काठमाडौँ, माघ २२ गते । क्यान्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक लडाउन खोज्ने आफ्नै शरीरसँग कुस्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा. डा. उर्मिला प्याकुरेलले पाठेघरको क्यान्सरसँग लड्दै गर्दा सँगालेको यो अनुभव हो ।
क्यान्सरले थलिए पनि शरीरलाई उहाँले कहिल्यै ओछ्यानमा थलाएर राख्नुभएन । क्यान्सरसँगै चलायमान जीवन बाँचेरै उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । त्यसैले क्यान्सर दिवसका दिन शनिबार उहाँ आफैँले फेसबुकमा स्ट्याटस लेख्दै “भोलि आइतबार ६४औँ पटक किमोथेरापी दिन जान लागेको” जानकारी दिनुभएको छ ।
क्यान्सर पछार्न ६३औँ पटक किमोथेरापी र यभास्टिन थेरापी लिनु, २० पटक रेडियो थेरापी लिनु र चार पटक शल्यक्रिया गर्नु मात्र उहाँको हिम्मत होइन । त्योभन्दा लोभलाग्दो र प्रेरणादायी कथा त क्यान्सरलाई पटक–पटक पछार्दै उहाँले पाएको सफलताको छ । क्यान्सर लागेकै बेला उहाँले विद्यावारिधि सक्नुभयो, जर्मनीको एक प्रतिष्ठित विश्वविद्यालयमा फेलोसिपमा काम गर्नुभयो र नेपालमै गणित विषयको कान्छो उमेरमा प्राध्यापक बन्नुभयो । उहाँ ४१ वर्षमै त्रिभुवन विश्वविद्यालय गणित विषयको प्राध्यापक हुनुभएको हो ।
क्यान्सर लागेका बिरामी र बिरामीका आफन्तजनलाई हौसला दिँदै उहाँले यो जानकारी फेसबुकमा लेख्नुभएको हो । त्यसअघि गोरखापत्रले उहाँको निवासमा गएर उहाँसँग बेग्लै कुराकानी गरेको थियो । सिन्धुपाल्चोकका देवीनाथ प्याकुरेल र मनमाया प्याकुरेलका कान्छी छोरी उर्मिलाले नै बताएअनुसार छ वर्षअघि पाठेघरको क्यान्सर पत्ता लाग्दा उहाँ जर्मनीमा छात्रवृत्तिमा पोस्ट डक्टरेटमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँ मात्र होइन, बाबुआमाका १२ सन्तानमध्ये एक दाजु र दुई दिदीको यसअघि नै क्यान्सरकै कारण मृत्यु भइसकेको छ ।
२०६८ सालमा त्रिभुवन विश्वविद्यालयमा कमैले मात्र निकाल्न सक्ने गणित विषयको उपप्राध्यापकमा नाम निकाल्नुभएको थियो । त्यसको छ वर्षपछि उहाँले गणितमै विद्यावारिधि गर्नुभयो । सन् २०१८ मा जर्मनीमै उहाँको दोस्रो ‘स्टेज’को क्यान्सरको उपचार सुरु भयो ।
छाँगाबाट खसेजस्तै भयो
लाऊँ–लाऊँ, खाऊँ–खाऊँको उमेरमा क्यान्सर देखिएपछिको उहाँको जीवनले अर्कै मोड लियो । उहाँ भन्नुहुन्छ, “देशका लागि केही गरौँला भन्ने त्यो जोश र जाँगर छाँगाबाट खसेको र हराएजस्तै भयो ।”
क्यान्सरका कारण पहिल्यै सन्तान गुमाइसकेका बुवाआमामाथि अर्को बज्रपात परेको थियो । तर उर्मिलाले हिम्मत हार्नुभएन । उहाँ सम्झनुहुन्छ, “पहिलो किमो चढाएको पीडा कसरी भनुँ खै, १५ दिनसम्म हातखुट्टा लल्याकलुलुक हुन्छन् । तर पनि बाँच्ने आशा नमारी डाक्टरसामु मुसुक्क हाँस्थेँ ।”
उहाँ भन्नुहुन्छ, “छेउमै उपचार गराइरहेको क्यान्सरको अर्को बिरामीको आँखैअघि मृत्यु हुँदा मैले मेरो पनि त्यही दिन आएको सम्झेँ ।” तर उहाँभित्रको इच्छाशक्ति यति बलियो छ कि क्यान्सरविरुद्ध लगाइने हरेक किमोको पीडालाई लड्खडाएको खुट्टामा जुरुक्क उभिएर भुलाउनुहुन्छ।
महँगो खर्च आफैँ जुटाउनुभयो
असाध्यै महँगो उपचार र पारिवारिक आर्थिक अवस्था उहाँको स्वास्थ्यका अरू बाधक थिए। उहाँले उपचार खर्चको जोहो पनि आफैँले गर्नुभएको छ। जर्मनीमा दुई वर्ष उपचार गराउँदा छात्रवृत्ति दिएको संस्था अलेकजेन्डर वोन हम्बोल्ट फाउन्डेसनका तर्फबाट भएको बीमा रकमले उहाँलाई अहिलेसम्मको जीवन यात्रामा ठूलो सहयोग गरेको छ। उहाँ त्यसलाई कहिल्यै बिर्सन सक्नुहुन्न।
जर्मनीमा उपचारमा रहँदा किमोले दिने पीडा भुलाउन उहाँका हातका औँलाले ल्यापटपलाई साथी बनायो। आफ्नो अध्ययनको लेखनीसँगै विभिन्न बौद्धिक लेखनीमा समय बिताउनुभयो। उहाँ भन्नुहुन्छ, “हात सुन्निएर लेख्नै हुँदैनथ्यो, दुखेर निद्रा पर्दैनथ्यो। त्यसैले पीडा र मन भुलाउन बल गरेर औँला कुदाउँथेँ।”
योग अनि ध्यान त उहाँले धेरै गर्नुभयो। अनि बुझ्नुभयो। त्यस्तो पीडालाई शक्तिमा बदल्न आँखा चिम्लेर मात्र होइन, आँखा खोलेरै पनि ध्यान गर्न सकिन्छ। हामी जे काम गर्छौं, त्यसैलाई ध्यान बनाउनुपर्छ। दुई वर्षपछि नेपाल फर्केर काठमाडौँमै उपचार सुरु भयो।
बिरामी अवस्थामै उहाँ नेपाल फर्कनुभयो। उताको उपचारमा त बीमा रकमले साथ दिए पनि अब आफ्नै खर्चको यात्राले कठिन बनायो। उहाँले अझ मेहनत गर्न थाल्नुभयो। कोभिडका कारण विश्वविद्यालयको अध्यापन अनलाइन भयो। यो उहाँका लागि थोरै सहज बन्यो।
विभिन्न सङ्घ संस्थानको अध्ययन पत्र तयार गर्ने, योजना पत्र तयार गर्नेजस्ता काम साथै गर्न थाल्नुभयो। घरपरिवारको आफ्नै समस्या हुन्छ। विवाह नभएकाले श्रीमान्को घरपरिवारको सहयोग हुने कुरै भएन। अहिलेसम्म उहाँले आफ्नै जोहोको दुई करोड रुपियाँभन्दा बढी क्यान्सरकै उपचारका लागि खर्चिइसक्नुभयो।
क्यान्सर पछार्न ६३औँ पटक किमोथेरापी र यभास्टिन थेरापी लिनु, २० पटक रेडियो थेरापी लिनु र चार पटक शल्यक्रिया गर्नु मात्र उहाँको हिम्मत होइन । त्योभन्दा लोभलाग्दो र प्रेरणादायी कथा त क्यान्सरलाई पटक–पटक पछार्दै उहाँले पाएको सफलताको छ ।
“साँइली दिदीको छोरा नवराजको माया उहाँको सहारा बन्यो। स्कुल पढ्दै गरेको केटाले भात पकाइदिने, चापेको बेला अस्पताल लगिदिने गरेकाले सहज भएको छ,” उहाँ बताउनुहुन्छ।
मुस्कुराउन छाड्दिनँ
पछिल्लो समय कामको दायरा साँघुरिँदै जाँदा कसरी भविष्यको खर्च जुटाउने भन्ने उहाँलाई चिन्ता छ। उहाँ भन्नुहुन्छ, “सकेसम्म हिम्मत हार्दिनँ। क्यान्सर जित्न लडिरहन्छु। पाठेघरको क्यान्सर एकापट्टि हराउँदा अर्कोपट्टि फैलिँदोरहेछ।” अहिले फोक्सोसम्म पनि पुग्यो भनेर चिकित्सकले भन्दा उहाँ “मुसुक्क मुस्कुराउँदै ल फेरि अर्को उपचार गर्नुपर्ने देखियो,” भन्नुहुन्छ । उहाँको उपचारमा प्रा. डा. राजेन्द्र बराललगायतको टोली संलग्न छ।
उहाँको मुहारबाट कहिल्यै नहराउने हाँसो र आफैँले आफैँलाई सम्झाउने प्रेरणा अरू क्यान्सर रोगीले पनि लिनुपर्छ। हुन पनि उहाँभित्रको तीक्ष्ण ज्ञान भण्डारले सधैँ केही गरिरहूँ भनेर झक्झकाइरहन्छ।
स्कुलेदेखि विश्वविद्यालय शिक्षासम्मको यात्रामा सधैँ अब्बल उहाँले त्रिभुवन विश्वविद्यालयमा गणित विषयमा विद्यावारिधि गर्नु चानचुने कुरा होइन। विपत्का समयमा ट्राफिक व्यवस्थापन गरेर आममानिसको उद्धार गर्ने भन्ने उहाँको गणितीय अध्ययन नेपाल मात्र होइन, विश्वकै ट्राफिक व्यवस्थापनका लागि उदाहरणीय छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागले घरमै बसेर काम गर्न बेलाबखत सहुलियत दिएको छ। दैनिक कार्यसम्पादनबाहेक अहिले उहाँ विद्यावारिधि गरिरहेका छ जना विद्यार्थी र स्नातकोत्तरका १२ जना विद्यार्थीको निर्देशक भएर काम गरिरहनुभएको छ। उहाँलाई गणित विभागका अध्यक्ष प्रा. डा. टङ्कनाथ धमला र अन्यले सहयोग गर्नुभएको छ। एक पटक किमोथेरापी गर्दा झन्डै दुई लाख रुपियाँ खर्च लाग्छ।
नयाँ आएको एमिनो थेरापी एक पटककै पाँच लाखभन्दा बढी पर्छ। त्यो उहाँ र उहाँजस्ता साधारण वर्गको पहुँचमै छैन।
उपचार निःशुल्क हुनुपर्छ
यस्तो सुन्दा क्यान्सर लागेका कतिपय त सुन्नेबित्तिकै हरेस खाने अवस्था आउँछ। यस्तो अवस्थामा “मरिहाल्छ भन्ने धारणा राखेर बिरामीलाई थप पीडा नदिन” उहाँ आग्रह गर्नुहुन्छ। भुटान, श्रीलङ्कालगायतका देशमा जस्तै क्यान्सर उपचार सहज गराउन सरकारले निःशुल्क उपचार दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ।
क्यान्सरले भन्दा पनि महँगो उपचार पद्धतिकै कारण धेरैले ज्यान गुमाउनुपरेको उर्मिलाको अनुभव छ। तर किमो लगाएपछि खानपान र अरू स्वास्थ्य मापदण्डमा चिकित्सकले भनेजस्तै गर्न सके जीवन लम्ब्याउन सकिन्छ। क्यान्सरपीडितले मात्र होइन, जोकोहीले पनि आफूले पाएको जीवनको मूल्य बुझेर त्यसलाई खेर नफाल्न उर्मिला आग्रह गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “मानिसहरू सग्लो जीवन क्षणिक आवेशमा गुमाउँछन्, त्यसरी फालिएका स्वस्थ जीवन मजस्ता बाँच्ने रहर भएकाले पाउन सके कस्तो हुन्थ्यो। त्यो हामीलाई मात्र थाहा छ।”