• ८ असार २०८१, शनिबार

कामपाको ‘पूर्वाधार एम्बुलेन्स’ले पाएन काम

blog

काठमाडौं महानगरपालिका

काठमाडौं, पुस ३० गते । काठमाडौं महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ । 

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरूप समाधान हुने गरेको थियो । अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ । त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउँछ । नागरिकले कामपाको टोल फ्री नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन् । 

सुरुमा कामपाले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो । तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो । अहिले दुईमध्ये एक बिग्रिएको छ । भएको एउटाले पनि काम पाउन सकेको छैन । “चार पाँच दिनमा एउटा काम गर्न गुनासो आउँछ”, विभागका प्रमुख थापाले भन्नुभयो ।  

विशेष गरी कामपाको क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोको तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो । बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र कामपाले आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले  पूर्वाधार एम्बुलेन्सले काम नपाएको प्रमुख थापाको भनाइ छ ।

नगन्यरुपमा आएको गुनासो महानगरका इन्जिनियर र कामदारसहित तीन जनाको टोली टोल–टोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन् । अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको जनाइएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र यस्ता काम गर्न थालेको छ ।

त्यसैगरी सडक सफा राख्न कामपाको यान्त्रिक कुचो (ब्रुमर) नियमित सञ्चालनमा छ । हाल कामपामा छ यान्त्रिक कुचो सञ्चालनमा छन् । फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाँडलको व्यवस्थापनजस्ता काम अहिले नियमितरुपमा भइरहेका छन् ।