• ९ मंसिर २०८१, आइतबार

त्यार ल्याउन्या छैन

blog

केशवचन्द्र महरा

दिपायल, माघ २५ गते   ।      

नआएइ माघका मैना, मेरा आउन्या कोइन

बुढी इजु पराइ भाइबैना, त्यार ल्याउन्या छैन

विवाह गरेर गएकी छोरीचेलीले माघ महिना लाग्नुअघि ठाडीभाकामा यस्तै गीतिलयमा डेउडा गाउँछन्। यो गीत सुदूरपश्चिम र कर्णाली प्रदेशका चेली र माइतीसँग जोडिएको छ। 

गीतअनुसार माघको महिना कहिले पनि नआओस्, किनकि मेरो माइतीघरमा चेली त्यार (विवाहित छोरीलाई दिइने कोसेली) ल्याउने कोही छैन। बुवा हुनुहुन्न, इजु (आमा) बूढी हुनुहुन्छ। दाजुभाइ परदेशमा छन्, बहिनी विवाह गरेर अरूको घर गइसकेकी छन्।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा माघ महिनामा छोरीचेलीलाई कोसेली पु-याउने चलन छ। माघ महिनालाई यहाँ धार्मिक महिनाका रूपमा लिइन्छ। माघ महिनाको एक पटक विवाहित छोरीलाई चेली त्यार (तेरमाडो) दिनै पर्ने प्रचलन रहेको छ। जसलाई माघी त्यार, चेली त्यार अर्थात् तेरमाडो भनिन्छ। त्यार भन्नाले तिहार वा पर्व हो। 

घरको सदस्यको निधन भएको वर्षबाहेक अन्य वर्षमा चेली त्यार (तेरमाडो) पु-याउने चलन रहेको दिपायल सिलगढी नगरपालिका–५ का दलबहादुर भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, “यो हाम्रो परम्परादेखि चल्दै आएको प्रचलन हो। हामीले हाम्रा घरमा जन्म भएका फुपू, दिदीबहिनी र चेलीहरूलाई माघको महिना जसरी भए पनि त्यार (तेरमाडो) दिनैपर्ने हुन्छ। उनीहरू पनि माइतीको बाटो कुरेर बसेका हुन्छन्।”

माइतीले सकभर छोरीचेलीको घरमै गएर त्यार (कोसेली) दिने गरेको पाइन्छ। माइतीबाट जाने मान्छे कोही नभएको अवस्थामा माइतीघरमा बोलाएर कोसेलीसहित पु-याउने गरिन्छ। पुरानो चलनअनुसार छाप्रो (बाँस, निगालोले बुनिएको भाँडा) डोको भरेर त्यार (कोसेली) दिने गरिन्छ। 

कोसेलीमा तेलमा पकाएका स्थानीय परिकार माडा, बाबर, सेल, पुरी, ढुप्का आदि दिइन्छ। एउटै गाउँमा छोरीचेली भएका माइती सल्लाह गरेर एकै दिन त्यार (कोसेली) लगेर लस्करै जान्छन्। माइतीबाट प्राप्त भएको त्यार (कोसेली) चेलीले छरछिमेक गाउँभरी बाँड्ने गर्दछन्। माइती घरमा कोही नभएका चेली माघ महिनामा दुःखी हुँदै माथि उल्लेखित गीत गाउने र पीडा भुल्ने बताइन्छ। 

सुदूरपश्चिममा अहिले ‘चेली त्यार’को चहलपहल निकै बढेको छ। माघ महिनाभरी सुदूरपश्चिममा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमा प्रशस्तै भेटिने गरेका छन्। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा. टीएन जोशीले चेली त्यार डोटेली संस्कृतिको अभिन्न अङ्ग भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यसका बारेमा कुनै पौराणिक धर्म संस्कृतिमा उल्लेख नगरिए पनि यो संस्कृति भारतको कुमाउ गडुवालबाट आएका समुदायसँगै चल्तीमा आएको हो।”

उहाँका अनुसार यो छोरीचेलीसँगको सम्बन्ध प्रगाढ बनाउने एकदमै राम्रो संस्कृति हो। डोटेली संस्कृतिको अभिन्न अङ्ग भएका कारण यसलाई पुस्तान्तरण गर्दै लान आवश्यक रहेको डा. जोशीले बताउनुभयो। डोकोमा बोकेर ‘चेली त्यार’ पु-याउन जाने प्रचलन भए पनि पछिल्लो समय झोलामा बोकेर लग्ने गरिन्छ। योसँगै स्थानीय परिकारको सट्टामा फलफूल तथा बजारमा पाइने खानेकुरा लगेर जाने प्रचलन पनि बढेको छ। माघ महिनामा दिइने चेली त्यारले माइती र चेलीबीचको सम्बन्ध प्रगाढ बनाउने र सम्बन्ध सुधार हुने साहित्यकार भक्तबहादुर बलायर बताउनुहुन्छ। उहाँका अनुसार छोरीचेलीलाई त्यार दिने परापूर्वदेखिको प्रचलन कुमाउ गडुवाल, कर्णाली र सुदूरपश्चिममा अहिले पनि कायम छ। 

हिउँद सकिनै लाग्दा गर्मी बढ्दै जान्छ र गर्मी बढेसँगै रोगव्याध पनि बढ्दै जान्छ। उहाँले भन्नुभयो, “पहिला झाडापखाला, दादुराजस्ता महामारीले मानिसको ज्यानै जान्थ्यो। ज्यानमा कहिले के हुने हो भन्ने पीरले पोलिरहन्थ्यो। त्यस्तो अप्रिय घटना हुनुभन्दा पहिला छोरीचेलीलाई खुसी पार्ने, भेटघाट गर्ने, इष्टमित्रसँगको सम्बन्ध, मित्रता बढाउने, छोरीचेली र माइतीबीचको रिसराग मेटाउने गरेर यो संस्कृति प्रचलनमा आएको हो।”