• १२ साउन २०८१, शनिबार

टर्की भूकम्पमा पाँच हजारभन्दा बढीको मृत्यु

blog

अदना (टर्की), माघ २४ गते । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म पाँच हजारभन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले मर्नेहरूको सङ्ख्या पाँच हजार नाघेको जनाएको छ । 

भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन् । यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने आपत्कालीन सुरक्षाकर्मीले बताएका छन् ।     

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । 

करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको छ । अहिलेसम्म झण्डै दुई सय पराकम्प भएकाले जोखिम मोलेर उद्धारमा जुट्न विलम्ब भएको छ ।  एजेन्सी