• १२ असोज २०८१, शनिबार

नामको विषयमा परामर्श र छलफल गर्ने

प्रदेश संरचनाप्रतिको निराशालाई बदल्ने काम गर्छौ : मुख्यमन्त्री कार्की

blog

झापाको दमकमा आयोजित सोनाम ल्होछारको कार्यक्रममा उपस्थित प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, माघ ८ गते। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिटोभन्दा छिटो प्रदेशको नामकरण गर्नका लागि आवश्यक परामर्श र छलफल गर्ने बताउनुभएको छ। उहाँले सकेसम्म सहमतिको आधारमा र त्यो सम्भव नभए बहुमतीय आधारमा भए पनि प्रदेशको नामकरण टुङ्गो लगाउने बताउनु भएको छ।

आइतबार दमकमा आयोजित सोनाम ल्होछारको सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्कीले प्रदेशको नामकरण र जनताले अनुभूत गर्ने गरी प्रदेश सरकारले काम अघि बढाउने उल्लेख गर्नुभयो। उहाँले प्रदेश संरचनाको विरोध गर्नुको औचित्य नरहेको बताउनुभयो। 

प्रदेश सरकारको विषयमा भएका आलोचना र जनतामा भएको नैराश्यतालाई चिर्दै अघि बढ्ने मुख्यमन्त्री कार्कीले जनाउनुभयो। ‘जनताको निराशा र आलोचनाको विषयमा म पनि जानकार रहेको छु’, उहाँले भन्नुभयो, ‘आलोचना र नैराश्ययतालाई गम्भीर रूपमा लिएर अघि बढ्नेछु। जनतामा रहेको निराशालाई आशामा बदल्ने काम गर्छौ।’ 

कार्कीले प्रदेश सरकारलाई मितव्ययी बनाउने पनि जनाउनु भएको छ। प्रदेश सरकारलाई मितव्ययी बनाउनका लागि नै मन्त्रिपरिषद्लाई सानो बनाउने निर्णय लिएको उहाँको भनाइ छ । जनअपेक्षाकृत रूपमा काम गर्ने आफ्नो अठोट र प्रतिबद्धता रहेको कार्कीले बताउनुभयो। 

बहुसांस्कृतिक संग्राहालय निर्माण गर्ने

मुख्यमन्त्री कार्कीले प्रदेश १ विभिन्न जातजाति र भाषाभाषिको सांस्कृतिक एवं पहिचानयुक्त भएको बताउँदै यसको संरक्षण र संवर्द्धनमा प्रदेश सरकारको पर्याप्त ध्यान जाने बताउनुभएको छ। 

यहाँ रहेका जातजातिको मौलिकता र पहिचानको संरक्षणका लागि प्रदेशस्तरमा बहुसांस्कृतिक संग्राहालय निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो। पछिल्लो समयमा चाडपर्वहरू भड्किलो र खर्चिलो बन्दै गएको उल्लेख गर्दै यस प्रकारको गतिविधि भने रोक्नु पर्नेमा उहाँको जोड छ।