म चितवन जिल्लाको निकै दुर्गम गाउँ बाझुलामा जन्मिएकी हुँ । पहिला, हाम्रो समुदायमा बालबालिकालाई विद्यालयमा पढ्न पठाउने चलन खासै रहेनछ ! नजिकै विद्यालय थिएन । पछि आधा घण्टा जति टाढाको दूरीमा विद्यालय खुल्यो । त्यहाँ विद्यार्थीहरू पनि भर्ना भए । अनि म पनि त्यही विद्यालयमा भर्ना भएँ तर हामी विद्यालय जान मनै गर्दैनथ्यौँ । गए पनि पढ्नमा ध्यानै दिँदैनथ्यौँ ।
हाम्रो विद्यालय जाने बाटोमा सानो खोला पथ्र्यो । बर्खाको बेलामा त्यसको छेउछाउमा लाग्ने जुकाले हामीलाई धेरै दुःख दिन्थ्यो ।
विद्यालय जान भनेर हिँडे पनि हामी त्यही खोलामा खेलेर र माछा खोजेर समय बिताउँथ्यौँ । कहिले हामी साथीहरू मिलेर गाउँलेको अम्बा, आँप चोथ्र्यौ । यो कुरा थाहा पाएर बाआमाले मलाई दुख्ने गरी कुट्नु हुन्थ्यो । एकैछिन रोएर ‘अबदेखि त्यसो गर्दिन” भने पनि फेरि त्यसै गरिहाल्थ्यौँ । जे जस्तो भए पनि त्यहाँको विद्यालयमा म कक्षा ५ सम्म पढेँ । पढ्नमा ध्यान नदिने हुँदाहुँदै पनि मै हरेक कक्षामा पहिला हुन्थेँ ! यसको अर्थ मेरा साथीहरू म जत्तिको पनि पढ्दा रहेनछन् !
दुर्भाग्यको कुरा ! म कक्षा ४ मा पढ्दै गर्दा बस दुर्घटनामा परी मेरो ममीको देहान्त भयो । त्यतिखेर म मामाघरमा थिएँ । अब हाम्रो घरव्यवहार बिग्रियो । मेरो पढाइ पनि रोकिने स्थिति आयो । यस क्रममा मलाई २०७४ सालमा घरकै हजुरबुवाले मेरो मामाकी छोरी सरितासहित भक्तपुर ल्याउनुभयो ।
गाउँमा हुर्केको मान्छे । पहिलो पटक सहर आउँदा यहाँको वातावरण देख्दा मलाई अर्कै संसारमा आए जस्तो लाग्यो । यहाँका सवारीसाधन, मान्छेको भीडभाड, अग्ला र ठूल्ठूला घर ! राम्रा राम्रा स्कुल !
मलाई यहाँ ल्याइनुको मुख्य उद्देश्य मेरो पढाइलाई गतिलो ढङ्गले अगाडि बढाउनु नै थियो तर यहाँ हाम्रो आफ्नो भन्ने कोही थिएनन् । यस्तो अवस्थामा भक्तपुर ताथलीका दयालु हृदयका ईश्वर श्रेष्ठले मेरा लागि बास र गाँस तथा पढ्नका लागि किताब कापीको व्यवस्था गरिदिने हुनुभयो । यसरी मलाई उहाँको जिम्मा लाएर हजुरबा गाउँ फर्कनुभयो ।
अहिलेसम्म म उहाँकै सहयोग र रेखदेखमा बसेर पढाइलाई निरन्तरता दिइरहेकी छु । मैले उहाँलाई ‘बाबा’ भनेर सम्बोधन गर्ने गरेकी छु । त्यस्तै उहाँकी धर्मपत्नी चण्डिका श्रेष्ठलाई ‘ममी’ भन्ने गरेकी छु । त्यसै घरकी चेली (ईश्वर बाबाकी बहिनी) प्रिस्किला श्रेष्ठले मेरा लागि आवश्यक पर्ने लुगा कपडा जुटाउने जिम्मा लिनुभएको छ ।
मैले उहाँलाई ‘दिदी’ भन्ने गरेकी छु । हजुरआमा प्रेमलक्ष्मी श्रेष्ठले पनि मलाई धेरै माया गर्नुहुन्छ । उहाँहरू सबै जनाले मलाई पढाइमा राम्रो गर्न प्रेरित गरिरहनु हुन्छ । उहाँहरूले दिनुभएको माया, साथ र सहयोगका लागि म उहाँहरू सबैप्रति दिलैदेखि आभारी र ऋणी छु र रहनेछु ।
५ कक्षा पढ्दा पढ्दै आएकी मलाई यहाँको विद्यालयमा कम्तीमा कक्षा ४ मा भर्ना लिइने आशा थियो । त्यसैका लागि म भीम आदर्श आधारभूत विद्यालयमा गएँ । त्यहाँ भर्ना लिनुअघि मेरो सामान्य परीक्षा लिइयो । त्यस क्रममा मलाई त ‘क, ख, ग, घ’ र ‘ए, बी, सी, डी’ नै पढ्न आएन ! उता गाउँको विद्यालयमा पहिलो र दोस्रो हुँदैै आएकी म !
यसरी म त्यस विद्यालयमा भर्ना त भएँ तर कक्षा २ मा ! त्यसपछि भने म मेहनत गरी पढ्न थालेँ । अतिरिक्त क्रियाकलापमा भाग लिएर पुरस्कृत पनि भएँ । मलाई त्यो स्कुल राम्रो र त्यहाँको पढाइ रमाइलो लाग्न थाल्यो । त्यहाँ मैले कक्षा ७ सम्म पढेँ । त्यहाँ त्यति नै मात्र पढाइ हुन्थ्योे । त्यसपछि कक्षा ८ को पढाइका लागि म अहिले पढ्दै गरेको समाज सुधार मा. वि. मा भर्ना हुन आएँ । यस विद्यालयमा पनि मैले सबै आदरणीय शिक्षकहरूबाट माया र सद्भाव पाएकी छु । पढाइमा सकेसम्म मेहनत गर्दै छु । भविष्यमा म यही नै बन्छु भन्ने त मेरो खासै उद्देश्य रहेको छैन तर मेहनतको फल अवश्य पनि मीठो होला भन्ने आशा गरेकी छु ।