै छ । यो अवस्थालाई बदलेर शिक्षालयलाई समयसापेक्ष गुणस्तरीय बनाउनु राज्यको प्रमुख दायित्व हो ।
अहिले शिक्षित जनशक्तिलाई आपूmले पढेको सङ्काय वा विषयबाट प्राप्त सिकाइ उपलब्धिले आयआर्जनमा सहयोग गर्न सकेको छैन । स्वरोजगारमैत्री बनाउन सकेको छैन । नेपाली समाज गरिबी, अभाव एवं शैक्षिक बेरोजगारीले थलिएको छ । शिक्षाविद् चाल्र्स रङ्गेलले शिक्षाले मानिसलाई अज्ञानता र गरिबीसँग लड्न योग्य बनाउँछ भनेका छन् । उनको भनाइलाई आधार मान्ने हो भने राज्यले नागरिकलाई प्रदान गरेको शिक्षाले न त सामाजिक रूपान्तरण हुन सकेको छ न त नागरिकलाई गरिबीसँग लड्न सक्षम बनाएको छ । बरु विश्वविद्यालयसम्मको प्रमाणपत्रले स्वदेशमा नै आयआर्जनका बाटा र पाटा सिर्जना गर्न नसकेपछि शिक्षित युवापुस्ता रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा जान बाध्य भएको अवस्था छ ।
हाम्रो देशमा अथाह प्रकृतिक स्रोत र साधन छन् । जल, जमिन, जडीबुटी, जङ्गल, पेट्रोलियम पदार्थ, सुन, चाँदी, हीरा, मोती, युरेनियमलगायतका खानी तथा खजाना पर्याप्त मात्रामा छन् । पानी छ । खानेपानी र सिँचाइको अभाव छ । पर्याप्त बिजुलीको उत्पादन हुन सकेको छैन । जमिन छ, उत्पादन छैन । देश दिन प्रतिदिन खाद्यान्नमा परनिर्भर बन्दै गएको अवस्था छ । पशुपालन परम्परागत शैलीमा आधारित छ । जडीबुटीको पहिचान, प्रयोग र व्यावसायीकरण हुन सकेको छैन । उल्लिखित प्रकृतिक सम्पदा तथा खनिज पदार्थको पहिचान, उत्खनन र प्रयोग हुन सकेको छैन । यस सन्दर्भमा राज्यले शिक्षालाई कसरी वैज्ञानिक, खोजमूलक, व्यावहारिक, जीवनोपयोगी एवं उत्पादनमुखी बनाउन सकिन्छ भन्ने विषयमा ठोस भूमिका निर्वाह गर्नुपर्छ ।
शिक्षा र राजनीतिको अन्तरसम्बन्ध भए पनि यिनीहरू भिन्न क्षेत्र हुन् । शिक्षा क्षेत्रलाई राजनीतिक र प्रशासनिक दृष्टिकोणले मात्र हेरिनु हुँदैन । विद्यमान शिक्षा नीति, तहगत पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, शिक्षण सिकाइ तथा मूल्याङ्कन पद्धतिले अपेक्षित सिकाइ उपलब्धि हासिल हुन सकेन । राज्यको एकल प्रयास पर्याप्त भएन । तसर्थ राज्यले विज्ञ–विशेषज्ञको विज्ञता, क्षमता र योग्यतालाई शिक्षा क्षेत्रको सुधारका लागि उपयोग गर्नुपर्छ । शिक्षाजस्तो प्राज्ञिक क्षेत्रलाई उकास्न प्राज्ञिक विज्ञताको महìवलाई बुझ्नुपर्छ । देशका विज्ञ, विशेषज्ञ एवं बुद्धिजीवीले पनि राज्यसँग सहकार्य गर्नुपर्छ । आफ्नो विज्ञतालाई शिक्षाको सुधारमा लगाउनुपर्दछ । त्यसैले थिङ्कट्याङ्क र राज्यका बीचमा सहकार्यको संस्कृति विकास गरौँ । शिक्षा क्षेत्रलाई राजनीतिक चस्मा मात्र होइन, प्राज्ञिक चक्षुले हेर्ने र कमीकमजोरी हटाउने काम गरौँ ।
गुरुजन समाजका शिक्षित वर्ग हुन् । सक्षम जनशक्ति उत्पादनका माध्यम हुन् । सच्चरित्रका उदाहरण हुन् । शिक्षार्थीका मोडेल नायक हुन् । तहगत पाठ्यक्रम तथा पाठ्यपुस्तकमा तय गरिएका सिकाइ उपलब्धि हासिल गराउने स्रोत व्यक्ति हुन् । विद्यालयभित्र ज्ञानको स्रोत, सत्यको प्रतीक, आदर्शको खानी र बालबालिकाका मार्गदर्शक हुन् । असल शिक्षकले अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्याङ्कनकर्ता, समन्वयकर्ता, व्यावसायिक मित्र, स्रोत व्यक्ति र प्रेरणाको स्रोत हो । यसरी हेर्दा शिक्षाको सुधारमा गुरुजनको भूमिका महत्वपूर्ण हुन आउँछ ।
अहिले राज्यले बनाएका नीति, नियम, तथा कार्ययोजनालाई कार्यान्वयन गर्ने मियोका रूपमा रहेका गुरुजनप्रति सामाजिक आलोचना छ । गुरुजन राजनीतिक दलका सङ्घसङ्गठनमा आबद्ध भई व्यावसायिक अधिकार र सुविधा वृद्धिका लागि पार्टी कार्यालयमा धाउन सुहाउँदैन । गुरुजनबाट बेलाबखतमा स्थायी हुनका लागि शैक्षिक संस्था बन्द गर्ने, हडतालमा उत्रने, आमरण अनशन गर्नेजस्ता कार्य हुने गरेका छन् । उल्लिखित क्रियाकलाप प्राज्ञिक गुणविपरीत कार्य हुन् । अहिले शिक्षामा राजनीति र राजनीतिमा शिक्षा मिसिएकाले पनि शैक्षिक संस्थाको साख घट्दै गएको जानकारहरू बताउँछन् । यस सन्दर्भमा शिक्षाको सुधारका लागि मुख्य भूमिका निर्वाह गर्ने गुरुजन आफ्नो पेसाले खोजेका ज्ञान तथा सीपसहित इमानदार तथा जिम्मेवार हुन आवश्यक छ ।
शिक्षण पेसा प्राज्ञिक ज्ञान र सीपसँग जोडिएको हुन्छ । यस पेसामा संलग्न शिक्षणकर्मी पेसागत कार्यक्षमतामा निपूर्ण हुन आवश्यक हुन्छ । शिक्षण कार्यका लागि केवल पाठ्यपुस्तकीय विषयवस्तुको व्याख्या गरेर मात्र पुग्दैन, शिक्षण सिकाइलाई कलात्मक र रुचिकर बनाउन गुरुहरूमा आधुनिक शिक्षण सीप, बालमनोविज्ञानको ज्ञान, शिक्षण सामग्रीको प्रयोग र प्राज्ञिक विज्ञता अनिवार्य हुन्छ । गुरुजन आधुनिक शिक्षण प्रयोगमा आएका शिक्षण विधिको जानकारी र प्रयोगात्मक सीपको ज्ञानमा अपडेट हुन र आफ्नो पेसागत जवाफदेहीलाई कुशलतापूर्वक निर्वाह गर्न जिम्मेवार हुनुपर्छ । यसो हुन सकेमा शिक्षण सिकाइमा सुधार हुन सक्नेमा दुईमत छैन ।
बालबालिकाको शिक्षाको प्रारम्भ आफ्नो घरपरिवारबाट हुन्छ । त्यसैले घरलाई मानिसको पहिलो पाठशाला भनिएको हो । अभिभावक जति बढी चेतनशील र व्यावहारिक हुन्छन्, त्यति नै बालबालिकाको सिकाइ प्रभावकारी हुन सक्छ । परिवारका सदस्यको व्यवहार, चालचलन तथा व्यवहारले बालबालिकाको वानी, व्यवहार, अनुशासन, चिन्तनशैलीका साथै चरित्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अभिभावकको उचित रेखदेख, माया, पे्ररणा, निर्देशन तथा सहयोग पाउन सकेका बालबालिका असल नागरिक हुन सक्छन् । यसर्थ बालबालिकाको सिकाइ र आचरण निर्माणमा अभिभावकको सक्रिय भूमिका आवश्यक ठानिन्छ ।
शिक्षाशास्त्री ओटावेले नवजात शिशु जन्मँदा असामाजिक हुन्छ भन्दै उसलाई सामाजिक र मानवीय जीवनचर्यामा परिणत गर्ने काम घर–परिवार, समुदाय, विद्यालयलगायतका निकायको हो भन्ने आशय व्यक्त गरेका छन् । तसर्थ घरपरिवारले बालबालिकालाई जस्तो संस्कार प्रदान गर्न सक्छन्, उनीहरूमा सोहीअनुरूपको ज्ञान र आचरणको विकास हुन्छ । अभिभावकले आफ्ना छोराछोरीलाई आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई माया गर्न, सहयोगी भावनाको विकास गर्न, आफ्नो काम आफैँ गर्न, स्वावलम्बी बन्न र छिमेकी, आफन्तजनसँग सामाजिकीकरण हुन सिकाउनुपर्छ । आपूmभन्दा ठूलालाई आदर र सानालाई माया गर्न सानैदेखि सिकेका बालबालिका विद्यालयमा र समाजमा घुलमिल हुन सक्छन् । उनीहरूमा सकारात्मक भावनाको विकास हुन सक्दछ । तसर्थ बालबालिकाको पढाइ, लेखाइ, रहनसहन एवं आचरण निर्माणमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ ।
अन्त्यमा व्यक्ति, समाज र सिङ्गो मुलुकको सर्वाङ्गीण विकासको स्तम्भ शिक्षा भएकाले यसलाई गुणस्तरीय, अब्बल, सिर्जनशील बनाउने कार्यमा सबै जुटौँ । विलम्ब नगरौँ । शिक्षाको गुणस्तर माथि उकास्न राज्यको एकल प्रयास अपुग भएकाले बहुपक्षीय भूमिकाको खोजी गरौँ । राज्य, विज्ञ, शिक्षक, प्राध्यापक तथा अभिभावकले आ–आफ्नो ठाउँबाट कुरा होइन, काम गरौँ । देशका शिक्षालयलाई अब्बल बनाऔँ ।