बोमलाल गिरी
नवलपुर, भदौ २० गते । नवलपुरमा जापनीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ । १४ जना सङ्क्रमित भएका छन् । संक्रमितमध्ये दुई जना अझै पनि अस्पतालमै उपचाररत छन् भने बाँकी निको भएर घर फर्केका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार मृत्यु हुनेमा हुप्सेकोट–१ की १३ वर्षीया बालिका, मध्यविन्दु–१ का ५२ वर्षीय पुरुष र बौदिकाली–२ का ४५ वर्षीया महिला रहेका छन् ।
सबैभन्दा धेरै जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकामा ६ जना, मध्यविन्दु नगरपालिकामा ४, हुप्सेकोट, देवचुली, बौदिकाली र गैँडाकोटमा एक एक जना सङ्क्रमित रहेका तिवारीले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये दुई जनाको अझै पनि प्रादेशीक अस्पताल डण्डामा उपचार भइरहेको उहाँको भनाइ छ ।
जापनिज इन्सेफलाइटिस सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । अघिल्लो आर्थिक वर्षमा जम्मा तीन जनामा सङ्क्रमण भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाले ज्यान गुमाएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार विषेशगरी झरि, वर्षातसँगै धान खेत, बागबानीमा काम गर्ने तथा ताल, किनारमा माछा मार्ने मानिसहरूमा लामखुट्टेको टोकाइबाट जापनिज इन्सेफलाईटसको सङ्क्रमण फैलिने गरेको छ ।
यसैबिच जापनिज इन्सेफलाईटसको सङ्क्रमण बढ्न थालेपछि कावासोती नगरपालिकाले रोकथामका उपाय अपनाउन सबैसित अपिल गरेको छ । प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले सूचना निकालेर लामखुट्टेको टोकाइबाट जोगिन, हाँस, कुखुरा, सुंगुर, बंगुर जस्ता पशुपंक्षी र जनावरलाई घरदेखि टाढा सुरक्षित तरिकाले पाल्न, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाउन र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
कार्यालयले पनि विभिन्न पालिकाहरमा जनप्रतिनिधि र सरोकारवालाहरुसँग मिलेर सरसफाइ र सचेतनामूलक कार्यक्र गरिरहेको जनाएको छ ।