• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा योग भवन बनाउन पहल गरिने

blog

योग दिवसमा फुङ्लिङमा योग गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १ गते । ताप्लेजुङमा योग गर्ने भवन बनाउन पहल गरिने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले योग गर्नका लागि ‘योग भवन’ बनाउन पहल गर्ने बताउनुभएको हो । 

आइतबार ताप्लेजुङसहित देशभर आठौँ योग दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रममा नगरप्रमुख मादेनले जिल्लामा योग गर्नका लागि भवन आवश्यक भएकाले आफूले पहल गर्ने बताउनुभयो । 

आफ्नो स्वास्थ्यलाई ठीक वा तन्दुरुस्त राख्नका लागि योगाको महत्त्वपूर्ण भूमिका हुने बताउँदै प्रमुख मादेनले जिल्लामा योग गर्ने भवन अपरिहार्य जस्तै रहेको बताउनुभयो । उहाँले भवन निर्माण गर्न सकेमा योगलाई मात्र नभई अन्य प्रयोजनमा पनि प्रयोग गर्न सकिने धारण राख्नुभयो । 

यस्तै, कार्यक्रममा सहभागी हुनुभएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले पनि योग शिक्षाले मानिसको जीवनयापन सहज हुने बताउनुभयो । प्रजिअ पोखरेलले स्वास्थ्य नै मानिसको सम्पत्ति भएकाले योग गर्नु सबैका लागि अपरिहार्य भएको बताउनुभयो । 

यता पतञ्जलि योग समिति प्रदेश १ की सदस्य शान्ति मादेनले जिल्लामा योग गर्न इच्छुकलाई निःशुल्क सिकाउने गरिएको बताउनुभयो । जिल्लामा पछिल्लो समय योग गर्नेको सङ्ख्या विगतभन्दा बढ्दो अवस्था रहेको पनि मादेनले जानकारी दिनुभयो । आफ्नो स्वास्थ्यलाई माया गर्नुपर्छ भन्ने बुझाइसँगै हाल योग गर्नेको सङ्ख्या बढ्दै गएको पतञ्जलि योग समितिका जिल्ला अध्यक्ष सुस्मा शाक्यले बताउनुभयो । 

पछिल्लो समय अप्राकृतिक खानपान, व्यस्त जीवनशैली, असन्तुलित दैनिक क्रियाकलाप आदि कारणबाट मानिसमा दिन प्रतिदिन शारीरिक समस्या र मानसिक तनाव पर्न थालेका कार्यक्रममा सहभागीले औँल्याएका थिए । स्वस्थ शरीर र सुन्दर मनका लागि योग महत्त्वपूर्ण भएकाले योगा आवश्यक भएकोमा जोड दिइएको छ । 

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय र पतञ्जलि योग समिति ताप्लेजुङले संयुक्त रूपमा आयोजना गरेका हुन् । कार्यक्रममा सहभागीलाई योग प्रशिक्षकहरूले योग गर्न सिकाउनुभएको थियो । योग प्रशिक्षकलाई नगरप्रमुख मादेन र प्रजिअ पोखरेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।