• १३ असोज २०८१, आइतबार

डीपीआरमा लापरबाही हुँदा निर्माण अलपत्र

blog

खोटाङ समाचारदाता

खोटाङ, माघ २८ गते । खोटाङको रावाबेँसी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा लापरबाही गर्दा १० शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ। रावाबेँसी गाउँपालिका–२, खार्पामा निर्माणाधीन अस्पताल भवनको डीपीआर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेपछि निर्माणको काम अघि बढ्न नसकेको हो। 

प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार १० शय्याको अस्पताल निर्माण गर्न सरकारले रावाबेँसी गाउँपालिकालाई भवनको नक्सा पठाएको थियो। २०७७ मङ्सिर १५ गते स्वास्थ्य चौकी खार्पालाई १० शøयाको अस्पतालमा रूपान्तरण गर्ने गरी तत्कालीन सङ्घीय सांसद विशाल भट्टराई र तत्कालीन गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले भवनको शिलान्यास गर्नुभएको थियो। 

सात करोड ५७ लाख ५१ हजार ६०२ रुपियाँ ८७ पैसा (भ्याटसहित)मा ३७ महिनामा काम सक्ने गरी २०७८ असार २१ गते महादेव खिम्ती अन्जान रुजन जेभीले भवन निर्माणको सम्झौता गरेको छ। सम्झौता गरेको केही महिनापछि भवन निर्माण सुरु गरेर करिब २० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव श्रेष्ठले बताउनुभयो। 

भवनको भित्ता निकाल्ने, फाउन्डेसन तयार गर्ने, रड राख्ने र आवश्यक गिट्टी, बालुवा तयार पार्ने काम भइसकेको छ। ९० लाख रुपियाँ भुक्तानी पनि कम्पनीले लिइसकेको छ तर निर्माण कार्य गलत भएको भन्दै मन्त्रालयले डीपीआर परिवर्तन गर्न लगाएपछि गत जेठदेखि भवन निर्माणको काम स्थगित छ। नयाँ डीपीआर स्वीकृत भएर आउने बित्तिकै काम सुरु गर्ने कम्पनीका प्रतिनिधि श्रेष्ठको भनाइ छ।   

स्रोतका अनुसार अस्पतालको डीपीआरमा गाउँपालिकाले लापरबाही गरेको पाइएको छ। सुरुमा वडा नम्बर १ कुभिण्डेमा अस्पताल निर्माण गर्न डीपीआर तयार गरेको गाउँपालिकाले अन्तिममा वडा नम्बर २ खार्पामा लगेर भवन शिलान्यास गरेको पाइएको हो। प्लाटफर्म इन्जिनियरिङ कन्सलटेन्सीले करिब चार दिनमै डीपीआर तयार गरेको थियो जबकि उक्त अस्पतालको डीपीआर बनाउन कम्तीमा एक महिना लाग्ने जानकारहरू बताउँछन्। 

डीपीआरमा शव गृह र अस्पतालको फोहोर व्यवस्थापन गर्ने क्षेत्रका लागि ठाउँ नछुट्याइएको, एम्बुलेन्स घुमाइ पार्किङमा आउनका लागि पर्याप्त ठाउँ नछुट्याइएको, ओपीडी अस्पतालको अगाडि हुनुपर्नेमा माथिल्लो तलामा राखिएकाले परिवर्तन गर्न मन्त्रालयले गाउँपालिकालाई परिपत्र गरेपछि भवन निर्माणको काम अघि बढ्न नसकेको गाउँपालिकामा कार्यरत इन्जिनियर उमेश भट्टराईले बताउनुभयो। 

डीपीआर परिवर्तन गरी भवन निर्माणका लागि पहल गर्न केही दिनअघि गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेश राई, स्वयं इन्जिनियर भट्टराईलगायतको समूह काठमाडौँ गएको थियो तर अस्पताल निर्माण भइरहेको जग्गा सानो भएकाले ओपीडी माथिल्लै तलामा राखेर मन्त्रालयले मागेअनुसार डीपीआर परिवर्तन गरेर बुझाइएको इन्जिनियर भट्टराईको भनाइ छ। डीपीआर स्वीकृत भएर आउन केही समय लाग्ने उहाँले बताउनुभयो।

स्वास्थ्य चौकी खार्पालाई १० शय्याको अस्पतालमा रूपान्तरण गर्ने गरी भवन निर्माणको काम सुरु गरिए पनि डीपीआरमा कुन स्वास्थ्य चौकीलाई रूपान्तरण गर्ने भनेर उल्लेखसम्म नभएको पाइएको छ। 

सुरुमै डीपीआरमा त्रुटि नगरिएको भए अहिले भवन निर्माणले गति लिइरहने थियो तर डीपीआरमा त्रुटि हुँदा अब कहिलेबाट भवन निर्माण अघि बढ्ने हो भन्ने यकिन हुन सकेको छैन।