काठमाडौँ, माघ ९ गते । स्थानीय तहका उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध गर्ने प्रणाली अहिलेसम्म निर्माण हुन सकेको छैन । यस्तो प्रणालीको अभावमा स्थानीय तहमा भएका भौतिक र मानवीय विकासका उपलब्धि सङ्घीय सरकारको तथ्याङ्कमा एकीकृत रूपमा अभिलेखीकरण हुन सकेको छैन ।
स्थानीय तहमा भएका खानेपानी, सडक, सामुदायिक विद्यालयका भवन, ढल निर्माणलगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास र त्यसबाट रोजगारको सिर्जनालगायतका उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्धता गरिएको छैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले स्थानीय तहमा भएका सबै उपलब्धि सङ्घीय सरकारको प्रणालीमा ल्याउन नसकेको बताउनुभयो । सो मन्त्रालय स्थानीय तहको सम्पर्क मन्त्रालय भए पनि स्थानीय तहमा भएका सबै उपलब्धि मन्त्रालयमा अभिलेखीकरण हुने प्रणाली बनिनसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहमा भएका कतिपय गतिविधि र उपलब्धि स्थानीय तहको वस्तुस्थिति विवरणमार्फत आउने गरेको छ । त्यो व्यवस्थित छैन । सबै निकायले तथ्याङ्क सहजै नदिने भएकाले समस्या भएको हो ।” उहाँका अनुसार स्थानीय तहको उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध गर्न नसक्दा सङ्घीय र प्रदेश सरकारले स्थानीय तहमा पठाएको स्रोतसाधन र जनशक्तिको उपलब्धि के–के भए भन्ने अभिलेखीकरण हुँदैन । सरकारले एकमुष्ट मानवीय र भौतिक विकासका पूर्वाधारको तथ्याङ्क निकाल्न खोज्दा सो तथ्याङ्क आउन नसक्ने मन्त्रालयले जनाएको छ ।
अब स्थानीय तहलाई चौमासिक रूपमा स्थानीय तहमा भएका उपलब्धि पठाउनु मात्र भनेर सम्भव नहुने र स्थानीय तहमा जे–जे काम भएका छन्, तिनका दैनिक उपलब्धि सङ्घीय सरकारलाई आउने गरी प्रणाली बनाउनुको विकल्प नभएको प्रवक्ता तामाङले बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको एकीकृत वस्तुस्थिति विवरणको कार्यविधि निर्माण गरी स्थानीय तहमा भएका सबै प्रकारका उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्धता गर्ने कार्यविधि निर्माण गरे पनि सोको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले अहिलेसम्म स्थानीय तहमा भएका विकास निर्माण, सुशासन प्रवद्र्धनलगायतका यकिन तथ्याङ्क राष्ट्रिय प्रणालीसँग आबद्धता हुन नसक्दा स्थानीय तहको उपलब्धि सरकारको मापनभन्दा बाहिर रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहका एकीकृत उपलब्धिले सरकारलाई नीति, योजना, कार्यक्रम र बजेट निर्माणमा सहयोग पुग्ने भए पनि सो प्रणाली निर्माण हुन नसकेको बताउनुभयो ।
उहाँले स्थानीय तहमा भएका वस्तुस्थिति विवरणलाई विभिन्न सरकारी प्रणालीसँग अन्तरआबद्धता हुने, स्थानीय तहको तथ्याङ्क व्यवस्थापनमा एकरूपता र स्तरीयता ल्याउने, स्थानीय विकासको व्यवस्थापनका लागि आवश्यक आधार रेखा एवं सूचना उपलब्ध गराउने, सरकारी निकायबीच अन्तरआबद्धता गराई एकीकृत रूपमा सूचना एवं तथ्याङ्क उपलब्ध गराउन सकिने भए पनि सोअनुसारको काम नभएको बताउनुभयो ।
वडा, स्थानीय तह, जिल्ला, प्रदेश र देशभरको तथ्याङ्क प्रतिवेदन स्वचालित रूपमा आधिकारिक प्रयोगकर्ताले प्राप्त गर्न सक्ने गरी व्यवस्था हुनुपर्ने सङ्घ तथा महासङ्घले माग गरेका छन् ।