• १२ असोज २०८१, शनिबार

बसपार्क सञ्चालनको तेस्रो पहल

blog

राधा लुइटेल

फिदिम, माघ १ गते । पाँचथरको फिदिम नगरपालिका–२ मा निर्मित बसपार्क सञ्चालन गर्न तेस्रो पटक गृहकार्य भएको छ । स्थानीयले उपलब्ध गराएको जग्गामा नयाँ सहर आयोजनाले निर्माण गरेको बसपार्क यसअघि २०७१ र २०७५ सालमा दुई पटक उद्घाटन गरे पनि सञ्चालन भएको थिएन । फिदिम–२, पल्लोटारमा बसपार्क सञ्चालनका लागि स्थानीयले २०५२ सालमा जग्गा उपलब्ध गराएका थिए ।

स्थानीयले उपलब्ध गराएको १० र ऐलानीसमेत गरी झन्डै २० रोपनी क्षेत्रफलमा फैलिएको बसपार्क यातायात व्यवसायी र व्यापारीको असहयोगका कारण सञ्चालन हुन सकेको थिएन ।

बसपार्क सञ्चालनमा ल्याउन नसकेको भन्दै स्थानीयले आलोचना गर्न थालेपछि स्थानीय सरकारले कार्यान्वयनमा ल्याउने अभ्यास सुरु गरेको हो । यसअघि बसपार्क कार्यान्वयनमा ल्याउन फिदिम–१ का वडाध्यक्ष गजाधर भट्टराईको संयोजकत्वमा कार्यदल बनाइएको थियो । 

यसैबीच पुस २९ गते नगरपालिकामा यातायात व्यवसायी, उद्योगी, व्यापारी, जनप्रतिनिधि र सरोकारवालाको भेलाले माघ २ गतेदेखि पल्लोटारको बसपार्क पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सहमति जुटाएको छ ।

नयाँ सहर आयोजनाले एक करोड ८७ लाख रुपियाँ खर्चेर बसपार्कमा यात्रु प्रतिक्षालय काउन्टर र सुरक्षा युनिटका लागि आवश्यक पूर्वाधार निर्माण भएका छन् । यो बसपार्क आयोजनाले २०७० सालमै निर्माण सकेको थियो ।

यो बसपार्क २०७१ साल वैशाख १ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र २०७५ साल माघ १ गते तत्कालीन नगरप्रमुख ओनाहाङ नेम्वाङ र प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

बसपार्क सञ्चालनमा नआउँदा जथाभाबी पार्किङले बजार क्षेत्रमा भीडभाड बढ्नुका साथै दुर्घटनाको जोखिम बढेपछि कार्यान्वयनको पहल थालिएको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले बताउनुहुन्छ । यस पटक सबैखालका सवारीसाधन बसपार्कमा मात्रै पार्किङ गर्ने, तोकिएको ठाउँबाट यात्रु ओराल्ने र उकाल्नेसँगै नियमविपरीत जथाभाबी पार्किङ गरेका साधनलाई जरिवाना गर्ने गराउने निर्णयमा व्यवसायी सहमत भएकाले कार्यान्वयनमा कुनै समस्या नहुने काफ्लेको भनाइ छ ।