गुटुमुटु पारेर नानीहरू
हिँडिरहेका छन् आमाहरू सुस्तरी सुस्तरी
शीतलहरले कावा खेलिरहेको छ बस्तीमा
एक मुठी लाज गुटुमुटु पारेर मनभरि
गीताहरू भौतारिरहेकी छिन् मोबाइलको रिङटोनहरूमा
पालाम र रोदीले बिर्सिन थालेका छन् आफ्नै गुन्जनहरू
शिशिरले गाँज्दै गइरहेको छ यो बौलाहा सहर
अचेल
ढिलो घाम लाग्न थालेको छ मेरो कौसीमा ।
आफ्नै पत्करहरू च्यापेर
नृत्यमग्न आयामका यान्त्रिक अवयवहरू खोस्रेर
गुडुँल्किन आँटेको भुइँकुहिरे बिहानको
त्यो तमतमाइलो औडाहा वरिपरि
सङ्कोचको पछ्यौरी ओढेर पर्खिबसेकी छे
उर्वशीहरू
पग्रिरहेको बैसाखी टकटकाउँदै
आदिम लयले घिस्रिरहेको भुइँमान्छेहरू झैँ
अनि, यस घडी खै कसरी भनुँ ?
यस पटक पनि तिम्रो
एक छिमल सुवास
एक केस्रा मुस्कान
एक धर्को यौवन
एक सर्को उन्माद
०००
र, एक अँगालो आकाशकै लागि
म मेरा सारा सुकुमारी सपना,
यायावर कल्पना,
र,
उन्मुक्त आयाम
भन, कसरी निमोठेर फ्याँकी दिउँ ?
०००
म त केवल
सुरुप्प सुरुप्प पिउन चाहन्छु
जूनको अधरमा टाँसिएको तुषारो
तर,
०००
अचेल,
ढिलो घाम लाग्न थालेको छ मेरो कौसीमा ।