• १३ साउन २०८१, आइतबार

नीतिगत सुधार गर्न निजी क्षेत्रको सुझाव आवश्यक

blog

काठमाडौँ, माघ २१ गते  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नीतिगत सुधारका विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझावको अपेक्षा गरेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा शुक्रबार पर्यटनमन्त्री किराँतीले नीतिगत सुधार गर्न निजी क्षेत्रको सुझाव आवश्यक रहेको बताउनुभएको हो । युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल सुरु गरिसकेको मन्त्री किराँतीले जानकारी दिनुभयो । 

सो अवसरमा परिसङ्घले हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीलाई आग्रह गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा परिसङ्घले सुझाव दिएको छ । 

परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराउनुभयो । नेपालको हवाई भाडा अत्यन्त महँगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटक आउन नसकेको उहाँले बताउनुभयो । हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, युरोपियन युनियनले नेपाललाई राखेको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहल गर्न सङ्घले आग्रह गरेको छ । 

परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको भन्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो । 

यस्तै परिसङ्घको पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योगसरह पाउने सुविधा दिन आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न, नेपाललाई फिल्मिङ गन्तव्यका रूपमा विकास एवं प्रवर्द्धन गर्न, नेपाल विवाहका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने भएकाले विवाहका लागि गरगहना ल्याउन पाउने र लैजान पाउने व्यवस्थामा सहजीकरण गरिदिन पनि मन्त्रीको ध्यानाकर्षण गराएको छ ।